ताइपेइ- जापानले ताइवानलाई कोरोनाभाइरस विरुद्धको ११ लाख ३० हजार खोप प्रदान गरेको छ। जापानले ताइवानलाई अस्ट्राजेनिका खोप प्रदान गरेको अधिकारीहरुले जानकारी दिएका छन्।
बेलायत र स्वीडेनको बायोटेक कम्पनी अष्ट्राजेनिकाले विकास गरेको खोप उत्पादन गर्ने अनुमति पाएर जापानले उत्पादन गरेको हो।
ताइवानका स्वास्थ्यमन्त्री चेन सिह चुङले खोपका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा खोप उपलब्ध गराइदिएकोमा जापानलाई धन्यवाद दिए। जापानले उपलब्ध गराएको खोपका कारण ताइवानमा कोरोना भाइरसको महामारी न्यूनीकरणका लागि ठूलो सहयोग पुग्ने अपेक्षासमेत गरिएको छ।
जापानका विदेशमन्त्री तोशिमित्सु मोतेगीले भने ताइवानलाई जापानले गरेको सहयोग असल मित्र देशको रुपमा गरिएको बताए। अप्ठ्यारोमा परेको एउटा देशलाई अर्को मित्र देशले सहयोग गर्नु स्वाभाविक दायित्व अन्तर्गत पर्ने पनि उनले उल्लेख गरेका छन्। उनले जापानले दिएको खोपले ताइवानमा कोरोना भाइरसको महामारी न्यूनीकरणका लागि सहयोग पुग्ने विश्वास पनि व्यक्त गरे।
जापानले ताइवानलाई यसअघि जुन ४ तारिखका दिन पनि अस्टाजेनिकाकै १२ लाख ४० हजार खोप प्रदान गरेको थियो।
चीनसँग जापान र ताइवानको सम्वन्ध कमजोर हुँदै गइरहेका बेला जापानले ताइवानलाई ठूलो संकटमा राहत पुग्नेगरी सहयोग गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।