काठमाडौं- क्यारेबियन मुलुक हाइटीका अन्तरिम प्रधानमन्त्री क्लाउडे जोसेफले राष्ट्र प्रमुखको कार्यभार सम्हाल्ने भएका छन्।
५३ वर्षे राष्ट्रपति जोभेनल मोइसीको बुधबार बिहानै निजी निवासमा गोली हानेर हत्या भएपछि उनले कार्यभार सम्हाल्न लागेका हुन्।
हाइटीको संविधानअनुसार राष्ट्रपतिको पद खाली हुँदा प्रधानमन्त्रीले अर्को निर्वाचन नहुँदासम्म मुलुकको नेतृत्व सम्हाल्नेछन्। तर, राष्ट्रपति मोइसीले यसैसाता एरिएल हेनरीलाई नयाँ प्रधानमन्त्री नियुक्त गरेका थिए। उनले शपथ भने लिन भ्याएका थिएनन्।
मिशेल मार्टेलीले राजीनामा दिएपछि ५३ वर्षीय मोइसीले फेब्रुअरी २०१७ देखि सत्तामा सम्हालेका थिए।
उनीमाथि भ्रष्टाचारको आरोपसमेत लागेको थियो। ५ वर्षे कार्यकाल सम्पन्न हुँदासमेत मोइसी राष्ट्रपति पदमै आसिन भएपछि उनीसँग हइटीका जनता रुष्ट थिए।
उनको कार्यका गत फेब्रुअरी ७ तारिखमा सकिएको थियो। तर, एकवर्ष चुनावमा धाँधली भएको विषयमा विवाद भएकाले त्यसलाई गन्न नमिल्ने दाबी गर्दे उनले राष्ट्रपतिको कार्यालय छाडन् मानेका थिएनन्।
हजारौं नागरिकहरुले उनले तत्काल सत्ता परित्याग गर्नुपर्ने भन्दै सडक अवरुद्धसमेत पारेका थिए। तर, सरकारले २३ प्रदर्शनकारीलाई गिरफ्तार गरेको थियो। उनीहरुमाथि राष्ट्रपतिमाथि हत्या प्रयास गरेको आरोप लागेको थियो।
उनको हत्या कसले गर्यो भन्ने खुलिसकेको छैन। यद्यपि, स्पेनिस भाषा बोल्ने केही मानिसहरूले राष्ट्रपति मोइसीको निजी निवासमा आक्रमण गरेको अन्तरिम प्रधानमन्त्री जोसेफको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
राष्ट्रपति मोइसीकी श्रीमती मार्टिन मोइसी भने घाइते भएकी छन्। हाल उनको अमेरिकको फ्लोरिडामा उपचार भइरहेको छ।
प्रधानमन्त्री जोसेफका अनुसार केही समयअघि मोइसीले नै आफ्नो हत्या प्रयास गरेका थिए। तर, सुरक्षा अधिकारीहरूले त्यसलाई विफल पारेको बताएका थिए।
अन्तरिम प्रधानमन्त्री जोसेफले देशका नागरिकहरुलाई शान्त रहन पनि आह्वान गरेका छन्। उनले राष्ट्रको नाममा सम्बोधन गर्दै संकटकालको घोषणासमेत गरेका छन्। यससँगै मानिसहरुलाई एकै स्थानमा भेला हुन र सेना र प्रहरीलाई कार्यकारी अधिकारसहित पचिालन गरिएको छ।
उनले एपीसँगको अन्तर्वार्तामा यो घटनामा अन्तर्राष्ट्रियस्तरबाट अनुसन्धान गर्न माग गरेका छन्।
हत्यामा संलग्न रहेको भनिएका चार जना मारिए
राष्ट्रपति मोइसीको हत्यामा संलग्न रहेको भनिएका चार जना प्रहरीसँगको दोहोरो मुठभेड मारिएका छन्।
प्रहरी प्रमुख लियोन चार्ल्सका अनुसार यस घटनामा दुई व्यक्ति पनि गिरफ्तार भएका छन्। यतिबेला सुरक्षाकर्मीले अन्य शंकास्पद व्यक्तिलाई पनि राजधानी पोर्ट–अउ–प्रिन्समा खोजिरहेको बताइएको छ।
‘प्रहरीहरू अझै पनि आक्रमणकारीसँग लडिरहेका छन्,’ उनले भने,‘घटनास्थल छाडेपछि हामीले उनीहरूको भाग्ने बाटो छेकेका थियौं। त्यसबेलादेखि हामी उनीहरूसँग लडिरहेका छौं। पक्राउ परेकाहरु कि मारिन्छ वा बन्धक बनाइन्छ।’
उनका अनुसार प्रहरी कारबाहीमा मारिएका चार व्यक्ति ‘सुपारी किलर’ थिए। उनका अनुसार तिनीहरुले तीन जना प्रहरीलाई पनि नियन्त्रणमा लिएका थिए। तर, बुधबार नै उनीहरू छाडिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।