काठमाडौं– देशैभर उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट पुर्याउने लक्ष्यसहित नेपाल दूरसञ्चार प्राधिकरणले अघि बढाएका १८ परियोजनाको झन्डै ७५ प्रतिशतभन्दा बढी प्रगति भएकाे जनाइएको छ। जसमा ५ हजार २ सय २५ माध्यमिक विद्यालयमा ब्रोडब्याण्ड इन्टरनेट सेवा पुगको प्राधिकरणको भनाइ छ।
फागुन मसान्तसम्म ग्रामीण दूरसञ्चार विकास कोषबाट सञ्चालित परियोजना अन्तर्गत ब्रोडब्यान्ड सेवा उपलब्ध गराउने १८ वटा प्याकेजमध्ये १३ वटा प्याकेजमार्फत ५० जिल्लाका तोकिए बमोजिमका स्थानहरुमचा सत प्रतिशत र दुई वटा प्याकेजमार्फत १० जिल्लामा तोकिए बमोजिममा स्थानमा ५० प्रतिशत भन्दा बढी काम सम्पन्न भएको प्राधिकरणको दाबी छ।
साथै ३ वटा प्याकेजमार्फत १४ जिल्लाका लागि तोकिए बमोजिमका स्थानमा नेटवर्क तथा कनेक्टिभिटी जडानका लागि सेवा प्रदायक छनाेट भई निर्माण काम भइरहेको प्राधिकरणले जारी गरेको प्रगति विवरणमा उल्लेख छ।
प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषको रकम प्रयोग गरी ब्रोडब्यान्ड इन्टरनेट सेवा उपलब्ध गराउनेसम्बन्धी परियोजनालाई १८ वटा प्याकेज बनाएर सञ्चालन गरेको थियो। प्राधिकरणका अनुसार १८ प्याकेजमध्ये हालसम्म १५ हजार ९ सय ८२ स्थानमा इन्टरनेट जडान सम्पन्न भएको छ।
हालसम्म ७०२ स्थानीय तह, ५ हजार ९३३ वडा कार्यालय तथा ५ हजार २ सय २५ माध्यमिक विद्यालय तथा ४ हजार १२२ स्वास्थ्य संस्था रहेका छन्। प्राधिकरणले हालसम्म २ अर्ब ९८ करोड रुपैयाँमा ब्रोडब्यान्ड परियोजनाका लागि सेवा प्रदायकहरुलाई भुक्तानी गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।