काठमाडौं- अस्ट्रेलियाकी एक पूर्व सांसद जूलिया ब्याक्सले आफूलाई सन् २०१७ मा संसद भवनमा भएको समयमा एक मन्त्रीले गलत तरिकाले छोएको बताएकी छिन्।
संसदीय मतदानको सत्रका लागि जानु भन्दा पहिला ती पुरुष सांसदले आफ्नो तिघ्रामा हातले केहीबेर स्पर्स गरेको उनको आरोप छ। यस्तो आरोप सार्वजनिक भएपछि प्रधानमन्त्री स्कट मरिसनको कार्यालयले एक विज्ञप्ति जारी गरेर यस घटनाबारे यसअघि जानकारी नभएको उल्लेख गरेको छ।
प्रधानमन्त्री कार्यालयको तर्फबाट जारी गरिएको वयानमा यस्तो खालको व्यवहार "पूर्णरुपमा गलत" भएको बताइएको बीबीसीले उल्लेख गरेको छ।
ब्याक्सले उक्त व्यक्तिको पहचान खुलाएकी छैनन्। तर अहिलेपनि उनी क्याबिनेटमा रहेको बताइएको छ।
उनका अनुसार कयौं सांसद रातिको त्यस समयमा संसदमा मतदानका लागि कुरिरहेका थिए जब ति मन्त्री आए र उनको नजिक बसे। उनले आफ्नो हात ब्याक्सको तिघ्रामाथि राखे र बिस्तारै बिस्तारै अघि बढाइरहे।
त्यसपछि ति पुरुष सांसदले उनको खुट्टामा पनि हात राखेका थिए। उनले मन्त्रीले हलमा सांसदहरुको उपस्थितिमा गरेको कार्यले उनी 'बेशरम' रहेको स्पष्ट भएको बताइन्। त्यससमय आफूमाथि भएको हर्कतको विश्वास गर्न नसकेको बताइन्।
ब्याक्सको आरोपले मारिसनको रुढिवादी सरकार र अस्ट्रेलियाली राजनीतिमा महिलामाथि हुने व्यवहारलाई फेरि एकपटक चर्चामा आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।