काठमाडाैं- विश्वका नम्बर वान अर्बपति जेफ बेजोससँगै चार जना अन्तरिक्ष यात्रामा जाने पक्का भएकाे छ।
ब्लु ओरिजिन कम्पनीको रकेटबाट बेजोससँगै उनका भाइ, २ करोड ८० लाख डलरमा टिकट खरिद गरेका एकजना व्यक्तिका साथै ८२ वर्षकी वाली फंक गरी चारजना जाने पक्का भएको हो।
ब्लु ओरिजिन कम्पनीका अनुसार न्यु शेफर्ड सब अर्बिटल स्पेसक्राफ्टको पहिलो यात्रुवाहक उडानमा बेजोस, मार्क बेजोस, टिकट खरीदकर्तासँगै फंक पनि सहभागी हुने लागेका हुन्।
फंक तीनै महिला हुन् जाे अमेरिकी अन्तरिक्ष संस्था नासाको मर्क्युरी कार्यक्रम अन्तरगत अन्तरिक्ष यात्राका लागि ६० वर्ष अगाडि नै तालिम लिएकी थिइन्। तर, उनी अन्तरिक्षमा जान पाएकी थिइनन्।
यद्यपि, जुलाई २० मा हुने आफ्नो अन्तरिक्ष उडानकाे लागि बेजोसले उनलाई अतिथिकाे रुपमा लैजान लागेका हुन्।
फंक निकै अनुभवी पाइलट पनि हुन्। उनीसँग १९ हजार ६ सय घण्टा जहाज उडाएको अनुभव छ।
उनले निजी तथा व्यवसायिक जहाजहरु कसरी उडाउने भने ३ हजार जनाभन्दा धेरैलाई तालिम दिइसकेकी छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।