काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मन्त्रिमण्डलमा ब्यापक फेरबदल गरेका छन्। दोस्रो कार्यकालमा मोदीले पहिलोपटक मन्त्रिमण्डलमा फेरबदल गरेका हुन्।
आगामी विधानसभा र राज्यसभाको चुनावलाई लक्षित गर्दै उनले मन्त्रिमण्डल फेरबदल गरेकाे भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। राष्ट्रपति भवनमा आयोजित समारोहमा राष्ट्रपति रामनाथ कोविन्दले नयाँ ४३ जना मन्त्रीलाई सपथ खुवाएका हुन्।
मोदीको नयाँ मन्त्रिमण्डलमा १३ जना महिला समेटिएका छन्। नयाँ मन्त्री हुनेहरुमा १३ वकिल, ६ डाक्टर र पाँचजना इन्जिनियर छन्। मन्त्रिमण्डलमा अधिकांश युवाहरु र सीमान्तकृत समुदायबाट प्रतिनिधित्व गराइएको छ।
१४ मन्त्रीको उमेर ५० वर्षभन्दा कम छ भने १८ जना पूर्वराज्यमन्त्री भएका छन्। चारजना पूर्वमुख्यमन्त्री पनि मन्त्रिमण्डलमा सहभागी बनेका छन्।
मोदीको नयाँ मन्त्रिमण्डलमा पाँच अल्पसंख्यक मन्त्री बनेका छन्। जसमा १ मुस्लिम, १ शिख, १ बौद्ध र १ इसाइ धर्मावलम्वी छन्। आठजना जनजाति पनि मन्त्री भएका छन्।
मन्त्रिपरिषद् विस्तार गर्नु अघि भारतका १२ जना केन्द्रिय मन्त्रीले राजीनामा दिएका थिए।
बीबीसीहिन्दीका अनुसार सामाजिक न्याय तथा आधिकारिकता मन्त्रालयका मन्त्री थावरचन्द गहलोत, स्वास्थ्यमन्त्री डाक्टर हर्षवर्धन, श्रममन्त्री सन्तोष गोंगवार, शिक्षामन्त्री रमेश पोखरियाल निशंक, शिक्षा राज्यमन्त्री सन्जय धोत्रे, जल शक्ति राज्यमन्त्री रतन लाल कटारियाले राजीनामा दिएका छन्।
यस्तै, महिला एबं बाल कल्याण मन्त्रालयका राज्यमन्त्री दोबोश्री चौधरी, वातावरण, बन तथा जलवायु परिवर्तन मन्त्रालयका राज्यमन्त्री बाबुल सुप्रियो, रसायन एबं उर्वरक मन्त्रालयका मन्त्री सदानन्द गौडा तथा पशुपालन एबं डेयरी मन्त्रालयका राज्यमन्त्री प्रताप सारंगीले पनि राजीनामा दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।