काठमाडौं- नेकपा एमालेको जारी स्थायी कमिटीमा माधव नेपालपक्षका केही नेता प्रवेश गरेका छन्। शुक्रबार तुलसीलाल स्मृति प्रतिष्ठानमा बैठक चलिरहँदा नेपालपक्षका नेताहरु भने बैठक स्थगित गर्न आग्रह गर्दै प्रवेश गरेका थिए।
बैठक हलमा प्रवेश गर्दै नेपालपक्षका नेता भीम रावलले आफूलाई बोल्न दिन आग्रह गरेका थिए। तर, ओलीले भने सुरुमा बैठक पुस्तिकामा हस्ताक्षर गर्न भनेका थिए। ‘सबैभन्दा पहिले त उहाँले बैठक पुस्तिकामा हस्ताक्षर गर्नुस् तबमात्र बोल्ने अनुमति हुन्छ भन्नुभयो,’ नेपालपक्षका नेता भीम रावलले भने, ‘हामीले भन्यौं- हामीलाई कार्यदलको तर्फबाट बोल्न दिनुस्। यदि त्यो तर्फबाट बोल्न दिनुहुन्न भने म पार्टीको उपाध्यक्ष हुँ, मलाई उपाध्यक्षको तर्फबाट बोल्न दिनुस्। अन्ततः उहाँ सहमत हुनुभयो। र, हाम्रा कुरा राख्न दिनुभयो।'
त्यसपछि आफूहरुले मुख्यगरी चार/पाँचवटा विषय राखेको रावलले बताए। उनका अनुसार कार्यदलले गरेको सहमतिअनुसार बैठक स्थगित गर्न आग्रह गरिएको थियो। त्यस्तै, नेकपा एमालेको एकतालाई खण्डित हुने दिशातिर नधेकेल्न आग्रह गरिएको थियो। ‘आज राष्ट्र अप्ठ्यारो स्थितिमा छ। यस्तो अवस्थामा नेकपा एमालेको एकतालाई अगाडि बढाउनका लागि स्वयं पार्टी अध्यक्ष कामरेड र बैठकमा उपस्थित हुनुभएका सबै कमरेडहरुले गम्भीरतापूर्वक सोच्नुस्। बैठक स्थगित गर्नुस्,’ रावलले बैठकमा भनेका कुरा उद्धृत गर्दै भने।
उनले ओलीले बालुवाटारबाट निवासमा सर्ने क्रममा दिएका अभिव्यक्तिहरुले आफूहरुलाई झनै अप्ठ्यारो परेको पनि बताएका थिए।
‘तपाईंहरुले यस बैठकलाई स्थगित गर्नुस्। हामी पार्टी, राष्ट्र र जनताको हितका लागि पार्टीको एकताप्रति हामी प्रतिबद्ध छौं। हाम्रो त्यसमा भूमिका रहन्छ। सहयोग रहन्छ। सबैले आफ्नो ठाउँबाट भूमिका खेलौं,’ रावलले भने।
नेपालपक्षका नेताहरुको कुरा सुनिसक्दा पनि ओलीले खासै प्रतिक्रिया दिएनन्। ‘उहाँले लामो बोल्नुभएन। उहाँले यो बैठक जारी रहन्छ। कार्यसूची अगाडि बढाउनुस् भन्नुभयो,’ रावलले भने।
बैठक स्थगित गर्न गरिएको आग्रह अस्वीकार गरिएपछि नेपालपक्ष बैठकस्थलबाट बाहिरिएको छ। रावलका साथसाथै, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट तुलसीलाल स्मृति प्रतिष्ठान पुगेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।