न्यूयाेर्क- एक रसियन ह्याकिंग समूहले एप्पल कम्पनीसँग ६ अर्ब फिरौती माग गरेको छ। एप्पलका आसन्न प्रडक्टहरु सम्बन्धी निकै संवेदनशील डाटा ह्याक गरे फिरौती माग्ने रुसी ह्याकर समूहको नाम रेभिल हो।
आगामी मे १ अगाडिसम्म एप्पल वा क्वान्टा कम्पनीबाट ५ करोड डलर रकम फिरौती नपाएसम्म दिनहुँ एप्पलका नयाँनयाँ डाटा सार्वजनिक गर्दै जाने रेभिलले चेतावनी दिएको छ। ह्याकर समूहले पैसाका लागि एप्पललाई ब्लाकमेल गरिरहेको बताइन्छ।
कम्पनी तथा आफ्ना प्रयोगकर्ताको सुरक्षाका लागि निकै संवेदनशील मानिने एप्पलसँग ह्याकरहरुले यतिधेरै फिरौती माग्नुलाई साइबर विज्ञहरुले निकै गम्भीर रुपमा लिएका छन्।
एप्पलले मंगलबार आयोजना गरेको वसन्तकालीन समारोह अगाडि नै उक्त घटना भएको बताइएकाे छ। ह्याकर समूहले एप्पलका भविष्यका प्रडक्टहरुसँग सम्बन्धित डाटा लिक गरिदिएको दाबी गरेको छ।
ह्याकिंग समूहलाई म्याकबुक तथा एप्पलका अन्य प्रडक्टहरुको उत्पादकबाट ती डाटाहरु प्राप्त भएका थिए।
ह्याकरहरुले सबैभन्दा पहिले ताइबानस्थित क्वान्टा कम्पनीलाई निसाना बनाएकाे बताइएकाे छ। तर, क्वान्टालाई ह्याक गर्न नसकेपछि उक्त समूहले सबैभन्दा ठूलो ग्राहकको रुपमा रहेको एप्पल कम्पनीमाथि साइबर आक्रमण गरेकाे खुलेकाे छ।
डार्क वेब पोर्टलमा राखेको एक सन्देशमा ह्याकरहरुले यस विषयमा खुलासा गरेका छन्।
एप्पलमाथि दबाब बढाउनका लागि रेभिलले ह्याक गरेका एप्पल प्रडक्टसँग सम्बन्धित डाटाहरुको तस्वीर पोष्ट गर्न सुरु गरेको थियो। त्यसमा कूल २१ वटा स्क्रिनशट थिए, जसमा हालै रिलिज भएको नयाँ आइम्याकका बारेमा पनि विभिन्न जानकारीहरु थिए।
आइम्याकका अलावा ह्याकरले एम वान म्याकबुक एरको डिजाइन पनि लिक गरेका छन्। साथै, एप्पलले सार्वजनिक गरिनसकेको ल्यापटपको तस्वीर पनि लिक भएकाे छ।
स्क्रिनशट खोल्नेबित्तिकै डिस्प्ले चेतावनी पनि देख्न सकिन्छ। जसमा लेखिएको छ- 'यी एप्पलका सम्पत्ति हुन् र तुरुन्त फिर्ता गर्नुपर्दछ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।