Getty Images
काठमाडाैं- अमेरिकाको पश्चिमी क्षेत्रमा तापक्रम निरन्तर बढ्दो गएकाे छ। तापक्रम बढ्दै गएपछि पश्चिमी क्षेत्रका विभिन्न स्थानमा डढेलो लागेकाे छ।
स्थानिय सरकारले यहाँ रहेका स्थानियवासीहरुलाई बासस्थान खाली गर्न आग्रह गरेकाे छ। अग्निनियन्त्रकहरुले आगो निभाउने प्रयास गरिरहेका छन्।
राष्ट्रिय मौसम सेवाका अनुसार क्यालिफोर्निया र नेभाडा राज्यको तापक्रम अहिलेसम्मकै उच्च पुग्ने छ। लस भेगासमा तापक्रम ४७.२ डिग्री सेल्सियस रहेकाे छ।
यता, क्यालिफोर्नियाको डेथ भ्यालीको तापक्रम शुक्रबार ५४.४ डिग्रीसेल्सियस मापन गरिएकाे छ। केही हप्ता पहिले मात्रै अमेरिकामा तापक्रम उच्च हुँदा जनजीवन प्रभावित भएको थियो। उत्तर अमेरिकी देशमा जुन महिना इतिहासकै गर्मी रेकर्ड भएको थियो।
अबको केही दिन यस्तै रहने अनुमान छ। राष्ट्रिय मौसम सेवाले प्रभावित क्षेत्रका बासिन्दालाई पर्याप्त मात्रामा पानी पिउन तथा वातानुकुलित भवनमा बस्न आग्रह गरेको छ।
शुक्रबार मापन भएको डेथ भ्यालीको तापक्रम सन् २०२० को अगस्टमा मापन भए जस्तै हो। जसलाई पृथ्वीमा मापन भएको सबैभन्दा उच्च तापक्रम मानिन्छ।
सन् १९१३ मा अधिकतम तापक्रम ५६.७ डिग्रीसेल्सियस मापन भएको बताइन्छ, तर यसमा विज्ञहरुको एक मत छैन। क्यालिफोर्नियासँग सीमा जोडिएको नेभाडामा पनि तापक्रम उच्च बन्दै गएको छ। ओरिगनमा पनि तापक्रम बढिरहेको छ।
विज्ञहरूले जलवायु परिवर्तनको कारण गर्मी बढेकाे दाबी गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।