काठमाडौं- नेकपा (एमाले)ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर तीन दिनभित्र फिर्ता लिन आफ्ना नेताहरुलाई निर्देशन दिएको छ।
शुक्रबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको एमाले केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेता मावधकुमार नेपाल पक्षका २३ जना सांसदलाई तीन दिनभित्र हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको हो।
'विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्नु जनताको चाहना, पार्टी अनुशासन र राष्ट्रको आवश्यकतासँग मेल खाने विषय होइन। त्यसकारण सोमबार साँझ ५ बजेसम्म हस्ताक्षर फिर्ता लिएर एकतामा योगदान गर्न आह्वान गरेका छाैं', बैठकपछि एमाले प्रवक्ता प्रदीप ज्ञवालीले भने।
‘यस्तो अनधिकृत हस्ताक्षर हो। बहुदलीय प्रणालीमा दलको निर्णयविपरीत दलका सदस्यले गरेका हस्ताक्षरको कुनै मान्यता हुन नसक्ने, कुनै अर्थ हुन नसक्ने, त्यसको वैधता नहुने सम्वद्ध सबैलाई जानकारी गराउने निर्णय गरेका छौं’, ज्ञवालीले भने।
देउवालाई प्रधानमन्त्री नियुक्तको माग गर्दै सर्वोच्च अदालतमा दायर गरिएको निवेदनमा एमालेका २३ जना सांसदले हस्ताक्षर गरेका छन्। जसमा १५ जना प्रत्यक्ष निर्वाचित र आठ जना समानुपातिक सांसद छन्।
बैठकमा अध्यक्ष ओलीले दुई दिनभित्र हस्ताक्षर फिर्ता लिनुपर्ने नभए पार्टी एकता नहुने बताएका थिए। तर, उपाध्यक्ष गाैतमले दुई दिन समय कम हुने भन्दै थप समय दिन माग गरेका थिए। त्यपछि बैठकले सोमबार साँझ ५ बजेसम्म हस्ताक्षर फिर्ता लिइसक्न निर्देशन दिने निर्णय गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।