Photo by Richard Pierrin/Getty Images
काठमाडाैं- अमेरिकी क्षेत्रकै सबैभन्दा गरिब मुलुक हाइटीले राष्ट्रपति जोभनेल मोइजको हत्या भएपछि मुलुकमा उत्पन्न संकटसँग जुध्न अन्तर्राष्ट्रिय समुदायसँग सहयोग मागेकाे छ।
हाइटी सरकारले राष्ट्रपति मोइजको हत्यापछि देशका महत्वपूर्ण पूर्वाधार रक्षा गर्नको लागि भन्दै संयुक्त राष्ट्र संघ र अमेरिकासँग सैन्य सहयोगको आग्रह गरेको हो। तर, अमेरिकाले भने राष्ट्रपति मोइजको हत्याको छानबिनमा टोली पठाउने बताए पनि तत्काल सैन्य सहायता प्रदान गर्न अस्वीकार गरेकाे छ।
अमेरिकाले घटनामकाे छानबिन गर्नका लागि एफबीआई डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीका अधिकारी पठाउने जनाएकाे छ। यता, संयुक्त राष्ट्र संघले अन्तर्राष्ट्रिय सेना पठाउन पनि सुरक्षा परिषद्बाट स्वीकृति पाउनुपर्छ।
गत बुधबार बिहानै राष्ट्रपति मोइजलाई उनको निजी निवासमै घुसेर गोली हानी हत्या गरिएको थियो। शुक्रबार मात्र हाइटीका प्रहरीले राष्ट्रपति मोइजको हत्या विदेशी आक्रमणकारीबाट भएको बताउँदै ती आक्रमणकारी विशेषगरी कोलम्बियाका पूर्व सेना रहेको बताएका थिए।
प्रहरी प्रमुख लियोन चार्ल्सका अनुसार राष्ट्रपतिको हत्यामा २६ कोलम्बियाका नागरिक र हाइटी मूलका दुई अमेरिकी आक्रमणकारी सामेल थिए।
हालसम्म ८ संदिग्भ अझै फरार रहेको बताइएको छ। राजधानी पोर्ट–अ–प्रिन्समा भएको संघर्षमा दुई अमेरिकीसहित १७ आक्रमणकारीलाई भने प्रहरीले गिरफ्तार गरिसकेको छ। बाँकी आक्रमणकारीको भने प्रहरीको मुठभेडमा मृत्यु भएको छ।
कोलम्बियाको सरकारले यो आक्रमणको घटनामा ६ आफ्ना पूर्व सेना संलग्न भएको पुष्टि गर्दै अनुसन्धानमा सक्दो सहयोग गर्ने हाइटीलाई आश्वासन दिएकाे छ।
आक्रमणकारीहरू ताइवानी नियोग हुँदै राष्ट्रपति मोइजको निजी निवासमा प्रवेश गरेका थिए। राष्ट्रपतिको हत्यापछि हाइटीमा हिंसात्मक प्रदर्शन भइरहेका छन्। अहिले हाइटीमा संकटकाल लागू भएको छ। राष्ट्रपतिको हत्यापछि हाइटीमा सरकार सञ्चालनबारे अन्योल देखिएको छ।
राष्ट्रपतिको हत्याको योजना कसले बनायो र केबाट प्रेरित थियो भन्नेबारे अहिलेसम्म केही स्पष्ट भएको छैन। तर, हाइटीका अन्तरिम प्रधानमन्त्री क्लाउड जोसेफले ५३ वर्षीय राष्ट्रपति मोइज मुलुकमा तानाशाही प्रणालीरिुद्ध लडिरहेको हुनाले उनलाई निसाना बनाइएको दाबी गरेका छन्।
जोभनेल मोइज सन् २०१७ को फेब्रुअरीदेखि हाइटीको राष्ट्रपति थिए। तर, भ्रष्टाचार अभियोगहरूका कारण उनको लोकप्रियता ओरालो लागेको थियो।
पछिल्लो समय उनले सरकारविरोधी हिंसात्मक विरोध प्रदर्शनहरूको सामना गर्दै आएका थिए। यसै वर्षको सुरुमा राजधानी र देशका अन्य सहरमा उनको राजीनामाको माग गर्दै व्यापक प्रदर्शनहरू भएका थिए। जसमा २३ जनालाई पक्राउ गरिएकाे थियाे।
विपक्षीहरूले मोइजका पूर्ववर्ती मिसेल मार्टेलीले सन् २०१६ फेब्रुअरी ७ मा पद त्याग गरेको मितिबाट ५ वर्ष पुगेको भन्दै उनको कार्यकाल २०२१ को फेब्रुअरी ७ मै सकिएको दाबी गरेका थिए। तर, मार्टेलीले पद त्यागेको मितिमा आफूले पद नसम्हालेको भन्दै मोइजले आफ्नो कार्यकाल अझै एक वर्ष बाँकी रहेको बताउने गरेका थिए।
चुनावमा धाँधली भएको भन्ने आरोपका कारण बीचको एक वर्ष ढिलाइ हुन गएको उनकाे भनाइ छ। जसका कारण सन् २०१५ को निर्वाचनको नतिजा रद्द गरेर गरिएकाे नयाँ निर्वाचनमा मोइज विजयी भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।