काठमाडाैं- ट्विटरले चार वर्षपछि पुन: एकाउन्ट भेरिफिकेसन प्रक्रिया सुरु गरेको छ। ट्विटरले सन् २०१७ देखि रोकेको भेरिफिकेसन प्रक्रिया तथा आवेदन मूल्यांकन फेरि सुरु गर्न लागेकाे हाे।
अहिले सीमित विधाका प्रयोगकर्ताहरुलाई मात्रै ट्विटरले भेरिफिकेसनको सुविधा दिएको छ। यसअघिको नीतिलाई फेर्दै ट्विटरले गत डिसेम्बरमा मात्रै भेरिफिकेसन सम्बन्धि नयाँ नीति ल्याएको थियो।
यही नीतिअनुसार केही हप्ताभित्र एकाउन्ट सेटिङमा भेरिफिकेसन आवेदनको ट्याब देखिने ट्विटरले जनाएको छ। भेरिफिकेसन गर्न ६ वटा विभिन्न विधाका प्रयोगकर्ता हुनु जरुरी हुन्छ।
ट्विटरका अनुसार सरकारी निकायसँगै समाजका प्रतिष्ठित एवम् प्रभाव पार्ने कुनैपनि कम्पनी तथा संस्था, ब्राण्ड, सञ्चारमाध्यम र पत्रकार, मनोरञ्जन, खेलकुद, अभियन्ता, आयोजकलगायतकाको ट्विटर खातालाई भेरिफिकेसन दिइने छ।
भेरिफिकेसन सफल भए निलो ब्याज देखिने छ।
यद्यपि, प्रयोगकर्ताको पहिचान खुल्ने गरी सरकारी निकायले जारी गरेको परिचयपत्र, आधिकारिक इमेल वा आधिकारिक वेबसाइट लिंककाे रिफ्रेन्स दिनुपर्छ।
प्रयोगकर्ताले आवेदन बुझाएको केही दिनमा ट्विटरले इमेल गर्नेछ। प्रयोगकर्ताले बुझाएको आवेदनको सम्पूर्ण मूल्यांकन गरेपछि ट्विटरले खाता भेरिफाइ गर्ने/नगर्ने निर्णय लिनेछ।
यदि असफल भएमा पुन: ३० दिन पछि भेरिफिकेसन प्रक्रियाका लागि आवेदन दिन सकिने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।