फाइल तस्वीर।
काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर सोमबारसम्म फिर्ता नलिए पार्टी एकता नहुने चेतावनी दिएका छन्।
एमालेका माधवकुमार नेपाल पक्षका २३ जना प्रतिनिधि सभा सदस्यले देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गरेका थिए। शुक्रबार बालुवाटारमा बसेको एमाले केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष ओलीले हस्ताक्षर फिर्ताका लागि नेपाल समूहलाई ‘डेडलाइन’ तोकेका हुन्।
'हस्ताक्षर फिर्ता भएन भने पार्टी एकता हुन्न। कांग्रेसको नेतालाई प्रधानमन्त्री बनाउन एमालेका सदस्यलाई छुट छैन। यो कुरा किमार्थ स्वीकार्य छैन। त्यसो गर्नु पार्टी फुटको घोषणा हो', ओलीले भने।
ओलीले सुरुमा दुई दिनभित्र हस्ताक्षर फिर्ता लिनुपर्ने बताएका थिए। तर, बैठकमा सहभागी उपाध्यक्ष वामदेव गाैतमले दुई दिन समय कम हुने भन्दै समय थप्नुपर्ने बताएका थिए। वामदेवको अनुरोधमा ओली सोमबार साँझ ५ बजेसम्म पर्खिन तयार भएका हुन्।
एमालेको केन्द्रीय कमिटी बैठक भोलि ३ बजेसम्मका लागि स्थगित भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।