. Photograph: Andre Coelho/EPA
काठमाडौं- कोरोनाविरुद्धकाे खोप खरिदमा आर्थिक अनियमितता गरेको आरोप लागेका ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोमाथि अनुसन्धान हुने भएकाे छ।
ब्राजिलको सर्वोच्च अदालतले शुक्रबार राष्ट्रपति बोल्सोनारोविरुद्धको भ्रष्टाचार मुद्दामा अनुसन्धानको लागि अनुमति दिएको हाे।
उनकै सरकारले भारतीय कम्पनी बायोटकले विकास गरेको कोरोनाविरुद्धको खोप उच्च मूल्यमा किन्न खोजेको आरोप लागेको छ।
अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार गत फेब्रुअरीमा ब्राजिलले भारत बायोटेकसँग खोप खरिदका लागि ३१ करोड ६० लाख डलरको सम्झौता गरेको थियो। उक्त सम्झौता भारत बायोटेकले भनेकै मूल्यमा गरिएको थियो।
ब्राजिलमा फाइजरले गतवर्ष कोभ्याक्सिनभन्दा पनि कम मूल्यमा खोप दिने प्रस्ताव गरेको थियो। तर, सरकारले फाइजरको प्रस्तावमा उदासीनता देखाएले उक्त सम्झौतामाथि प्रश्न उठेको थियो।
यसपछि बोल्सोनारोमाथि आर्थिक अनियमितता गरेको आरोप लाग्दै आएकाे छ। चर्काे दबाबकै बीच सर्वोच्च अदालतका न्यायाधीश रोसा वेबरले बोल्सोनारोविरुद्ध अनुसन्धान आदेश दिएकी हुन्।
यसअघि कोरोनाको महामारी नियन्त्रणको विषयमा पनि बोल्सोनारोमाथि संसदीय समितिले अनुसन्धान गरेको थियो। अनुसन्धानको क्रममा संसदीय समितिले भारतीय कम्पनीसँग गरिएको २ करोड खोप किन्ने सम्झौतामा भ्रष्टाचार भएको हुन सक्ने शंका व्यक्त गरेकाे थियाे।
उक्त अनुसन्धानले पनि यसमा सहयोग गर्ने अदालतकी न्यायाधीश वेबरले बताएकी छिन्। बोल्सोनारोले भने खोप खरिद सम्झौता प्रक्रियाअनुसार भएको भन्दै आफ्नाे बचाउ गर्दै आएका छन्।
यसैबीच बोल्सोनारोमाथि महाभियोग लगाउन ब्राजिलमा प्रदर्शन भइरहेको छ। हजारौंको संख्यामा मानिसहरुले सडकमा भेला भएर सरकारविरुद्ध प्रदर्शन गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।