प्रतिनिधि सभा विघटन गर्ने निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि अब शासन सत्ताको ‘लड्डु’ कसको मुखमा पर्ला? आमचासोको विषय बनिरहेको छ। यसका लागि बुट र लाठी कसले खाए? यो त अब भूतकालको विषय भइगयो।
देशको वर्तमान राजनीतिक प्रणालीका लागि गोली खानेहरु समेत बिर्सिइने देशमा लाठी खाने निर्ग नवीनहरु सम्झिइने आशा गर्नु नै अलि बढ्ता हुनजान्छ।
प्रतिनिधि सभा विघटन बदर गरेर सर्वोच्च अदालतले संविधानमा लागेको घाउ सञ्चो पारेको छ। यही मुद्दाका लागि आन्दोलनको अग्रमोर्चामा रहँदा घाइते भएका नवीन बिस्तारै तंग्रिदै छन्। शरीरमा लागेको घाउ औषधिले विसेक हुन्छ। मनमा लागेको घाउ विसेक हुन स्थिति ठीकठाक हुनैपर्छ। प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा विघटन गर्ने असंवैधानिक कदम अदालतबाट सच्चिएको छ। तर, राजनीतिक प्रणालीमा यसले लगाएको घाउ तत्काल निको हुने सारसंकेत देखिदैन।
यसरी हेर्दा नवीन र देशको अवस्था उस्तै छ। देशको राजनीतिक ‘स्वास्थ्य अवस्था’ बताइरहनै परेन। किनभने केही थाहा नपाउनेले पनि राजनीति थाहा पाउने देशमा छौं हामी। राजनीतिमा भइरहने गल्तीमाथि प्रश्न तेस्र्याउने नवीन अस्पतालबाट घर फर्केका छन्। तर, उनको ज्यान र मन अझै तंग्रिइसकेको छैन। किनभने उनको सिरानीनेरको टेबलमा अझै औषधिको चाङ छ।
आफूलाई गलत लागेको विषयमा आवाज उठाउँदा उनी गम्भीर घाइते भएको यो दोस्रो पटक हो। टाउकोमा लागेको चोटले शारीरिक र मनोवैज्ञानिक रुपमै समस्या झेलिरहेको उनी बताउँछन्। आफ्नो स्वास्थ्य अवस्थाबारे बताउँदै नवीनले भने, ‘पहिले सानो नशामा ब्लिडिङ भयोे। तीनपल्ट वेहोश भएँ। तुरुन्तै अस्पताल लिएपछि बाँचें। त्यसपछि फेरि चोट लाग्यो। दायाँ टाउकोमा दाग छ। भिजनमा पनि समस्या परेको छ। कहिलेकाहीँ धमिलो देखिने भइरहेको छ।’
टाउकोमा लागेको चोटले उनको मानसिक स्वास्थ्यमा पनि समस्या सिर्जना गरेको छ। कहिले चाँडो निदाउने कहिले रातभरि नै निद्रा नआउने भइरहेको उनी बताउँछन्। ‘कहिलेकाहीँ झस्किने, निद्रा विग्रिने। फ्रेस नहुने। दिमागमा कुराहरु सेटमा नआउने। दैनिक आनीबानीमा समस्या परेको छ। मोबाइल हेर्दा घन्टौं हेरेर बस्ने खालको देखिएको छ,’ उनले भने।
राजनीतिक संघर्षबाट बिग्रेको स्वास्थ्य लाभका लागि संघर्ष गरिरहेका उनले हिम्मत भने कहिल्यै हारेनन्। पहिले घाइते भएर तीन महिनासम्म उपचार गराइरहँदा पनि उनी फर्केर सडकमै पुगेका हुन्। उनी आफ्नो र देश दुवैको स्वास्थ्य अवस्था विरुद्ध लडेर ठीक ठाउँमा पुर्याउन सक्नेमा आत्मविश्वासी छन्। ‘मेरो आत्मविश्वासले भन्छ, मलाई केही पनि हुँदैन। घाइते भएर आन्दोलनमा जान नपाउँदा पीडा महशुस हुन्छ। म भइनँ भने मेरो भूमिका त हुँदैन भनेर चिन्ता हुन्छ,’ उनले भने।
नेतृत्वको संकुचित दृष्टिले बिथोल्ने मन
नेताहरुले आह्वान गर्छन्– सडकमा ओर्लेर शासकलाई घुँडा टेकाउनुपर्छ। नेताहरु मञ्चमा उत्तेजित हुन्छन्– अब शाकाहारी आन्दोलनले पुग्दैन। नेताले भनेपछि कार्यकर्ताहरु सडकमा ओर्लिन्छन् नै। नेतालाई नै विश्वास नगरे कसलाई विश्वास गर्ने? त्यसपछि उनीहरु सडकमा ओर्लिन्छन्।
सडकको आफ्नै चरित्र हुन्छ। सवै प्रकारका व्यक्तिहरु आन्दोलनमा समाहित हुन्छन्। उनको अनुभव छ, ‘शान्ति सुरक्षाका लागि खटेकाहरु उत्तेजित गराउन पनि सहभागी हुन्छन्। माहोल भड्काउन राज्यकै मान्छे पनि मिसिएका हुन्छन्।’ त्यसपछि प्रहरीसँग भिड्न होइन, शासकलाई सत्यसँग साक्षात्कार गराउन सडकमा ओर्लिएका नवीनहरुको साक्षात्कार पानीको फोहरा, बुट र लाठीसँग हुन थाल्छ।
सडक विकेन्द्रित आवाज एकीकृत गर्ने ठाउँ ठान्छन् उनी। त्यसैले एउटै विषयका विकेन्द्रित आवाज एकीकृत गर्ने अग्रसरता लिन उनी पछि हट्दैनन्। त्यस्तो आन्दोलनको अगुवाइ गरेपछि नवीन घाइते बन्छन्। घाइते भएपछि आफ्नै पार्टीका नेता र संगठनका सहपाठीहरुले गरेको व्यवहारले पो चकित पार्छ उनलाई।
‘पार्टी नेता र संगठनका साथीहरुले म घाइते भएपछि जुन खालको व्यवहार देखाए, त्यसले राजनीतिक जीवनमा धेरै समय रहन सक्दिनँ कि भन्नेसम्म अनुभूति भएको थियो,’ भावुक हुँदै उनले अनुभूति सुनाए, ‘त्यसअघि म संगठनको निकै प्रिय मान्छे थिएँ। नेतृत्वसँगै हुर्केको मान्छे हुँ। म आठवटा दशैंमा टीका थाप्न घर गइनँ। नेतृत्वकै वरिपरी हुँदा मलाई आनन्द हुन्थ्यो। मेरो पार्टी, जीवन, वर्ग त्यही थियो। त्यहीँ वरिपरी रहने योजना बनाएको थिएँ। तर, घाइते भएपछि धेरै मान्छेले भेट्न चाहेनन्। मसँग फोटो खिच्न रुचि देखाउने साथीले फोटो खिच्न चाहेनन्।’
पार्टीमा उठिरहेका मतमध्ये आफूलाई उपयुक्त लागेको मतका पक्षमा उभिँदा गरिने यस्तो व्यवहारले राजनीतिको बाटोमा भर्खर पाइला राखेका उनको पाइताला डगमगाउनु अस्वाभाविक होइन। उनलाई लाग्छ, ‘पार्टीले नजाने भनेको आन्दोलनमा गइसकेपछि नेतृत्वले गर्ने व्यवहार स्वाभाविक होला। तर, मलाई अस्वाभाभिक लाग्यो। केन्द्रीय कमिटी त दुई कित्तामा विभाजित थियो नि। दुई मत थियो। एउटा मतलाई बोकेर हिँड्दा सहकर्मी, सहयोद्धा, प्रिय र आदरणीय नेताले त्यस्तो व्यवहार देखाउँदा डर लागिरहेको छ। मत राख्दा त्यो किसिमको निषेध र एक खालको उत्पीडन हुन्छ, उनीहरुको सत्ता र पार्टीको जीवनमै प्रश्न राख्दा के गर्लान्?’
त्यसपछि रोजे राजनीति
उनी जन्मँदा देशमा देशमा दुई खालका नागरिक थिए, राजा र प्रजा। उनले किशोरावस्था पार गरिरहँदा देशमा राजनीतिक प्रणालीमाथि मात्रै होइन, राजामाथि नै प्रश्न उठिरहेको थियो। उनी युवा हुँदा समाजमा हरेकले हरेकलाई प्रश्न गरिरहेको थियो। राज्यका पराम्परागत संरचना, त्यसले निम्त्याएका विभेदमाथि वहश भइरहेको थियो। त्यही प्रश्नको उत्तर गणतन्त्र, संघीय राज्य प्रणाली, समानुपातिक पद्धति, धर्मनिरपेक्षता हो। उनलाई प्रश्नको शक्ति त्यहीबेला महशुस भयो। प्रश्न गर्यो भने उत्तर दिनुपर्छ, राजा नै किन नहोस्। उनी भन्छन्, ‘राजाको राज्य गर्ने क्षमता र प्रणालीमाथि, धर्म, जात, समाज र संस्कारमाथि प्रश्न थिए। एक समुदायले अर्कोलाई किन यस्तो? भनिरहेको थियो। तिनै प्रश्नै प्रश्नले यो देशलाई लोकतान्त्रिक गणतन्त्रसम्म ल्यायो।’
त्यो प्रश्न गर्ने पार्टी त्यो समय नेकपा माओवादी थियो। उक्त पार्टीप्रति सकारात्मक प्रभाव उनी सानै छँदा परेको थियो। किनभने त्यो समय उनी र उनका साथीबीचको विभेद त्यही पार्टीले हटाएको थियो। बाजुरा जिल्लामा जन्मेका उनी त्यहीँको सरकारी स्कुल पढ्थे भने उनका साथी बोर्डिङ स्कूलमा। माओवादीले बोर्डिङ बन्द गरिदिए। उनका साथी उनीसँग भए। बालमष्तिष्क अरु केही खोजेन। आफू जस्तै साथी आफूसँग ल्याउन माओवादीले सघाए।
त्यसपछि माओवादी निकट सेति–महाकाली मुक्ति मोर्चा हुँदै उनी अनेरास्ववियु क्रान्तिकारीको केन्द्रीय सदस्य भएका हुन्।
त्यो बेला माओवादीमा हरेक कुरामाथि प्रश्न उठ्थ्यो। सही उत्तर नदिँदा वा नभेटिँदा कारबाही हुन्थ्यो। एउटा घाइते योद्धाले उनलाई ‘जनयुद्ध’कालीन अवस्थाबारे भनेका थिए, ‘पार्टीमा शुद्धिकरण अभियान चलिरहन्थ्यो। मेरो भाइ भारत बस्थ्यो। उसले वाकम्यान दिएर गयो। पार्टीले कताबाट आयो भनेर सोध्यो। मैले त्यसको स्रोत नखुलाएर उपहार आएको भन्दा पार्टीले कब्जा गरेको थियो।’
अहिले नेताहरुको जीवनशैलीदेखि प्राप्त उपहारसम्म हेर्दा ती प्रसंग दन्त्यकथामा परिणत भएका छन्। माओवादी र त्यसका नेताहरु २०६२÷६३ पछि संसद भवन छिर्दा उत्पीडित वर्गकै आवाज बोकेरै पुगेको उनी ठान्छन्। जब पहिलो संविधानसभा विघटन गरेर फर्के, त्यसपछि त्यो आवाज नेताहरुको मुखदिमागबाटै हरायो। उनको विश्लेषण छ, ‘पहिलो संविधानसभा यो देशका सम्पूर्ण उत्पीडित आवाजहरुलाई समेटेर संसद भवन छिरेको थियो। त्यसले यो समाजका संकट राम्रैसँग समाधान गर्ने ल्याकत पनि राख्थ्यो। त्यो विघटन भयो। जनयुद्ध र जनआन्दोनले दिएको म्यान्डेटमाथि प्रतिगमन त्यहीँनेरबाट सुरु भयो।’
त्यही बिन्दुबाट बिग्रने र भत्कने क्रम सुरु भएर त्यो शृंखला हालसम्म नरोकिएको उनको बुझाइ छ। ‘यही शृंखलाले घाइते र अपांग सडकमै छाड्यो। उत्पीडित वर्ग उहीँ छुटे। जुन वर्गले पार्टी बनायो, नेता बनायो। ती नेताहरुको मालिक, पुँजीपति र दलालसँग सम्बन्ध बन्यो। जनताका आवाज, विचार र उनीहरुसँगै सम्बन्ध विच्छेद भयो,’ उनी थप्छन्, ‘त्यसले निर्माण गरेको संकट हो यो। नेताहरु त्यही ठाउँमा चुके। जनताले त्यो साहस दियो, मुद्दा दियो, स्थापित गरायो, शक्ति दियो, उहाँहरुले भुल्नुभयो। उनीहरुसँग टाढिएपछि उधोगति सुरु भयो।’
सडकसँग साथ
सडकसँग उनको साइनो पहिलो संविधानसभाको निर्वाचनपछि भयो। त्यो बेला तत्कालीन माओवादीले पहिचानको मुद्दाका लागि कार्यकर्ता सडकमा उतारेको थियो। उनी अनेरास्ववियुको ब्यानरमा सडकमा आएका थिए। त्यसपछि आदिबासी, जनजाति, बादी समुदायलगायतका आन्दोलनमा स्वयंसेवकको भूमिकामा उनी सडकमै रहे। उनलाई लागेको थियो, ‘यही आन्दोलनका जगमा तत्कालीन समस्या हल हुन्छन्। नेताहरु त्यही बाटोमा छन्।’
त्यसपछि पार्टीका हरेक उतारचढावसँग उनी सँगै रहे। पुरातनबादीहरु र परम्परागत संरचना चिर्न आफूलाई हम्मे परेको नेताहरु बताउँथे। उनको युवा दिमागले पत्याउँथे। तीन वर्षअघि नेकपा एमाले र माओवादी केन्द्रबीच एकता हुँदा उत्साहित हुनेमा उनी पनि थिए। उनलाई लागेको थियो, ‘कम्युनिष्टहरु एक भए हामीलाई देखाइएको र हामीले देखेको सपना पूरा हुने भयो।’
कम्युनिष्टको एकीकृत पार्टी नेकपाले दुई तिहाइनिकट मत प्राप्त गर्यो। त्यसले आशातित गति नलिएको महशुस भएकै बेला कोरोना संकट सुरु भयो। त्यसको असर मजदूर वर्गले धेरै खेपे। पूर्वदेखि पश्चिम र पश्चिमदेखि पूर्व मजदुर हिँडेरै गइरहेको समाचार आइरहेका थिए। त्यहीबेला सरकारले दल विभाजनको अध्यादेश ल्यायो। नवीनहरुलाई त्यो बेला लाग्यो, ‘हाम्रै पार्टीको सरकार भए पनि गलत काम गर्यो। यस विषयमा सडकमै पुगेर बोल्नुपर्छ।’ उनलाई नबोल्न भन्नेहरु थिए तर उनले सुनेनन्। भन्छन्, ‘पूर्वको मान्छे पश्चिम हिँडेर जानु परेको छ, कोही बोल्दैन। सरकारलाई दल विभाजन गर्नु परेको छ। जनताको जनस्वास्थ्यसँग सरोकार छैन। हामी बोल्नुपर्छ।’
त्यसपछि स्वास्थ्य सामग्रीको खरिदका विषयमा विवाद आयो। त्यसमा पनि उनी बोले। भारत सरकारले नेपालका लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई आफ्नो भूमिमा समेटेर नक्सा जारी गर्यो। उनलाई बोल्नैपर्छ भन्ने लाग्यो। उनले आफ्नै संगठन अनेरास्ववियुमा प्रस्ताव राखे– हामी आन्दोलन गरौं। उनले सम्झाए, ‘हाम्रो विधानमै राष्ट्रियता, जनतन्त्र, जनजिविकाको लडाइँ भनिएको छ। आज हाम्रो देशको सीमाना अतिक्रमण भएको छ। बोलौं।’
पार्टी र संगठनको नेतृत्वले चासो र चिन्ता नदेखाएपछि अन्य संगठनका उस्तै ऊर्जा र विचार भएकासँग मिलेर उक्त आन्दोलनमा उनी सहभागी भए। उनी भन्छन्, ‘एलिजा गौतम, संघर्ष दाहालजी, मलगायत मिलेर नामविहीन अभियानमा जुट्यौं। माइतिघरको प्रदर्शन गरियो। प्रधानमन्त्रीले म जमिन नै फिर्ता लिएर आउने हो, नक्सा जारी गरेर हुन्छ?’ भनेर उल्टै प्रश्न गर्नुभयो।’ उनी माइतिघरमा उभिएर भनेको कुरा सम्झिन्छन्, ‘जमिन फिर्ता ल्याउने विधि निर्माण हुनुपर्छ। संविधान संशोधन गर्ने, नक्सा जारी गर्ने निशान छापमा र।ाख्ने र कुटनीतिक नोट मार्फत् जानकारी गराउने विधि हुन सक्छ भन्यौं।’
उनीहरुले यही कुरा बोल्दा सरकारले उनीहरुलाई करेन्ट लगायो। संसद्को बैठक बसिरहेका बेला सांसद्लाई सम्झाउन त्यसको गेटमा उनीहरु प्रहरीसँग भिड्नुपर्यो। ‘हामीलाई के लाग्यो भने यो देशमा भारतले सांस्कृतिक र सामाजिक अतिक्रमण गरेकै छ। भारतीय सेनाका बुटले मातृभूमिमाथि लात मार्दा हामी त्यसै बस्न सक्दैनौं। राष्ट्र रहे हामी रहन्छौं, पार्टी रहन्छ र सवथोक रहन्छ।’
त्यो दिन उनीहरुलाई पक्राउ गरेर पुलिस क्लबमा लिइयो। दोस्रो दिन त्यसैगरी संसद भवन अघिल्तिर भिड्दा तीनकुने प्रहरीमा लगियो। तेस्रो दिन उनीहरुले भारतका प्रधानमन्त्रीको पुत्ला दहन गरे। त्यो बेला आन्दोलनकारीलाई करेन्ट समेत लगाइयो । उनीहरुले सुरुदेखि नै बोलेको यो मुद्दामा सरकार पनि सकारात्मक भयो। पार्टीको दबाब, सडकको दबाब, प्रधानमन्त्री ओली वरिपरिकै मान्छेहरुको दबाबले संविधान संशोधन भयो, चुच्चे नक्सा सार्वजनिक भयो। निशान छापमा नक्सा फेरियो। उनलाई लाग्छ, ‘अहिले कम्तिमा आफ्नो सीमामा दाबी गर्ने ठाउँ बनेको छ।’
त्यसपछि मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताका विषयमा नेकपाको दोस्रो केन्द्रीय कमिटी बैठकमा ब्यापक छलफल भयो। नेताहरु दुई ध्रुवमा बाँडिए। उनी एमसीसी पारित हुनुहुन्न भन्ने पक्षमा थिए। त्यसैले आन्दोलन गरिरहे। त्यो आन्दोलनमा उनी सख्त घाइते भए, जसको असर अझै छ।
युवा पुस्तामाथि राजनीतिक दमन
पार्टीमा युवा पुस्ताले प्रशस्त स्पेश नपाउनुको दोष आफ्नै शिर्ष नेताहरुलाई दिन्छन् उनी। जसले युवा पुस्तालाई नेतृत्वमा आउन रोकिरहेको उनको बुझाई छ। अहिले राजनीतिको केन्द्र रहेको पुस्ताले पुस्तान्तरणमा ध्यान नदिँदा अर्को पुस्ता राजनीतिको अग्रभागमा नदेखिएको उनको बुझाइ छ।
‘आज मूलधारमा रहेको नेतृत्व ३० वर्षअघि हामीजस्तै युवा थियो। त्यसले पार्टीको नेतृत्वमाथि प्रश्न तेर्स्याएर आफूलाई स्थापित गरेको हो,’ उनको विश्लेषण छ, ‘मैले मेरो विचार राख्दा अघिल्लो पुस्ता जिम्मेवार हुन्छ। त्यो पुस्ताले पुस्तान्तरण हुने संस्कृति बनाएन भने पुस्तान्तरण हुँदैन। मेरो पुस्ताले बिउ राखेन भने अर्को पुस्ताले बिउ पाउँदैन। हो, त्यो बिउ जोगाउने संस्कृतिमा नेताहरुले ध्यान दिएनन्।’
उनले महशुस गरेका छन्, ‘हामीले प्रश्न उठाउँदा हाँसोमा उडाउने गरिन्छ। मसँग लिगेसी छ, इतिहास छ भन्ने ढंगले नेतृत्वले हामीलाई हेर्न थाल्यो। यो समस्या हो। यही प्रचण्ड–नेपालकै पुस्ता नै हो जसले युवा पुस्तामाथि सांस्कृतिक र राजनीतिक दमन गरेको छ।’
यो पुस्ताको योगदानबाट भएको ऐतिहासिक परिवर्तनप्रति त कोही अनुग्रहित नहुने कुरा भएन। नयाँ पुस्तालाई त्यसको सम्मान गर्ने अवसर उक्त पुस्ताले दिनुपर्ने बताउँछन् उनी। त्यसैले आफूहरुको जिम्मेवारी त्यो पुस्तालाई प्रश्न गर्ने रहेको उनको बुझाइ छ, ‘यो पुस्ताले ऐतिहासिक काम गर्यो। गल्ती कमजोरी बोकेर आएको छ। आजका समस्या क्रमिक भुलका परिणाम हुन्। त्यसैले हाम्रो पार्टी र नेताप्रति प्रश्न गर्नुपर्छ।’
नेतृत्वले आत्मसीमक्षा गर्ने कम्युनिष्ट प्रचलन भुल्दै गएको उनको बुझाइ छ। नेताहरुले बिगारेको नै त्यसैले हो भन्ने लाग्छ उनलाई। उनले भने, ‘म कति ठीक छु, कति गलत छु भनेर आफैंमाथि पनि प्रश्न गर्ने जुन संस्कृति थियो, त्यसले आफैंलाई सुधाथ्र्यो। गल्तीमाथि गल्ती गर्न दिँदैनथ्यो।’
युवामाथि पनि प्रश्न
उमेरको अंकसँग मात्रै उनको प्रश्न छैन। विचारको बोधोपनसँग पनि उनलाई उत्तिकै प्रश्न गर्नुछ। ‘युवा’ परिवर्तनको पयार्यवाची ठान्छन्। तर, कतिपय उमेरले २० मै भएपनि विचारले ‘बुढो’ पाउँछन्। उनले उदाहरण दिए, ‘अन्तरजातीय प्रेमपछि नवराज विकको हत्या भयो। मैले फेसबुकमा ‘यो मेरो पुस्ताका लागि कालो दिन हो’ भनेर लेखें। एउटा २० वर्षको युवाले, एउटा दलितले ठकुरीको घरमा छोरी लिन जाँदा पूजा गर्छन् त? काट्दैनन्?’ भनेर प्रश्न गरे। ती कसरी युवा?’
युवा भनेको यथास्थितिका विरुद्धमा प्रतिरोध गर्ने विचार लाग्छ उनलाई। नेपालको संविधानले १५ देखि ४० को उमेर भनेको छ। त्यो सैद्धान्तिक परिभाषाले मात्रै युवाप्रति आशा जगाउँदैन। संविधानको परिभाषाभित्र पर्ने उमेर समूह परिवर्तनका लागि लड्छ कि लड्दैन, त्यो ऊर्जा बोकेको छ कि छैन? भन्ने हेर्नुपर्ने उनी बताउँछन्। त्यस्ता युवाको संख्या राजनीतिमा कति छ त? उनको उत्तर छ, ‘मैले कम देखेको छु।’
त्यो उमेर समूहका अरु दुई चरित्रका युवा समाजमा हावी छन्। उनको विचारमा एउटा ‘केपी ओली आइ लभ यू’ भन्ने पुस्ता अर्थात् एक ईश्वरवादी छ। जसेले एउटा सत्य मात्रै देख्छ। अर्को छ, राजनीतिलाई फोहोरी खेल देख्छ।
उनको प्रश्न छ, ‘केपी ओली आइ लभ यू भन्ने पुस्तालाई राजनीतिको मूलधारमा ल्यायो भने आजको भन्दा फरक के प्राप्त हुन्छ?’ राजनीतिलाई फोहोरी खेल ठान्ने त राजनीतिमा आउँदै आउँदैन। उनको थप प्रश्न छ, ‘युवा भनेकै परिवर्तनका लागि लड्नका लागि हो। आफैं होमिनका लागि हो। यथास्थितिका विषयमा प्रतिरोध नगर्ने यो वर्गकालाई कसरी युवा मान्ने?’
राजनीतिक संरचना युवालाई नेता बनाउने भन्दा पनि कार्यकर्ताकै तहमा राख्ने होडबाजी चलिरहेको उनले देखेका छन्। यसले राजनीतिमा रहेको पाको पुस्ताले वर्तमान मात्रै होइन, देशको भविष्यमाथि पनि खेलबाड गरिरहेको उनको निष्कर्ष छ।
यो पनि पढ्नुहोस्:
जसलाई प्रश्न मात्र गर्ने छुट छैन
सडकले चिनेका संघर्ष
‘राजनीतिमा फोहोर छ भनेर ढोकाबाट हेर्ने होइन, भित्रै पसेर सफा गर्ने हो’
राजनीतिको प्रश्न गर्ने पुस्ता
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।