काठमाडौं- अफगानिस्तानमा युद्धरत तालिबान विद्रोही समूहले ८५ प्रतिशतभन्दा बढी क्षेत्र आफ्नो नियन्त्रणमा रहेको दाबी गरेको छ। रुसको राजधानी मस्को पुगेका तालिबानको एक प्रतिनिधिमण्डलले उक्त दाबी गरेका हुन्।
लगभग २० वर्षको लडाइँपछि संयुक्त राज्य अमेरिका लगायतका विदेशी सेना अफगान छाडेर स्वदेश फर्किएका छन्। यो कदमले तालिबानी विद्रोहीहरुलाई अफगानको अन्य क्षेत्र नियन्त्रणमा लिनको लागि प्रोत्साहित गरेको छ।
तालिबानीको आतंक शुरु भएसँगै सयौं अफगानी सुरक्षाकर्मी र शरणार्थी सीमापारको छिमेकी देश ताजिकिस्तानमा भागेका छन्। यता, रुसलाई अफगानबाट इस्लामिक स्टेटका सदस्यहरु मध्य एसियामा घुसपैठ गर्नसक्ने चिन्ता छ।
तालिबानले भने रुस, चीनलगायतका मुलुकलाई आफ्नो भूमि अन्य मुलुकमाथि आक्रमण गर्न प्रयोग हुने नदिने भन्दै आश्वस्त तुल्याउने प्रयास गरेको छ। मस्कोमा शुक्रबार एक पत्रकार सम्मेलनमा तीन तालिबानी अधिकारीहरूले बृहत्तर क्षेत्रमा कुनै खतरा नभएको जानकारी दिए।
तालिबानका एक अधिकारी शाहबुद्धिन दिलावरले भने,‘ अफगानिस्तानमा इस्लामिक स्टेटलाई मौलाउन नदिने र लागूऔषध उत्पादनलाई निमिट्यान्न पार्ने बाचा गर्छौं।’ यस्तै, उनले छिमेकी राष्ट्रविरुद्ध कुनै खतरा उत्पन्न नहुनेसम्म बताए।
‘हामी सबै उपायहरू अपनाउने छौं। ताकि इस्लामिक स्टेट अफगानको भूभागमा सञ्चालित नहोस्। हाम्रो क्षेत्र कहिल्यै हाम्रा छिमेकी राष्ट्रहरूविरूद्ध प्रयोग हुने छैन,’ उनले एक अनुवादकमार्फत् भने।
उक्त प्रतिनिधिमण्डलले एक दिन अघि तालिबानी समूहले ताजिकिस्तान–अफगान सीमामा आक्रमण नगर्ने बताएको थियो। जुन रूस र मध्य एशियामा केन्द्रित छ।
यद्यपि, इन्टरफेक्स समाचार एजेन्सीले उक्त सीमामा तनाव तीव्र वृद्धि भएको उल्लेख गरेको छ। जसमध्ये दुई तिहाइ क्षेत्र अहिले तालिबानीले नियन्त्रणमा लिएको छ।
रसियाको विदेश मन्त्रालयले अफगानिस्तान द्वन्द्वका सबै पक्षलाई संयम देखाउन आह्वान गरेको छ। यस्तै, रूसको नेतृत्वमा रहेको सीएसटीओ सैन्य समूहले आवश्यक परेमा सीमामा आक्रमणलाई रोक्न निर्णायक कदम चाल्ने चेतावनी दिएको छ।
यता, तालिबानी प्रतिनिधिमण्डलले जातीय अल्पसंख्यकहरूको अधिकारको सम्मान गर्ने र सबै अफगानी नागरिकलाई इस्लामिक कानून र अफगान परम्पराको ढाँचामा सभ्य शिक्षा पाउने अधिकार दिलाउने प्रतिवद्धता जनाएको छ।
‘हामी अफगान समाजका सबै प्रतिनिधिहरू राज्य निर्माणमा भाग लिन चाहन्छौं,’ डेलावरले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।