काठमाडाैं- तालिबानले अफगानिस्तानको कन्दहार जिल्लालाई आफ्नो नियन्त्रणमा लिएको छ।
अमेरिकी सेनाले अफगान छाड्ने तयारी गरेसँगै तालिबान समूहले अफगानी सरकारी सेनाविरुद्ध आक्रामक कारबाहीलाई तीव्र बनाएको छ।
काबुल नजिकैको बघराम हवाई मैदान अमेरिकी र नेटो सैनिकले खाली गरेको दुई दिनभित्रै कन्दहार प्रान्तको दक्षिणी पञ्जवाई जिल्लालाई तालिबानीहरुले नियन्त्रणमा लिएका हुन्।
कन्दहार प्रान्तलाई तालिबान समूहले आफ्नो जन्मभूमिका रुपमा लिने गरेको छ। गत मे महिनादेखि नै अफगानका ग्रामीण क्षेत्रहरुलाई तालिबान समूहले आफ्नो नियन्त्रणमा ल्याउने अभियान सफलतापूर्वक सञ्चालन गरिरहेका छन्।
पञ्जवाई जिल्लाका गभर्नर हास्ती मोहम्मदले तालिबान समूह र अफगान सेनाबीच रातभर गोली हानाहान भएको र बिहान अफगान सेनाले जिल्ला छाडेको जानकारी दिए। उनले तालिबान समूहले जिल्ला प्रहरी मुख्यालय र गभर्नरको कार्यालयलाई कब्जामा लिएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।