काठमाडाैं- सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले दूरसञ्चार सेवा सम्बन्धमा परेका गुनासाहरुको अन्त्य गरिने बताएका छन्।
बिहीबार मन्त्रालयले आयोजना गरेको दूरसञ्चार सेवाको पहुँच, प्रवाह तथा गुणस्तरसम्बन्धी अन्तरक्रियामा बोल्दै मन्त्री गुरुङले दूरसञ्चार सेवासम्बन्धी समस्याहरुको समाधान गर्दै गुनासाहरुको अन्त्य गरिने बताएका हुन्।
आफ्नो क्षेत्रमा टावर नपुगेको, इन्टरनेट सेवा नपुगेको लगायतका समस्याहरु बोकेर सांसदहरु नै मन्त्रालय धाइरहनुपर्ने अवस्था रहेको भन्दै मन्त्री गुरुङले त्यस्ता समस्याहरु सधैँका लागि अन्त्य गरिने बताए। गुनासो समाधानका लागि दूरसञ्चारसम्बन्धी सबै सरोकारवाला एकै ठाउँमा बसेर समीक्षा गर्नुपर्ने मन्त्री गुरुङको भनाइ थियो।
'जनताबाट प्रत्यक्ष निर्वाचित माननीयज्यूहरुको नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, सञ्चार मन्त्रालय, सेवा प्रदायक र प्राविधिकहरु सबैले संयुक्त बसेर समीक्षा गरौँ,' उनले भने, 'सेवा त पुगेको छ। हामीले काम त गरेका छौँ। हाम्रा बजेटहरु पनि कार्यान्वयन भएको छ। तर त्यो कामले जनताकोबीचमा, प्रत्यक्ष सेवा प्रदायककाबीचमा त्यो सेवा पुगेको हो कि होइन, सेवा गुणस्तर छ कि छैन यसको प्रत्यक्ष सार्वजनिक रुपमा समीक्षा गरेर सार्वजनिक सुनुवाइ पनि गरौँ।'
उनले सांसदहरुले पटक-पटक गर्दै आएको गुनासो अन्त्य गर्न सबै लाग्नुपर्ने बताए। 'बेला-बेलामा यो गाउँमा टावर पुगेन, यहाँ हाम्रो इन्टरनेट सेवा पुगेन र हामीलाई दूरसञ्चार सेवाको गुणस्तर भएन भन्ने माननीयज्यूहरुको गुनासो पनि रहिरहने। यो गुनासो निरन्तर भइराख्ने, माननीयज्यूहरु जहिले पनि गुनासो बोकेर मन्त्रालयमा धाइरहनुपर्ने यस्तो परिस्थितिको अन्त्य गरौँ,’ मन्त्री गुरुङले भने।
उनले टावर निर्माणका लागि ठेक्का भएर पनि काम हुन नसकेको ठाउँको समीक्षा गरिने बताए। टावर बनाउनुपर्ने आवश्यकता रहेको ठाउँमा टावर स्थापनाका लागि योजना बनाउने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।