काठमाडाैं- संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले विश्वका आर्थिक शक्ति सम्पन्न देशहरुको समूह जि२० का देशहरुलाई कोभिड विरुद्धको खोपमा सहयोग गर्न आग्रह गरेका हुन्।
विश्वका आर्थिक शक्ति सम्पन्न विश्वका २० देशको संगठन, जि२० लाई सम्बोधन गर्दै महासचिव गुटरेसले सो कुरा बताएका हुन्। उनले हाल विश्वका विकासशील देशहरुले कोभिडको खोप पाउन नसकेको र यसरी खोप पाउने र पाउन नसकेका देशहरुका बीचमा एउटा ठूलो अन्तर देखिएकोले ती देशलाई खोप सहयोग गर्न आग्रह गरेकाे हाे।
साथै राष्ट्रसंघीय महासचिव गुटरेसले विश्वका विकासशील देशहरु कोभिड १९का कारण आर्थिक समस्यामा परेका भन्दै ती देशलाई ऋण अर्थात् आर्थिक सहायता दिएर सहयोग गर्न पनि आग्रह गरेकाे हाे।
जि२० का सदस्य देशहरुका अर्थमन्त्री र ती देशका केन्द्रीय बैंकका गभर्नरहरुको भर्चुअल बैठकलाई सम्बोधन गर्दै उनले सो आग्रह गरेकाे हाे।
उनले अहिले भइरहेको खोप उत्पादनको कामलाई कम्तीमा पनि दोब्बर बनाउने कामलाई गति दिन पनि ती देशहरुलाई आग्रह गरेकाे बताए ।
अहिले विश्वमा कोरोनाको खोप प्राप्त गरेका र खोप नपाएका देशहरुका बीचमा अन्तर फराकिलो बन्दै गएको भन्दै महासचिव गुटरेसले यस्तो अन्तरलाई हटाउने कामका लागि पनि ती देशका अर्थमन्त्रीहरुलाई अपिल गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।