डिसी- अमेरिकी राष्ट्रपति जो वाइडेनले अफगान जनताले ‘आफ्नो भविष्य आफैंले निर्धारण’ गर्नुपर्ने बताएका छन्। शुक्रबार ह्वाइट हाउसमा भएको भेटमा वाइडेनले समकक्षी अशरफ घनीलाई उक्त कुरा बताएका हुन्।
राष्ट्रपति घनी आफ्नो पुराना साथी भएको भन्दै उनले अमेरिकाले अफगानिस्तानलाई राजनीतिक र आर्थिक सहयोग गर्ने आश्वासन दिए। यस्तै, अमेरिका- अफगानको सम्बन्ध कहिल्यै कमजोर नहुने पनि वाइडेनले बताए।
अमेरिकाले आफ्ना गठबन्धनको सेना जुलाईको अन्तिम साता वा त्यसपछि अफगानिस्तानबाट फर्किने बताएको छ। पछिल्लो समय अमेरिकाले चीन र रुसबाट धेरै चुनौती उत्पन्न भएको भन्दै अन्य क्षेत्रमा आफ्नो सैन्य मिसन अन्त्य गर्ने निर्णय गरेको हो।
अमेरिका र नेटाका सदस्य राष्ट्रहरुले आउँदो सेप्टेम्बर ११ सम्ममा अफगानिस्तानबाट सैनिक फिर्ता लैजाने तयारी गरेका छन् र त्यसमा उनीहरु प्रतिवद्ध रहेको बताउँदै आएका छन्।
यद्यपि, अफगानिस्तानमा आगामी सेप्टेम्बरपछि पनि ६५० अमेरिकी सैनिक बस्ने भएका छन्। समाचार एजेन्सी एपीका अनुसार कूटनीतिक अधिकारीको सुरक्षाको लागि उक्त संख्यामा अमेरिकी सैनिक अफगानिस्तानमा रहने भएका हुन्।
‘हाम्रा सेनाहरू निश्चित रूपमा अफगानिस्तान छोड्दैछन्। तर, अफगानिस्तानका लागि हाम्रो सहयोग कहिल्यै अन्त हुँदैन,’ वाइडेनले भने, ‘अफगानिस्तानले कुन बाटो जाने छनोट गर्नुपर्छ। तर, यो हिंसा रोकिनु पर्छ। अन्यथा भविष्यमा ठूला समस्याहरू देखा पर्नेछन्।’
पछिल्लो केही समययता निरन्तर अमेरिकाको गठबन्धनमा आबद्ध मुलुकले अफगानिस्तानबाट आफ्ना सैनिक फिर्ता गरिरहेका छन्। यसैबीच अफगानिस्तानमा विद्रोही तालिबानले पनि आफ्नो कब्जा बढाउँदै लगेको छ।
तालिबानले मंगलबार मात्रै ताजकिस्तानसँगको प्रमुख सीमामा पनि नियन्त्रण कायम गरेको अधिकारीहरुले बताएका छन्। कुन्दुज प्रान्तको सो शिर खान बन्दरगाह कब्जा गरेको छ।
तालिबान बिद्रोहीले राज्यको राजधानीबाहेक सबै क्षेत्रमा आफ्नो नियन्त्रण रहेको बताएका छन्। स्थानीय सञ्चारमाध्यमहरुले पनि तालिबानले आफ्नो पकड बिस्तार गर्दै लगेको उल्लेख गरेका छन्। यद्यपि, राष्ट्रसंघले अफगानिस्तानमा पुनः हिंसा र अस्थिरताको जोखिम बढेको भन्दै चिन्ता व्यक्त गरेको छ।
राष्ट्रपति घनीले अमेरिकी प्रशासनले आफ्नो सेना फिर्ता लिने निर्णयको स्वागत गरेका छन्।
‘अफगान सुरक्षा बलले छ वटा जिल्ला कब्जा गरेको छ। जुन तालिवानले कब्जा गर्न खोजेका थिए। दृढ संकल्प, एकता र साझेदारीमा हामी सबै अवरोध पार गरेकाे तपाईंले देख्नु हुनेछ,’ उनले भने।
गएको मे यता अफगानिस्तानका ३७० जिल्ला मध्ये ५० जिल्लामा तालिबान बिद्रोहीले हिंसात्मक आक्रमण गरेको राष्ट्रसंघका विशेष दूत डेबरा लायन्सले सुरक्षा परिषद्लाई जानकारी दिएकी छिन्।
तालिबानले हाल नियन्त्रण कायम गरेका जिल्लाहरु क्षेत्रीय राजधानी वरपरका रहेको र विदेशी सैनिक फिर्ता गए लगत्तै ती राजधानीहरुमा नियन्त्रण कायम गर्ने लक्ष्य तालिबानको हुन सक्ने उनको भनाइ छ।
यता, अमेरिकी रक्षा मन्त्रालयका प्रवक्ता जोन किर्बीले तालिबानका गतिविधिहरुले सैनिक फिर्ता बोलाउने अभियानमा कुनै प्रभाव नपर्ने बताएका छन्। तर, उनले वर्तमान अवस्थाबारे निगरानी भइरहेको जानकारी दिएका छन्।
अफगानिस्तानका राष्ट्रपति अशरफ घनीसँग सरकारका मुख्य कार्यकारी अधिकारी अब्दुल्ला अब्दुल्ला पनि दुई दिनको अमेरिका भ्रमणमा छन्। त्यहाँ दुबैले अमेरिकी कांग्रेसका सदस्यहरू, सीआईएका अधिकारीहरू र अमेरिकी रक्षा मन्त्रालयका अधिकारीहरूसँग भेट गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।