काठमाडाैं- भारतकाे केरेलामा जीका नामक भाइरस फेला परेकाे छ। एइडीज प्रजातिको लामखुट्टेबाट सर्ने जीका भाइरसकाे संक्रमित पहिलाेपटक केरलामा फेला परेकाे हाे।
राज्यमा जीका भाइरस फैलिएकाे भन्ने आशंकामा १९ जनाकाे नमूना संकलन गरेर पुणेमा रहेकाे राष्ट्रिय विषाणु संस्थानमा परीक्षण गरिएकाे थियाे।
स्वास्थ्य विभागका अनुसार त्यसमध्ये तिरुवनन्तपुरमको परसालामा बस्ने २४ वर्षीया गर्भवती महिलामा भाइरसकाे संक्रमण पुष्टि भएको छ। उक्त महिलाको निजी अस्पतालमा उपचार भइरहेको छ।
केरलाकी स्वास्थ्य र परिवार कल्याण मन्त्री वीना जर्जका अनुसार तिरुवनन्तपुरमबाट पठाइएको १९ नमूनामध्ये १३ स्वास्थ्यकर्मीको रहेको थियाे। साे स्थानमा जीका संक्रमित हुनसक्ने सम्भावना रहेकाे उनले बताइन्।
अफ्रीकाको मौलिक जीका भाइरस सन् २०१५ को मे महिनादेखि अमेरिकी महादेशहरु र ब्राजिलमा तीव्र गतिमा फैलिरहेको छ। जीका एइडीज प्रजातिको लामखुट्टेबाट सर्ने गर्दछ, तर अनुसन्धानकर्ताहरु अन्य तरिकाबाट पनि सर्ने सम्भावना रहेको बताउँछन्।
जीका भाइरसको संक्रमणलाई सानो मष्तिष्क हुने शारिरिक खराबी र बालबालिकाको जन्मका लागि जीम्मेवार ठानिएको छ।
हल्का ज्वरो आउने, आंखामा संक्रमण हुने र टाउको दुख्ने जस्ता लक्षणहरु देखिने उक्त भाइरस संक्रमण क्यारिबियन, उत्तर र दक्षिण अमेरिकाका विभिन्न २१ देशमा देखा परिसकेको छ।
सो भाइरसका कारणका मष्तिष्क पूर्ण रुपमा विकास हुन नसकेका बच्चाहरु जन्मने गरेकाले कतिपय संक्रमणग्रस्त देशहरुले महिलाहरुलाई गर्भवती नहुनसमेत आग्रह गरेका छन्।
करिब ५ वर्ष अगाडि कोलम्बिया, एक्वेडोर, एल साल्भाडोर र जमैकाले पनि उक्त भाइरसका बारे थप जानकारी प्राप्त नहुञ्जेल महिलालाई गर्भवती नहुनसमेत आह्वान गरेकाे थियाे।
जीका संक्रमणका विरुद्ध कुनै उपचार र खोप उपलब्ध छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।