काठमाडौं- वेस्ट बैंक क्षेत्रमा इजरायली सेनाले चलाएको गोली लागेर एक प्यालेस्टाइनी युवकको मृत्यु भएको छ।
प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार सेनाले चलाएकाे गाेली लागेर नब्लस सहरमा मोहम्मद फरीद हसन नाम गरेका युवाको मृत्यु भएको हो। उक्त घटनामा थप दुई जना घाइते भएको मन्त्रालयले बताएको छ।
इजरायली सेनाले गोली चलाउँदा हसन आफ्नै घरको छतमा रहेकाे प्यालेस्टायनको आधिकारिक समाचार एजेन्सी वफाले जनाएकाे छ।
गत मे महिनामा दुई पक्षबीचको ११ दिनसम्मको युद्धपछि युद्धविराम सम्झौता भएको थियो। यद्यपि, इजरायल–प्यालेस्टाइन पुनः हिंसा बढेको छ। यता, इजरायलको सेनाले भने नब्लसको दक्षिणी क्षेत्र कुसरा गाउँमा प्यालेस्टाइन र इजरायली नागरिकबीच झडप भएको बताएको छ।
उक्त झडप रोक्न आवश्यक कदम चाल्दै दुवै पक्षलाई छुट्याइएको इजरायली सेनाको दाबी छ।
तर, इजरायलको सेनाले भने उक्त झडपमा कसैको मृत्यु भएको पृष्टि गरेको छैन।
सेनाले आफ्ना एक संदिग्ध व्यक्तिमाथि गोली चलाएको स्वीकार गरेकाे छ। सैनिकमाथि विष्फोटक पदार्थ फ्याँकेकाले गोली चलाउनु परेको सेनाको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।