Photo : EPA
काठमाडाैं- मध्य जापानको शिजुओका प्रान्तको अटामी शहरमा अविरल वर्षापछि गएकाे पहिरोमा परी ८० जना बेपत्ता भएका छन्।
अविरल वर्षाका कारण गत शनिबार बिहान साढे १० बजे पहिरो गएको एनएचकेले उल्लेख गरेको छ। उक्त शहरका बाढी र पहिरोको कारण कयौं घरहरु नष्ट भएको र पुरिएको समाचारमा उल्लेख छ।
अटामी सहरका प्रवक्ताले पहिरोको कारण चार जनाको मृत्यु भएको र ११३ जना हराइरहेको बताएका थिए। तर, अहिले बेपत्ता हुनेको संख्या ८० मा झरेको उनले जानकारी दिए।
उनका अनुसार सोमबार दुईजनाको जीवितै उद्धार गरिएको छ। करिब ३६ हजार मानिसको बसोबास रहेको अटामी सहर टोकियोबाट ९० किलोमिटर दक्षिण–पश्चिममा रहेको शहर हो।
केही दिनयतादेखिको बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि आपत्कालिन टास्क फोर्ज परिचालन गरिएको छ।
जापानी प्रधानमन्त्री योशिहिदा सुगाले प्रकोप मन्त्री यासुफुमी तानाहाशीसँग पहिरो र अन्य वर्षासँग सम्बन्धित विपत्तिबारे छलफल गरेका छन्। उनले उद्धार तथा राहातमा तीव्रता दिन आग्रह गरेका छन्।
जापान मौसम विभागले मध्य र पूर्वी जापानको प्रशान्त तटमा भारी वर्षा भइरहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।