काठमाडौं- नेपालमा फोरजी सेवा लिनेको संख्या ७० लाख नाघेको छ। नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार नेपालमा माघ महिनासम्ममा फोरजी सेवा लिनेको संख्या ७० लाख ९२ हजार ८ सय ५ पुगेको हो। विभिन्न दूरसञ्चार कम्पनीले फोरजी सेवा विस्तारलाई तीब्रता दिँदै आएका छन्।
पुससम्मका फोरजी सेवा लिनको संख्या ६६ लाख ८९ हजार १ सय ३ थियो। तर, माघ महिनामा ४ लाख भन्दा बढी फोरजी सेवा लिनेको संख्या थपिएको छ।
अहिले नेपाल टेलिकम, एनसेल, स्मार्ट टेलिकमले फोरजी सेवा सञ्चालन गरिरहेका छन्।
जसमा सबै भन्दा बढी फोरजी सेवा लिने ग्राहक एनसेलका छन्। एनसलेको फोरजी सेवा लिने ग्राहक संख्या ४३ लाख २५ हजार ९ सय ३६ पुगेको छ। माघ महिनामै एनसेलले २ लाख ३९ हजार ७ सय ९७ ग्राहक बढाएको हो।
पुस महिनासम्म एनसेलको फोरजी सेवाग्राही ४० लाख ८६ हजार १ सय ३९ थियो। यसैगरी, माघसम्ममा नेपाल टेलिकमको फोरजी सेवा लिने सेवाग्राहीको संख्या २५ लाख ४४ हजार ७ सय २४ पुगेको छ। पुस महिनासम्ममा टेलिकमको फोरजी सेवा लिने सेवाग्राही संख्या २३ लाख ८३ हजार २ सय ५६ थियो।
यसैगरी, स्मार्ट टेलिकमको फोरजी सेवा लिनको संख्या पनि २ लाख २२ हजार १ सय ४५ पुगेको छ। कुल संख्याको आधारमा एनसेलको बजार हिसा ६१ प्रतिशत, नेपाल टेलिकमको ३५ दशमलव ९ प्रतिशत र स्मार्टको ३ दशमलव १ प्रतिशत रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।