काठमाडौं– नेपालको कुल जनसंख्यामध्ये ८९ प्रतिशतमा इन्टरनेट सेवाको पहुँचमा पुगेको छ। नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७७/७८ को नौ महिना (गत साउनदेखि चैत मसान्तसम्म) को तथ्यांकअनुसार नेपालमा ८८ दशमलव ९३ प्रतिशत जनताको पहुँचमा इन्टरनेट सेवा पुगेको छ।
प्राधिकरणले नेपालको कुल जनसङ्ख्या दुई करोड ९८ लाख ७६ हजार ५३१ लाई आधार बनाएको छ। प्राधिकरणको तथ्यांकअनुसार चैत महिनासम्म दुई करोड ६८ लाख ८२ हजारभन्दा बढीकोे पहुँचमा इन्टरनेट सेवा पुगेको छ। गत फागुनको तुलनामा चैतमा पाँच लाख २६ हजार बढी प्रयोगकर्ता थपिएको जनाइएको छ।
उक्त तथ्यांकअनुसार सबैभन्दा धेरै योगदान मोबाइल इन्टरनेटको रहेको छ। चैतसम्म मोबाइल इन्टरनेट प्रयोगकर्ताको हिस्सा ६५ दशमलव ३९ प्रतिशत छ। एक करोड १७ लाख ६० हजारभन्दा बढीको पहुँचमा थ्रिजी इन्टरनेट पुगेको छ।
त्यसमा सबैभन्दा धेरै नेपाल टेलिकमको ९३ लाख ३५ हजार र एनसेलको २४ लाख २५ हजार रहेको जनाइएको छ।त्यस्तै, फोरजीका प्रयोगकर्ता ७८ लाख ७१ हजार ५५५ पुगेका छन्। फोरजी प्रयोगकर्ता भने एनसेलका धेरै रहेका छन्। नौ महिनामा एनसेल कम्पनीका फोरजीका ग्राहक ५० लाख १७ हजार १७० पुगेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।