काठमाडौं- बेलायती अर्बपति मालिक रिचार्ड ब्रान्सन आफ्नै लगानीमा बनेको रकेट चढेर अन्तरिक्षको यात्रा गर्ने पहिलो व्यक्ति बनेका छन्।
उनी आफ्नै कम्पनी भर्जिन ग्यालाक्टिकले निर्माण गरेको ‘सुपरसोनिक स्पेस’ लिएर आइतबार बिहान अमेरिकाको न्यु मेक्सिकोबाट अन्तरिक्ष उडानमा निस्किएको थियो।
‘स्पेसशिप टू’ नामक उक्त सिंगल रकेटमा ब्रान्सनसँगै कम्पनीका ३ अन्य कर्मचारी बेथ मोसेस, कोलिन बेन्नेट र सिरिसा बन्दला सवार थिए। त्यस्तै, डेभ म्याके र माइकल मासुस्सीले उक्त जहाज उडाएका थिए।
उक्त मोटर जहाज निर्माणका लागि कम्पनीले २ दशकको अथक मिहिनेत लगाएको थियो। जहाज पृथ्वीभन्दा ८५ किलोमिटर उचाइँमा पुगेर केहीबेर तौलविहीनतामा अडिएको बताइएको छ। त्यतिबेला जहाजका यात्रुहरुले पृथ्वी र अन्तरिक्षको प्यानोरामिक दृश्य हेर्न पाएका थिए।
उक्त सुक्ष्म गुरुत्वाकर्षण क्षेत्रमा तौलविहीनता अनुभव गरिरहँदा ब्रान्सनले जहाजको क्यामरा प्रयोग गरी सन्देश दिए- ‘त्यहाँ भएका सबै बच्चाहरु। म कुनैबेला आकाशका तारा हेरिरहने सपना बोकेको बच्चा थिएँ। अहिले म वयस्क छु र अन्तरिक्षयानमा छु। यदि हामीले यो गर्न सक्छौँ भने कल्पना गर्नुहोस् तर तपाईंले के गर्न सक्नुहुन्छ।’
ब्रान्सनले आफ्नो जिवनकालकै सरवत्कृष्ट अनुभव भएको बताएका छन्। अन्तरिक्ष जहाजमा उडेको एक घण्टामै उनी सकुसल पृथ्वीमा अवतरण गरेका थिए।
योसँगै आफ्नै साधनबाट अन्तरिक्ष पर्यटनको सुरुआत गर्ने अर्बपतिहरुमा ब्रान्सन अग्रणी बनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।