काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ ७ गते मध्यरातमा प्रतिनिधि सभा विघटनको सिफारिस गरेपछि ८ गते विपक्षी दलहरुको बैठकले त्यसका विरुद्ध राजनीतिक र कानुनी रुपमा प्रतिवाद गर्ने निर्णय गरे। त्यसयता विपक्षी गठबन्धनमा आबद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एमाले (माधव नेपाल पक्ष), जनता समाजावादी पार्टी (उपेन्द्र यादव पक्ष) र राष्ट्रिय जनमोर्चाले पाँच पटक वक्तव्य जारी गरेर प्रतिनिधि सभा विघटन गर्ने लगायतका सरकारका अन्य निर्णयहरुको आलोचना गरिरहेका थिए। तर, अब भने उनीहरु आन्दोलनतिर अग्रसर भएका छन्।
बुधबार कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा बसेको विपक्षी गठबन्धनको बैठकले अब प्रधानमन्त्री ओलीका विरुद्ध आन्दोलनमा जाने निर्णय गरेको हो। आन्दोलनको खाका तयार गर्न उनीहरुले कार्यदल समेत बनाएको र उसले तयार पारेको खेस्रालाई शीर्ष नेताको बैठकले अनुमोदन गर्ने बताइएको छ। आन्दोलन सडक केन्द्रित नै हुने नेताहरुको भनाइ छ। आफ्ना आगामी कार्यक्रमका बारेमा छलफल गर्ने उद्देश्यले बिहीबार गठबन्धन आबद्ध दलहरुले सम्पादकहरुसँग पनि छलफल गरेका छन्।
पुस ५ मा प्रतिनिधि सभा विघटन भएपछि त्यसका विरुद्धमा रहेका दलहरु तत्कालै आन्दोलित भएका थिए। सडकमा दैनिकजसो विरोध प्रदर्शनका कार्यक्रम आयोजना गरिएका थिए। प्रतिनिधि सभा विघटनको विपक्षमा रहेका दलहरु मात्रै होइन, तत्कालीन नेकपाको ओलीले नेतृत्व गरेको समूहले पनि सामर्थ्यले भ्याएसम्म देशैभरि प्रदर्शन गर्यो। प्रधानमन्त्री नै सडकमा उत्रिएर ठूलाठूला सभाहरुलाई सम्बोधन गरे। तर, जेठ ७ पछि सडक शान्त नै रह्यो। विपक्षी दलका विद्यार्थी संगठन र अन्य भातृ संगठन यदाकदा सडकमा उत्रिए पनि माउ पार्टीहरुले भने त्यस खालका कार्यक्रम आयोजना गरेनन्। हुन त, यसपटक निषेधाज्ञाकै बीच ओलीले प्रतिनिधि सभा विघटन गर्ने कदम चालेका थिए। तर, विपक्षी गठबन्धन त्यति मात्रै कारणले सडकमा नउत्रिएको हो भन्न सकिने आधार छैन।
एक महिनासम्म शान्त रहेको विपक्षी गठबन्धन यतिबेला किन सडकतिर लम्किन थालेको? कोरोना महामारी कम हुँदै गएकाले अब आन्दोलन गर्न सम्भव हुन्छ भन्ने निष्कर्षमा पुगेकाले हो वा अन्य केही कारण पनि छन्? केही नेताहरुसँग छलफलपछि प्राप्त निष्कर्षहरु यस्ता छन् :
‘फागुन २३’ जस्तै नहोस्
२०७७ पुस ५ गते प्रतिनिधि सभा विघटन भएपछि त्यसका विरुद्ध ठूलो संघर्ष भयो। त्यसले सफलता पनि पायो। फागुन ११ मा सर्वोच्च अदालतले प्रधानमन्त्रीको कदमलाई बदर गरिदियो। प्रधानमन्त्रीको कदमको विपक्षमा रहेका अन्य पक्ष उत्साहित हुनु त स्वभाविकै भइहाल्यो। तत्कालीन नेकपाका पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल पक्ष झन् बढी खुसी भए। किनकी, तत्कालीन समीकरण अनुसार नेकपामा उनीहरुको कब्जा सम्भव हुने परिस्थिति निर्माण भएको थियो। प्रचण्डको भाषामा फैसलापछि उनीहरु ‘रिल्याक्स’ गर्न थाले।
तर, ‘रिल्याक्स’ लामो समय चलेन। फागुन २३ गते सर्वोच्च अदालतले नेकपाको नाम विवादमा प्रचण्ड-नेपाल पक्षलाई अप्रत्यासित हुने खालको फैसला सुनायो। उसले नेकपा नाममा ऋषि कट्टेलको स्वामित्व मात्रै स्थापित गरिदिएन कि, एमाले र माओवादी केन्द्रको एकतालाई नै भंग गरिदियो। 'ओली छटपटिइरहेका थिए। हामीचाहिँ ठूलो लडाइँ जितियो भनेर 'रिल्याक्स' अवस्थामा थियौं। त्यही बेलामा सर्वोच्चले पार्टी फुटाइदियो। हामीलाई टाउकोमा हानेको जस्तो भएको छ', प्रचण्डले चैत ५ गते सिन्धुलीमा आयोजित एक कार्यक्रममा भनेका थिए। आफूहरुले प्रतिनिधि सभा विघटन गरिएपछिको अवस्थामा राम्रोसँग रणनीति बनाउन नसक्दा ठूलो क्षति व्यहोर्नुपरेको आशय प्रचण्डले त्यसयता दोहोर्यारहेका छन्।
अहिले पनि सर्वोच्च अदालतको एकपछि अर्को प्रहार खेपिरहेका प्रधानमन्त्री ओली कमजोर देखिन्छन्। सर्वोच्चको आदेशहरुले भने विपक्षी गठबन्धनलाई उत्साहित बनाउँदै लगेको छ। यस्तै अवस्थामा प्रतिनिधि सभा विघटनसम्बन्धमा अनपेक्षित फैसला आउने हो कि भन्नेमा उनीहरु कतै न कतै त्रासमा देखिन्छन्। किनकी, प्रतिनिधि सभालाई स्वभाविक विघटन गराएको नभइ ‘ग्रान्ड डिजाइन’को मतियार भएकोमा विपक्षी गठबन्धनका दलहरु सहमत छन्। त्यसैले सर्वोच्चको फैसला आउने दिन नजिकिँदै जाँदा आफ्नो गतिविधि बढाउँदै जानुपर्ने आवश्यक बोध गरेका हुनसक्छन्।
माधव नेपाललाई ‘इंगेज’ गर्न
गठबन्धनको एक खम्बा हो, नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल पक्ष। उनी ओलीको कदमप्रति आक्रामक हुँदै विपक्षी गठबन्धनमा उभिएका हुन्। तर, उनको पक्षधरता आफैंमा जटिल विषय पनि हो। किनकी, नेकपा एमालेका दुवै पक्षमा रहेका केही नेताहरु पार्टी एकताको प्रयासमा छन्। त्यसका लागि केही दिन बिराएर छलफल गर्ने मात्रै होइन, सहमतिका अनेक उपाय पहिल्याइरहेका छन्। कतिपय नेताहरुको भनाइ पत्याउने हो भने केही दिनमै एमाले एकताको सुखान्त प्राप्त हुन्छ। यद्यपि, विभाजन निश्चित भइसकेको भन्ने नेताहरु पनि नभएका होइनन्।




पार्टी एकताका सन्दर्भमा निराश भइसकेका नेपालका केही शर्तहरुको मन्थन भने चलिरहेको छ। यति नै बेला ओली सबैजसो मोर्चामा कमजोर बन्दै गएका छन्। त्यसैले अन्य क्षेत्रमा भइरहेको घाटालाई व्यवस्थापन गर्न उनले पार्टी एकताका लागि थप लचिलो बन्ने र ‘बोल्ड’ निर्णय लिने सम्भावना टरिसकेको छैन। अहिलेको अवस्थामा एमालेलाई जेठ २ को अवस्थामा फर्काउन र आफ्नो पद गुम्ने निश्चित भइसकेको अवस्थामा माधव नेपाललाई नै वा उनले पनि रुचाउने पार्टीकै अन्य नेतालाई प्रधानमन्त्रीमा प्रस्ताव गर्न ओली तयार हुनसक्छन्। एमालेका नेताहरुको यसबीचको छलफलले त्यो सम्भावना पनि देखाउँछ।
माधव नेपाल एमाले एकताकै पक्षमा उभिनु विपक्षी गठबन्धनलाई क्षतिको विषय हो। त्यस्तो अवस्थामा गठबन्धनको केही महिनायताको प्रयास नै हास्यको विषय बन्न पुग्छ। किनकी, देउवालाई अर्को पार्टीका सांसद्हरुको हस्ताक्षर जुटाएर प्रधानमन्त्री बन्न खोजेको आरोप लाग्दै आएको छ। त्यसैले संघर्षको कार्यक्रम आयोजना भयो भने माधव नेपाल त्यसका इंगेज हुने र प्रतिबद्ध हुँदै जाने सम्भावना रहन्छ।
जनतासँग थप संवाद
प्रतिनिधि सभाको दोस्रो पटक विघटन भएपछि विपक्षी गठबन्धनका तर्फबाट पाँच पटक वक्तव्य सार्वजनिक भएको छ। साथै, गठबन्धनमै रहेका दलसँग सम्बन्धित पाँच पूर्वप्रधानमन्त्रीको तर्फबाट एउटा वक्तव्य सार्वजनिक भएको छ। त्यसका अतिरिक्त मिडियामार्फत् पनि उनीहरुले आफ्नो कुरा राखिरहेका छन्। तर, राजनीतिमा आफ्ना कुरा आमसभाहरुमार्फत् प्रत्यक्ष भन्ने कुराको ठूलो अर्थ हुन्छ। त्यसले आफ्नो मुद्दामा आम मानिसको समर्थनको दायराको जानकारी त दिन्छ नै, त्यसबारेको छलफललाई पनि विस्तारित गर्छ। समाचार र टिप्पणीहरु पनि विस्तारित हुन्छ।
आफ्नो पक्षमा ठूलो जनसमर्थन भएको दाबी गरेका भए पनि निषेधाज्ञाका कारण विपक्षी गठबन्धनले त्यसको खास स्वरुप पहिल्याउन सकेका छैनन्। गत जेठ २८ गते सभामुख अग्निप्रसाद सापकोटाले आयोजना गरेको सर्वदलीय छलफलमा नेताहरुले निषेधाज्ञा नभएको भए आफ्नो सडक प्रदर्शनको सम्भावित आकारको आकलन गरेका थिए। कांग्रेस सभापति शेरबहादुर देउवाको भनाइ थियो- ‘अहिले कोभिडका कारण सडकमा आन्दोलन गर्ने परिस्थिति छैन। तर, सामान्य अवस्था हुँदा काठमाडौंलगायतका सडक खालि नहुने अवस्था आउँथ्यो।' सोही कार्यक्रममा माधवकुमार नेपालको भनाइ थियो- कोरोना नभएको भए पुष ५ को भन्दा दोब्बर जनता सडकमा हुन्थे।‘
यो पनि पढ्नुहोस्
आन्दोलन गर्ने भनिएको भएपनि त्यसको स्वरुप कस्तो भन्ने स्पष्ट छैन। महामारीको बेलामा दलहरुले ठूला सभाहरु गर्ने सम्भावना अहिले देखिँदैन। तर, उनीहरु कुनै न कुनै किसिमले जनतासँग थप संवाद गर्न भने चाहिरहेका छन् भन्ने देखिन्छ।
कमजोर ओलीमाथि थप प्रहार
सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एकपछि अप्ठ्यारो थपिदिएको छ। पार्टीभित्रका आन्तरिक निर्णय मात्रै होइन, प्रधानमन्त्रीका रुपमा चालेका महत्त्वपूर्ण निर्णयहरुमा पनि अदालतले एकपछि अर्को धक्का दिएका ओली अहिले नेपाली राजनीतिका सर्वाधिक निरीह पात्र हुन्। उनको निरीहता पछिल्लो समयको मौनताले पनि पुष्टि गर्दै गएको छ।
गैरसांसद्का रुपमा रामबहादुर थापा ‘बादल’ लगायतलाई दोस्रोपटक मन्त्री बनाउने निर्णय, नागरिकता सम्बन्धी अध्यादेश, ढुंगा, गिट्टी बालुवा निकासी गर्ने निर्णय, राजदूतहरुको शैक्षिक योग्यतासम्बन्धी नयाँ व्यवस्था, निश्चित समूहलाई फाइदा पुग्ने गरि राष्ट्रिय निकुञ्ज सुम्पने निर्णय, ठूलो संख्यामा गरिएको मन्त्रिपरिषद् हेरफेरजस्ता विषयमा सर्वोच्चबाट पछिल्ला केही हप्तामा आएका आदेशले प्रधानमन्त्री ओलीमाथि अनेक नैतिक प्रश्न उठिसकेको छ। पार्टीभित्रको विभाजित अवस्थाले पनि उनलाई विपक्षीहरुका विरुद्ध र आफ्ना निर्णयहरुको पक्षमा उभिन असहज छ।
कमजोर भइरहेका तर आफ्नो दृढतामा अडिग रहेका ओलीका विरुद्ध थप संघर्ष गर्ने र उनलाई सम्पूर्ण रुपमा पराजित गर्ने समय आएको विपक्षी गठबन्धनको मनशाय देखिन्छ। ओलीका प्रत्येक जसो चर्चित निर्णयलाई प्रतिगमनको रुपमा व्याख्या गर्दै आएका उनीहरुले त्यस विरुद्धको लडाइँलाई निर्णायक बनाउनका लागि अहिलेको समय उपयुक्त हुने ठानेका छन्। बुधबार मात्रै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले वक्तव्य सार्वजनिक गर्दै भनेका छन्- ओलीको बहिर्गमन नै अहिलेको राजनीतिको मुख्य कार्य हो । त्यसका लागि संयुक्त संघर्षलाई अगाडि बढाउनुपर्ने आवश्यकता छ।
गठबन्धनलाई अझ एकताबद्ध राख्न
गत जेठ ७ गतेबाट विपक्षी गठबन्धनले संयुक्त गतिविधि गर्दै आएको हो। त्यसदिन उनीहरुले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई प्रस्तावित गरेका थिए। गठबन्धनका प्रमुख नेताहरु देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गर्न राष्ट्रपति कार्यालय शीतल निवासमै पुगेका थिए। तर, राष्ट्रपतिले देउवा र ओली दुवैको दाबीलाई अस्वीकार गरेपछि प्रतिनिधि सभालाई विघटन गरिएको थियो।
प्रतिनिधि सभा विघटन गर्ने कदमको विरुद्ध ८ गते नै विपक्षी गठबन्धनको बैठक बसेर विरोध जनायो। संयुक्त वक्तव्य सार्वजनिक भयो। देशको सकसपूर्ण अवस्थामा देखिने दलीय एकता यतिबेला देखिएको छ। उनीहरुले मुख्य राजनीतिक विषयका अतिरिक्त अन्य जनसरोकारका विषयहरुलाई समेत प्राथमिकता दिएर वक्तव्य सार्वजनिक गरिरहेका छन्।
गठबन्धनका नेताहरुले चुनाव प्रधानमन्त्री ओलीबाट संविधान, लोकतन्त्र तथा पछिल्लो समयमा प्राप्त कैयौँ राजनीतिक उपलब्धिमाथि खतरा रहेको बताउँदै आएका छन्। त्यसका लागि ती उपलब्धिका पक्षधर शक्तिहरु अझै केही समयसम्म एकताबद्ध रहनुपर्नेमा जोड दिइरहेका छन्। केही नेताहरुले त गठबन्धन कम्तीमा आगामी चुनावसम्म कायम रहने बताउँछन्। ‘वामपन्थी डेमोक्रेट अलाइन्स लामो समय लिएर जानुपर्छ। संसद पुनःस्थापना भएपछि मूर्त रुपमा निर्वाचनदेखि सरकारसम्म यो अलाइन्स जानेछ। यो लामो समय सहकार्य गर्नेछ’, जसपा नेता महेन्द्र राय यादवको भनाइ छ।
यतिबेला बाह्य चलखेल बढेको कुरा पूर्वप्रधानमन्त्रीहरुको संयुक्त वक्तव्यले पनि संकेत गर्छ। जसपाका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भटट्टराईले पनि यो कुरालाई जोडतोडका साथ उठाइरहेका छन्। यस्तो अवस्थामा एक्लाएक्लै रहनु वा कमजोर गठबन्धन बनाउनु थप जोखिम हुने दलहरुको बुझाइ छ। त्यसैले उनीहरु संयुक्त संघर्षका कार्यक्रममार्फत् त्यसलाई थप एकताबद्ध बनाउन चाहन्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।