निहित स्वार्थ, व्यक्तिगत लाभ र शक्तिआर्जनका लागि राजनीतिमा निरन्तर चलिरहेको रस्साकस्सीले समाजमा राजनीतिको अर्थ नै गलत लाग्ने अवस्था निर्माण भइरहेको छ। यही गलत अभ्यासका बाछिटा समग्र प्रणालीमा परेका छन्।
देश वेथिति र भ्रष्टाचारले जकडिएको हरेकलाई महशुस हुन्छ । भनिन्छ, देश विकासको गति कछुवालाई समेत उछिन्न नसक्ने अवस्थामा छ। यिनै समस्याले देशबाट धेरै युवालाई परदेश पुर्याइरहेको छ। फरक यत्ति हो, हुँदा खानेका सन्तान करले गइरहेका छन्, हुनेखानेका सन्तान विदेश जानुलाई रहर बनाइरहेका छन्।
यति भोग्दाभोग्दै र देख्दादेख्दै पनि वेथिति, भ्रष्टाचार र अविकाशविरुद्ध आफ्नो तहबाट लडाइँ लड्न कस्सिने नयाँ पुस्ता पनि छ। तर, त्यसको संख्या निकै सानो छ। त्यो लडाइँ राजनीतिबाटै गर्ने हिम्मत जुटाउनेको संख्या त्यो भन्दा पनि सानो छ। उमेरले २८ मात्रै पुगेका अब्दुस मियाँँ यिनै अव्यवस्थाविरुद्ध ‘आफ्नो आकार’को लडाइँ लड्न राजनीतिमा छन्।
देशमा ४० वर्षमुनिको जनसंख्या सबभन्दा धेरै छ। राष्ट्रिय राजनीतिको अग्रभागमा चाहिँ यही समूह कम देखिनुलाई दुःखद् ठान्छन् मियाँ। भन्छन्, ‘समूह मात्रै ठूलो होइन, सबभन्दा धेरै जोश र जाँगर, क्षमता, भिजन र केही गरेर देखाउने इच्छाशक्ति यही समूहसँग छ। तर राजनीतिको मूल नेतृत्वमा ४० वर्षमुनिका मान्छे भेटिन्न।’
यो पुस्ता कमजोर भएर त्यस्तो भएको हो त? भन्ने प्रश्नको उत्तर तत्काल सुझ्छ उनलाई, ‘विश्वका राम्रो विश्वविद्यालमा पढेका वा तल जनतासँग भिजेका, समाज र समाजको यथार्थ बुझेका यही उमेरका छन्।’
पूर्व योगदानका कारण पार्टीका पाका नेताहरुबाट वशीभूत हुने युवाहरुको सोचप्रति उनी सहमत छैनन्। उनलाई लाग्छ, ‘पार्टीमा २० वर्ष योगदान गरेको व्यक्तिको सम्मान गर्ने। तर, हामीले त्यस्तो व्यक्तिको सम्मान गरिरहँदा समाज वा देशका लागि उसको नेतृत्वले के गर्यो र कस्तो प्रभाव पार्यो? भन्ने प्रश्न पनि सँगै उठाउनुपर्छ। यदि उसको नेतृत्वले राम्रो प्रभाव परेको देखिदैन भने त्यो योगदान र इतिहासको कुनै अर्थ छैन।’
आफूलाई वैकल्पिक राजनीतिको खेलाडीका रुपमा प्रस्तुत गर्ने विवेकशील साझा पार्टीको युवा संगठनका राष्ट्रिय अध्यक्ष उनी साझा पार्टीको प्रारम्भिक गठन प्रक्रियादेखि सक्रिय छन्। आफूले भोगेका र आफूलाई लागेका विषयविरुद्ध लडाइँ लड्ने मञ्च उनले यसलाई बनाएका हुन्। उनलाई राजनीतिबाट प्राप्त गर्ने नभई आफ्नो आकारको लडाइँ लड्ने चाहना भएका आफू जस्ताका लागि विवेकशील साझा सही पार्टी भएको अनुभूत छ। ‘राजनीति गर्न त्यति सहज छैन।
अहिले ठूला भनिएका दलले आफूले पनि भ्रष्टाचार गर्ने अनि त्यसविरुद्ध बोल्ने पनि गरेका छन्। आफू पारदर्शी नहुने तर पारदर्शिताको कुरा अरु दलले गरिरहेका छन्
केही प्राप्त गर्न आउने पनि होइन,’ उनलाई लाग्छ, ‘केही प्राप्त गरिहाल्नु छ भने प्रधानमन्त्री केपी शर्मा ओलीसँग जाने हो। नमस्कार गर्न जानियो भने नियुक्ति पाइन्छ। म भ्रष्टाचारदेखि आजित छु, देशको प्रतिव्यक्ति आय न्युनतम १७ हजार डलरको अपेक्षा गरेको छु। स्वास्थ्य र शिक्षामा नागरिकको सहज र समान पहुँचको सपना देखेको छु र त्यसका लागि आफ्नो आकारको लडाइँ लड्ने हो भने आउने राजनीतिमा हो। विवेकशील साझा जस्ता कल्याणकारी लोकतन्त्रलाई सिद्धान्त बनाएका पार्टीमा लाग्ने हो।’
जब लक्ष्य बन्यो राजनीति
सामाजिक अभियानमा सक्रिय हुने र नेतृत्व गर्ने उनको सानैदेखिको स्वभाव हो। राजनीतिक दलसँग आवद्ध हुनुअघि उनले विभिन्न संस्थाहरुको नेतृत्व गरिसकेका थिए। सन् २०१० देखि नै उनले युवाका क्षेत्रमा सहभागी हुने र नेतृत्व लिने क्रम थालेका हुन्। ‘युथ इनिसिएटिभ’को सदस्य हुँदै नेतृत्वसम्म पुगेका उनी २०१३ मै युएस एम्बेसी युथ काउन्सिल नेपालका सदस्य थिए। ‘जेनेरेसन चेन्ज– अ ग्लोबल नेटवर्क अफ चेन्जमेकर’ २०१२ मा बने उनी।
पब्लिक हेल्थ पढेका मियाँको रुची पब्लिक पोलिसीमा ज्यादा रह्यो। समाजका सम्पूर्ण क्षेत्रको परिवर्तननमा परिश्रम गर्ने चाहनाले उनलाई अमेरिकाको साउथर्न इलिनोइस युनिभर्सिटीमा पुर्यायो। जहाँ उनले पब्लिक पोलिसी र गभर्मेन्ट लिडरसिपका विषयमा फेलोसिप लिए।
त्यसपछि उनले युवाका लागि सेमिनार, नेतृत्व विकास कार्यक्रम र तालिमहरु पूर्व देखि पश्चिमसम्म आयोजना गरे। उनको युवाहरुसँग प्रत्यक्ष जोडिने माध्यम त्यो थियो। सन् १९९९ मा स्थापना भएको ‘युथ एसिया’ पनि उनी आवद्ध भए। ‘नेपालमा किन पर्याप्त अवसर छैन भन्ने ज्ञान युवाको क्षेत्रमा काम गर्दैगर्दा बटुलेको थिएँ। म आवद्ध संस्था ‘गुड गर्भनेन्स’को क्षेत्रमा काम गर्दै आएको थियो। उत्तरदायित्व र पारदर्शिताको कुरा आवद्ध संस्थाकै माध्यमले सिकेको हुँ,’ उनले भने, ‘म जुन क्षेत्रमा रहेर काम गरिरहेको थिएँ, हाम्रो राजनीतिको समस्या पनि त्यसमै रहेछ।’
सरकारले आफ्नो भूमिका बहन गर्न नसक्नु, पारदर्शिता नहुनु, राज्य नागरिकप्रति उत्तरदायी नहुनु, जनअपेक्षा पूरा गर्न नसक्नेलगायतका समस्या उनले त्यसका क्रममा महशुस गरे। त्यही क्रममा बुझ्दै गए– यसको समाधान अभियानबाट मात्रै होइन, राजनीतिबाट हुन सक्छ।
दल रोज्ने सूत्र
राजनीतिमा पस्ने उनको योजना त थियो तर, आफू अनुकुल राजनीतिक पार्टी देखिरहेका थिएनन्। एक टेलिभिजन कार्यक्रममा भेटिएका बिबिसी नेपाली सेवाका तत्कालीन प्रमुख रवीन्द्र मिश्रले उनलाई वैकल्पिक शक्ति बनाउने सोच सुनाएका थिए। पछि त्यसमा सम्मिलित हुने विषयमा मियाँसँग पनि कुरा गरे।
‘नेपालमा वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता भएको आकलन गरिएकै थियो। त्यस्तो शक्ति जसले कल्याणकारी कार्य गर्न सकोस् भन्ने चाहना थियो। उहाँ (मिश्र)ले पार्टी नै खोल्ने बताउनु भएपछि मलाई त्यसको हिस्सा हुने मन लागिहाल्यो,’ उनले राजनीतिमा प्रवेशको पहिलो कथा सुनाए।
सुशासन, भ्रष्टाचार नियन्त्रण र समृद्धि सवै राजनीतिक दलका नारा हुन्। तर, नारा होइन पारा हेरेर मात्रै निर्क्यौलमा पुग्नुपर्ने मियाँको मत छ। ‘अहिले ठूला भनिएका दलले आफूले पनि भ्रष्टाचार गर्ने अनि त्यसविरुद्ध बोल्ने पनि गरेका छन्। आफू पारदर्शी नहुने तर पारदर्शिताको कुरा अरु दलले गरिरहेका छन्,’ उनको प्रश्न छ, ‘गोकुल बाँस्कोटाले भ्रष्टाचार विरोधी कुरा गरेको तपाई पत्याउनुहुन्छ? केपी ओलीले भ्रष्टाचारीलाई देखि सहन्न भनेको पत्याउने?’
उनको राजनीतिक पार्टी छनोटका केही आधारभूत विषय यस्तै थिए। पुरानो नेतृत्व परिवर्तन नगरी परिवर्तन सम्भव छैन। परम्परागत पार्टीमा नेतृत्व परिवर्तनको गुञ्जायस छैन। त्यसैले अन्य दलको यो विरोधाभाषी कुरालाई ‘हिपोक्रेसी’को संज्ञा दिन्छन् उनी। भन्छन्, ‘संवेदनशील भएर भ्रष्टाचार विरोधी कुरा गरेको भन्न मिल्दैन। समाजको वास्तविक आवश्यकता उनीहरुबाट पूर्ति हुन सक्दैन। नागरिकलाई पनि विश्वास छैन।’
भ्रष्टाचारका विषयमा हुने विरोधको ‘चक्र’ पनि उनलाई गजबको लाग्छ। हालसम्म सरकारमा दुईचारवटा पार्टीले घुमिफिरी नेतृत्व गरेका छन्। जो विपक्षमा रहन्छ, उसले सत्तापक्षलाई भ्रष्टाचारी देखाउने प्रवृत्तिको पुनरावृत्ति भइरहन्छ। उनी भन्छन्, ‘त्यसैले उनीहरुको विकल्पमा जनतालाई आशा जगाउने पार्टी नेपालमा चाहिन्थ्यो। तसर्थ रवीन्द्र मिश्रले भ्रष्टाचार गर्दिन भन्नु र गोकुल बाँस्कोटाले हामी भ्रष्टाचार गर्दैनौं भन्नुमा असीमित फरक छ।’
गगन थापालाई होनहार नेता भनेर धेरै नेपालीले चिनेका छन् नि। सोच्नुपर्ने विषय चाहिँ थापा कांग्रेसको मूल नेतृत्वमा आउँदा उनको टाउकोमा कति प्रतिशत कपाल बाँकी रहन्छ भन्ने हो।
मूलधारका मुख्य दुई दल विफल भइरहेको अवस्थामा त्यसको विकल्प कुन दल रोज्ने? यही प्रश्नको उत्तर विवेकशील साझा रहेको उनको बुझाइ छ।
यसअघि उक्त पार्टीले सवैतिर संगठन विस्तार नगर्दा र उम्मेदवारी नदिँदा जनतासँग विकल्प नभएको उनी बताउँछन्। ‘त्यसैले आगामी निर्वाचनमा विवेकशील साझाले देशभर उम्मेदवार उठाउने तयारी गरेको छ। सरकारमा पटक–पटक पुगेर पनि ‘डेलिभरी’ दिन नसकेका कम्युनिस्ट र कांग्रेसको विकल्पमा हामी हुनेछौं। कम्युनिस्ट र कांग्रेसको विकल्प ‘हामी हौं’ भन्ने जवाफ हामीसँग छ। नागरिकसँग पनि आफ्नो मतको सदुपयोग गर्ने अवस्था छ,’ उनले भने।
राजनीतिक दलहरु राज्य व्यवस्था परिवर्तनका लागि लड्न थालेको दशकौं बितेको छ। अझै बहस र ऊर्जा त्यसमै खर्च भइरहेको छ। यसलाई परम्परागत राजनीतिक दलको ‘चालबाजी’का रुपमा लिएका छन् मियाँले। ‘नेपालमा व्यवस्था परिवर्तनको अजेण्डा उठाउन नेताहरुलाई पनि सजिलो भइदियो। किनकी, त्यसमा सिद्धान्तका कुरा मात्रै गरिदिए भयो। ‘हाइपोथेसिस’को मात्रै कुरा गरिदिए भयो। काम गरेर देखाउन परेन कि कुरा मात्रै गरिदिए भयो,’ उनको बुझाइ छ, ‘प्रतिव्यक्ति आय वृद्धि गर्ने, रोजगारी सिर्जना गर्ने, कुल गार्हस्थ उत्पादनमा वृद्धि गर्ने कुरा गर्नुपरेन। सबै कुरालाई व्यवस्था परिर्वतनसँग जोडिदिए पुग्यो। अर्को व्यवस्था भएको भए गज्जवसँग काम गर्ने थियौं भन्दिए भयो।’
ऊर्जा भर्सेस नेतृत्वका अनुहार
गएको २०/३० वर्षदेखि तिनै अनुहार राजनीतिमा छन्। पार्टी तथा देशको नेतृत्व पनि उनीहरुकै हातमा छ। मियाँका नजरमा उनीहरु पूरै असफल हुन्।
देशको विकास नहुनु उनीहरुको असफलताका कारणले हो। उनी निर्क्यौलमा पुग्छन्, ‘व्यवस्था कमजोर भएर मात्रै विकास नभएको होइन, नेतृत्वकर्ता पनि फेल भएर हो। हाम्रो स्पष्ट दृष्टिकोण छ– देशमा विकास गर्न संविधानले छेक्दैन। वर्तमान संविधानमै रहेर काम देखाउन सकिन्छ। संविधान संसोधनको मुद्दामा जनतालाई अल्झाएर राजनीति गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्छ।’
पाँच दशकभन्दा बढीदेखि दोहोरिइरहेका पुराना अनुहारले राजनीतिबाट विश्राम नलिइकन समृद्धि आउने/नआउने निष्कर्षमा पुग्न ढिलो भएको उनी ठान्छन्। ‘उही व्यक्ति र प्रवृत्ति रहुन्जेल जतिसुकै संविधान परिवर्तन गरे पनि विकास सम्भव छैन,’ उनले भने।
राजनीतिमा युवा पुस्ताको सक्रियता छ। तिनले ऊर्जा प्रयोग गरिरहेका छन्। विवेक पनि छ। केही युवा नेतासँग अपेक्षा पनि छ। तर, युवाको हस्तक्षेपकारी भूमिकाको कमी महशुस हुन्छ उनलाई। उनले उदाहरण प्रस्तुत गरे, ‘गगन थापालाई होनहार नेता भनेर धेरै नेपालीले चिनेका छन् नि। सोच्नुपर्ने विषय चाहिँ थापा कांग्रेसको मूल नेतृत्वमा आउँदा उनको टाउकोमा कति प्रतिशत कपाल बाँकी रहन्छ भन्ने हो?’
गगन थापाहरु एकदिन नेतृत्वमा पुग्ने सम्भावना त उनी देख्छन् तर, त्यो बेला उनीहरुको उमेरले पनि ६ दशक पार गरिसकेको कल्पना गर्दा उनलाई नरमाइलो लाग्छ। भन्छन्, ‘कांग्रेसका गगन थापा, विश्वप्रकाश शर्मा, नेकपाका योगेश भट्टराई जसरी युवाको आशा बनेका छन्, त्यो बेला उनीहरुको ऊर्जा क्षीण भइसकेको हुनेछ। त्यसपछि परिवर्तनको आशा पनि मर्छ। तसर्थ, मेरो पुस्ता अहिले नै राजनीतिमा आउनुपर्दछ। र, अहिलेदेखि नै जित्नुपर्छ। अहिले राजनीतिमा आएर २० वर्षपछि जितेर काम छैन।’
पुरानो पुस्ता थाकिसकेकाले देशको तीव्रतर विकास सम्भव नदेख्ने उनी युवा पुस्ता राजनीतिमा हस्तक्षेपकारी भूमिका सहित आउनुपर्ने बताउँछन्। जति उनीहरुले दिनसक्थे, त्यति दिइसकेकाले स–सम्मान बिदाइ नै सबभन्दा राम्रो विकल्प रहेको दाबी गर्ने उनको प्रश्न छ, ‘प्रचण्ड, केपी ओली वा शेरबहादुर देउवाको अनुहार हेरेर यो देशको मुहार फेरिने विश्वास अब कसले गर्न सक्छ?’
आजभन्दा ३० वर्ष अघि राजनीतिको मूल नेतृृत्वमा ३५ वर्षमूनिका युवाको बाहुल्य रहेको उनले इतिहास पढेका छन्। त्यहीबेला मुख्य नेतृत्वमा पुगेकाले नै सधैंका लागि ‘हाइज्याक’ गरेर राखिदिएको उनको बुझाइ छ। ‘होनहार युवाहरु ती दलमा पनि छन्। उपल्लो तहका नेताको भक्तिगान नगाए उनीहरु पनि टिक्न सक्दैनन्,’ उनी सहवयीहरुको विवशता उप्काउँछन्, ‘आफ्ना नेता आफू भन्दा असक्षम भएको जानेर पनि उनीहरु भक्तिगान गाउन विवश छन्। चिन्ताको विषय के भने उनीहरु त्यस्ता नेताको पछि लाग्दिनँ भन्न सक्दैनन्। चाकरी छाडेर बाहिरिने हिम्मत गर्न सकेका छैनन्।’
युवाहरु रहरले पुरानै दलमा गोलबन्द भइरहेको पाउँदैनन् उनी। उनीहरु बाध्य हुनुपर्ने परिस्थितिको उपज ठान्छन्। उनको तर्क छ, ‘देशमा रोजगारी छैन। ४६ प्रतिशत भन्दा बढी युवा बेरोजगार छन्। अनि, बेरोजगारले घर त चलाउनु पर्यो। नेतालाई नमस्कार नगरी घर नचल्ने अवस्था छ। नेता राम्रो भएर नै उनीहरु पछि लागेको भन्ने होइन, पेटको सवाल प्रमुख हो।’
कांग्रेस र कम्युनिस्टका नेताहरुसँग युवा देखिनुलाई उनीहरुप्रतिको आकर्षणका रुपमा नबुझिने उनको धारणा छ। ‘आकर्षण भएर होइन। प्रणाली नै त्यस्तो बसाइएको छ कि प्रतिस्पर्धामा भन्दा भनसुनमा विश्वास गर्नुपर्छ। त्यसपछि जसको शक्ति उसैको भक्ति हुन्छ,’ उनको स्पष्टोक्ति छ।
उनले आफन्त बिरामी हुँदा सरकारी अस्पतालमा बेड मिलाउन समेत नेता गुहार्नुपर्ने प्रणाली देखेका छन्। उनलाई लाग्छ, ‘नेताहरुले यस्तो प्रणालीको विकास गरिदिए कि केन्द्रदेखि गाउँसम्म छोटे नेतादेखि शीर्ष नेताको शरणमा पर्नैपर्ने बाध्यता बनाइदिए। देशमा त भयो भयो, विदेश जान्छु भन्दा पनि प्रक्रियाका लागि नेताकै सिफारिस चाहिन्छ।’
शक्तिलाई उछिन्न वा शक्तिशाली बन्न त्यति मुश्किल छ जस्तो उनलाई लाग्दैन। तर, एउटा शक्तिलाई ढालेपछि बन्ने अर्को शक्तिमा पनि उही प्रवृत्ति दोहोरिने क्रमले जनता आजित रहेको ठान्छन्। वैकल्पिक शक्ति भनेर अघि सरेको विवेकशील साझा पार्टीको चुनौती पनि यही भ्रमको तारबार चिरेर आफूलाई अघि बढाउनु रहेको उनको बुझाइ छ।
उनको विश्लेषण छ, ‘सजिलो चाहिँ शक्तिलाई ढाल्न रहेछ। पञ्चायत शक्तिशाली थियो, ढल्यो । कांग्रेस शक्तिशाली भयो, ढल्यो। कम्युनिष्ट पनि शक्तिशाली भए, ढले। यी एकपल्ट ढलिसकेका र हारिसकेकालाई हराउन मुश्किल छैन। जुन दिन विवेकशील साझाको सरकार बन्छ, त्यो दिन कांग्रेस र कम्युनिस्टभन्दा राम्रो काम गर्छ कि गर्दैन? परिवर्तन गर्छ कि गर्दैन? यी प्रश्नमाथिको वहश महत्वपूर्ण हुन्छ।’
आफूहरुले हरेक हप्ता युवालाई यही कारण तालिम दिइरहेको उनी बताउँछन्। जुन दिन आफ्नो पार्टीको नेतृत्व वडा, नगरपालिका वा प्रदेश र प्रतिनिधि सभामा जनप्रतिनिधि भएर जान्छन्, त्यो दिन फलानो पार्टीको सदस्य भनेर सजिलै चिन्न सकिने वातावरण बन्ने उनको आशा छ।
प्रतिप्रश्न त उनीमाथि पनि तेर्सिन्छ– जनप्रतिनिधि हुने दिनसम्म अब्दुसको टाउकोमा कति प्रतिशत कपाल बाँकी रहला? त्यसैले निर्वाचनमा अब्दुस जनतामाझ पुग्ने लक्ष्यका साथ हिँडेका छन्। आफ्नो उमेरसमूहका धेरै जना प्रतिस्पर्धामा उत्रिने उनी बताउँछन्। विश्वास गर्ने वा नगर्ने फैसला त जनताले नै गर्नुपर्नेछ। तर, कांग्रेस वा कम्युनिष्ट पार्टीहरुमा युवालाई स्थापित हुन जति समय लाग्छ, त्यो भन्दा निकै कम समयमा आफूहरु स्थापित हुने सपना उनले देखेका छन्।
सपना बेग्लै कुरा हो, नेतृत्व भन्दा पनि पहिले पार्टी नै स्थापित गर्नुपर्ने चुनौती अब्दुसहरुमाथि छ। किनभने कुनै आन्दोलन, अभियान वा अवस्थाबाट निर्मित पार्टीमा उनी छैनन्। परम्परागत पार्टीका नेताहरुले उनीहरुलाई ‘फेसबुके पार्टी’ भनेर हियाइरहन्छन्।
यस्तो भन्नेलाई उनको उत्तर रहन्छ, ‘इन्टरनेट भनेको नजानेको पुस्ता र पार्टीले त्यस्तो आरोप लगाउँछन्। हिजो जसले फेसबुके पार्टी भन्थे, आज फेसबुक पेज बनाएर आफ्ना कार्यक्रम बुस्ट उनीहरुले नै गरिरहेका छन्।’ आफ्नो पार्टीलाई ‘इन्टरनेटमा वेल डिस्प्लेइड पार्टी’ भन्न रुचाउँछन् उनी। इन्टरनेट चलाउन जान्ने पुस्ताले बनाएको पार्टीभन्दा बढी न्यायपूर्ण हुने उनको तर्क छ।
सिद्धान्त र विचारमा आकर्षण व्यक्तिपिच्छे फरक हुन सक्छ। त्यहीअनुसार फरक–फरक पार्टीमा युवाहरु संगठित हुन सक्छन्। तर, युवाहरुको ‘स्पिरिट’ एउटै हुनुपर्ने मान्यतामा धेरै एकमत देखिन्छन्। त्यो स्वभाव भएका फरक दलका युवासँग सहकार्य गर्ने रुचि अब्दुसको पनि छ। त्यसअघि उनका केही शर्त छन्, ‘नेपाल कम्युनिष्ट पार्टीको कोही साथी गोकुल बाँस्कोटाको भ्रष्टाचारबारे बोल्दैन तर सुशासनका लागि सहकार्य गरौं भन्छ भने त्यो प्रस्ताव स्वीकार्य हुँदैन। यहाँनेर मुद्दा समान छन् भन्नुको अर्थ छैन।’
युवाहरु अब नतिजा उन्मुख हुनुपर्ने, आफ्नो पार्टीको निर्णयमा हस्तक्षेप गर्ने अवस्था निर्माण गर्न लाग्नुपर्ने उनको धारणा छ। ‘युवाहरुले प्रश्न गर्ने तर निर्णय कांग्रेसमा शेरबहादुर देउवाले सोचेअनुसारको, कम्युनिष्टमा ओली, प्रचण्ड र माधव नेपालले भनेकै हुने भएपछि त्यो प्रश्नको अर्थ के?’ उनको प्रश्न छ, ‘युवाले केही गर्ने भनेकै अहिलेका लागि असक्षम नेताहरुलाई जित्ने हो। जित्न सकेको खोइ त?’
यो पनि पढ्नुहोस् :
सडकले चिनेका संघर्ष
‘राजनीतिमा फोहोर छ भनेर ढोकाबाट हेर्ने होइन, भित्रै पसेर सफा गर्ने हो’
राजनीतिको प्रश्न गर्ने पुस्ता
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।