काठमाडाैं- इरानका धेरै शहरमा विगत केही दिनदेखि लोडसेडिङ गरिएकाे भन्दै नागरिकहरु सडकमा उत्रिएका छन्।
सामाजिक सञ्जालमा सेयर गरिएको एक भिडियोमा तेहरानको छेउछाउ शार–ए–रे, शिराज, अमोल जस्ता थुप्रै स्थानमा ठूलो संख्यामा नागरिकहरुले सरकारविरुद्ध प्रदर्शन गरिरहेको देखिएको छ।
ती मध्ये धेरैले ‘खामेनी मुर्दाबाद’ का नारा लगाइरहेका थिए। आयातोल्ला अलि खामेनी इरानको सर्वोच्च धार्मिक नेता तथा सबैभन्दा शक्तिशाली व्यक्तित्व हुन्।
यस मामिलाको गम्भीरतालाई ध्यानमा राख्दै इरानी सरकारले जनतासँग माफी मागेको छ। सरकारले खडेरी र विद्युतको ठूलो माग भएको भन्दै लोडसेडिङ गर्नुपर्ने बाध्यता आएको बताएको छ।
इरानका राष्ट्रपति हसन रूहानीले खडेरीले देशका अधिकांश जलविद्युत परियोजनाहरू ठप्प पारेको जानकारी दिएका थिए।
‘म मेरा प्यारा देशवासीसँग माफी चाहन्छु, जो विगत केही दिनदेखि समस्याको सामना गरिरहेका छन्। अनावश्यक विद्युत प्रयोग कटाैती गरेर सहयोग गर्न म अनुरोध गर्दछु। चर्को गर्मीका कारण पनि मानिसहरूले एसी प्रयोग गरिरहेका छन्। जसले गर्दा विद्युतको खपतमा अचानक बढेको छ,’ उनले भने।
राष्ट्रपति रूहानीले आगामी दुई तीन हप्तासम्मा यस समस्याको समाधान खोज्ने आश्वासन दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।