काठमाडाैं- अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता हुने क्रममा रहेको बेला तालिबानीले अधिकांश क्षेत्र आफ्नो नियन्त्रणमा लिएको छ।
अफगानको ८५ प्रतिशत क्षेत्र आफ्नो कब्जामा रहेको दाबी गरेका तालिबान प्रवक्ता जबिहुल्लाह मुजाहिदले ट्विटरमा एक पोस्ट गर्दै इरानसँग सीमा जोडिएको हेरात प्रान्तमा रहेकाे इस्लाम कला शहरमा बिहीबार कब्जा गरेको जानकारी दिएका छन्।
यद्यपि, अफगानी अधिकारीहरूले यसबारे आधिकारिक रूपमा कुनै जानकारी दिएका छैनन्।
दुई वरिष्ठ सुरक्षा अधिकारीले रोयटर्सको समाचार एजेन्सीसँग कुरा गर्दै सीमा चौकी कब्जा गरेपछि अफगान सुरक्षाकर्मी र भन्सार अधिकारीहरू इरानीतर्फ भागेको बताएका छन्। इरानको अरबी भाषा अल-आलम टिभीले पनि अफगान सेनाले सीमा नाघेको पुष्टि गरेको छ।
यद्यपि, गृह मन्त्रालयका प्रवक्ता तारिक एरिनले उक्त रिपोर्टलाई अस्वीकार गरेका छन्। ‘त्यो चौकी अझै अफगान सेनाको नियन्त्रणमा छ। यो सबै खबर सत्य होइन,’ उनले भने।
यसभन्दा अघि हेरातका एक अज्ञात अधिकारीले बीबीसीलाई इस्लाम कलाको अवस्था डरलाग्दो रहेको बताएका थिए। ताजिकिस्तानको सीमानामा रहेको शेरखान र अकिआ सीमा पार गरेपछि यो शहर तालिबानीले नियन्त्रणमा लिएको हो।
इस्लाम कला इरान र अफगानिस्तानको बीचमा रहेको एक महत्त्वपूर्ण व्यापारिक सीमा हो, जुन हेरातबाट पाँच किलोमिटर टाढा छ। केही दिन अघि इस्लाम कलाको कुन्दुसाबाद बजारमा तालिबानीको आक्रमण भएको खबर पनि आएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।