काठमाडाैं- नेकपा (एमालेले) बाढीपहिरोका कारण विस्थापित भएकाहरूलाई तत्काल सुरक्षित र दिगो पुनर्स्थापना गर्न सरकारसँग आग्रह गरेको छ। पार्टीको शुक्रबार सम्पन्न केन्द्रीय कमिटी बैठकले उक्त आग्रह गर्ने निर्णय गरेको हो।
'यो वर्ष मनसुनको सुरुमै परेको भीषण वर्षाका कारण आएको बाढीपहिरो र डुबानले देशैभरि जनधनको ठूलो क्षति पुर्याएको छ। सिन्धुपाल्चोक, मनाङ, कास्की, लमजुङ, तनहुँ, चितवन, पाल्पा, गुल्मी, बाजुरा, सुर्खेत, दैलेख, कालिकोट, जाजरकोट लगायत जिल्लाहरू बढी प्रभावित भएका छन्। ती जिल्लाहरूमा कैयौंको ज्यान गएको छ, सयौं परिवार घरबारविहीन हुनुभएको छ, पशुपञ्छी एवं चौपायाहरूको मृत्यु भएको छ र मेलम्ची खानेपानी, विभिन्न जलविद्युत् परियोजनाहरू र राष्ट्रिय राजमार्गमा ठूलो क्षति पुगेको छ। यो बैठक प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनुहुने सबैप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछ। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ। पीडितहरूको पीडाप्रति गहिरो सहानुभूति व्यक्त गर्दै विस्थापितहरूलाई तत्काल सुरक्षित र दिगो पुनर्स्थापना गर्न सरकारसँग गम्भीर आग्रह गर्दछ,' बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ।
बैठकले पार्टी स्थापनाको सयौं वर्षगाँठको उपलक्ष्यमा चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव सी चिनफिङ र चिनियाँ कम्युनिस्ट पार्टीलाई बधाइ ज्ञापन गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।