काठमाडाैं- सञ्चार तथा सूचना प्रविधिमन्त्री वसन्तकुमार नेम्वाङले सूचना प्रविधिको क्षेत्रलाई व्यवस्थित बनाउनुपर्ने जरुरी रहेको बताएका छन्।
शुक्रबार मन्त्रालयमा आफ्नो जिम्मेवारी सम्हाल्दै मन्त्री नेम्वाङले सूचना तथा सञ्चार प्रविधिको क्षेत्रलाई व्यवस्थित बनाउँदै आवश्यक नियमन गर्नुपर्ने बताएका हुन्। उनले दुर्गम क्षेत्रमा सञ्चार सेवा पुर्याउनुपर्ने र सरकारले सुरु गरेका सञ्चारसम्बन्धी कामलाई पूर्णता दिनुपर्ने पनि उनले बताए।
मन्त्री नेम्वाङले नागरिकलाई सही सूचना सम्प्रेषण गर्नुपर्नेमा जोड दिए। उनले भने, ‘हामीले प्रविधिहरुलाई व्यवस्थित ढंगले तलतल पुर्याउन जरुरी छ। टेलिफोन र सूचनाका सेवाहरुलाई सही ढंगले प्रसारित गर्न र व्यवस्थित गर्न जरुरी छ। त्यसलाई नियमन गर्नु जरुरी छ। सही सूचना नागरिकलाई सम्प्रेषण गर्नु जरुरी छ।'
डिजिटल नेपाल फ्रेमवर्कको कुरालाई एउटा प्याकेजमा पूरा गर्न जरुरी रहेको उनले बताए। 'एप्सहरुलाई डिजिटलाइज गरेर सबैलाई एकीकृत रुपले, केन्द्रीकृत रुपले सञ्चालन गर्न सुरुआत गरेका छौँ। त्यसलाई पूर्णता दिन जरुरी छ,' उनले भने।
मन्त्री नेम्वाङले जनतालाई शान्ति, सुरक्षा दिलाउने, जनताको जिउधन र हक अधिकारलाई व्यवस्थित गर्ने र सूचना प्रविधिमैत्री बनाएर मुलुकलाई उच्च खालको नागरिकमा रुपान्तरण गर्ने अभियानमा एक इन्च पनि तलमाथि नपरी दृढ विश्वासको साथ पूरा गरेर छाड्ने पनि बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।