अन्योल र अनिश्चयतर्फ अघि बढेको देशको अवस्था नै अहिले यस्तो छ कि कोही पनि सन्तोषले बस्न चाहेर पनि बस्न सक्ने अवस्था छैन। देश, काल, परिस्थिति बुझेकाहरू झन् योबिघ्न सकसमा सन्तोष मानेर बस्न सक्ने कुरै भएन। हो, संसारको गतिसँग आफ्नो देश, काल परिस्थितिलाई तुलना गर्नेहरू 'चैन'ले सुत्न सक्ने अवस्था छैन।
जता हेर्यो त्यतै अव्यवस्था, असमानता, असन्तुलन, अपराध र अत्याचार देखिने नेपाली समाजमा सन्तोष दाहाल आफ्नो नाममा समेत ‘सन्तोष’ मानेर बस्न सकेनन्।
आफ्नो स्वभाव र बन्दै गरेको छविअनुसार नामको तालमेल मिलेको महसुस गर्न नसकेपछि उनी सन्तोषबाट ‘संघर्ष’ भए। संघर्ष शब्द मात्रै होइन, कर्मका लागि पनि उनलाई प्रिय लाग्छ। संघर्ष शब्दले प्रवृत्ति बोक्ने भएकाले यसलाई अंगालेको ८ वर्ष भयो। निरन्तर संघर्षमा रहेका उनको नाम पनि संघर्ष, अहिले काम पनि संघर्ष बनेको छ।
संघर्ष शृंखला
संघर्षको दलीय आबद्धता मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीसँग छ। उनी यो पार्टीका काठमाडौं जिल्ला समिति सदस्य छन्। तर, उनी यो दलको झण्डाभित्र सीमित छैनन्। अहिले उठिरहेका सबैखाले राजनीतिक र सामाजिक मुद्दामा संघर्ष दाहाल सडकमा भेटिन्छन्। सडकमा पनि उनी जुलुसको पछिल्लो भागमा होइन, अग्र पंक्तिमै हुन्छन्। त्यसैले उनलाई सडकमा तैनाथ प्रहरीको लाठी र बुटले भेट्छ। कहिलेकाहीँ भ्यानले पनि भेट्छ र हिरासतमा लैजान्छ। उनका निम्ति यी नियमित प्रक्रिया जस्तै हुन्। केही दिन अघि बालुवाटारमा भएको नागरिक आन्दोलनमा प्रहरीको बुटबाट दाहिने छातीमा चोट लागेका संघर्षलाई बोल्न समेत कठिनाई भइरहेको थियो। तर, उनलाई त्यो चोटले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको प्रतिनिधि सभा विघटनको कदमविरुद्ध मैदानमा उत्रन चाहिँ रोकिरहेको थिएन।
राजनीतिशास्त्रमा स्नातकोत्तर गर्न त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस प्रवेश गरेसँगै उनी देखिने गरी संघर्षको मैदानमा उत्रिए। संयोग के भने त्यो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको भ्रमणमा आउने समय थियो। भारतले नाकाबन्दी गरेर नेपालीको दैनिक जीवनयापनमै धावा बोलेपछिको भ्रमण थियो त्यो। मोदीको उक्त कदमको जवाफ आफ्नो तहबाट दिन मन लाग्यो संघर्षलाई।
उनको नेतृत्वमा त्रिभुवन विश्वविद्यालयको घन्टाघरमूनि मोदीको भ्रमण विरुद्ध रिले अनसन सुरु गरियो। रिले अनसन मोदी नर्फकेसम्म जारी राख्नेगरी सुरु भएको थियो। ‘मोदीको नेपाल भ्रमणको विरोधमा उत्रिनुको कारण उनले नेपालमा नाकाबन्दी गरेका थिए। अर्कोतर्फ उनले भारतमै पनि फासीवादको अभ्यास गरिरहेका थिए। पत्रकार गौरी लंकेजसहित कतिको हत्या भएको थियो भने कतिलाई गैरन्यायिक हिरासतमा लिएका थिए,’ संघर्षले कारण खुलाए।
भारतीय प्रधानमन्त्री मोदीको भ्रमणको विरोधमा उत्रिएपछि उनीसहितको टिमलाई प्रहरीले अनसन स्थलमा एक घन्टा भन्दा बढी समय बस्न दिएन। त्यहाँबाट उठायो। ‘हामी प्रहरीको नियन्त्रणमै रहेको बेला ४० घन्टा भन्दा बढी आमरण अनसनमा बस्यौं,’ उनले सम्झिए।
नेपालमा पाकिस्तानको विषयलाई लिएर पनि उनकै नेतृत्वमा विरोध प्रदर्शन भयो। त्यो पाकिस्तानका पूर्वप्रधानमन्त्री जुल्फिकर अलि भुट्टोको हत्या भएयता भएको सम्भवतः दोस्रो विरोध प्रदर्शन थियो। विरोधको कारण थियो– पाकिस्तान विश्वविद्यालयमा अध्ययनरत केही विद्यार्थीलाई त्यहाँका सुरक्षाकर्मीले गिरफ्तार गरेका थिए। नेपालस्थित पाकिस्तानी दूतावासले उनलाई फोन गरेरै त्यसो नगर्न भनेको थियो। तर, संघर्षले स्पष्ट अडान लिए, ‘विश्वको जुनसुकै देशको विश्वविद्यालयबाट पनि अनधिकृत रुपमा सुरक्षाकर्मीले विद्यार्थीलाई गिरफ्तार गर्छ र विद्यार्थी वेपत्ता पारिन्छ भने हामी त्यसको विरुद्धमा हुन्छौं।’
समाजमा भइरहेका थिचोमिचो, अन्याय र विभेदविरुद्ध जुध्ने संकल्प गरेपछि मुद्दाविहीन त हुनै पर्दैन। राजनीतिमा मुद्दा बेलावखत मात्रै आए पनि समाजमा उठाउनु पर्ने मुद्दा कति छन् कति। यस्तै मुद्दामा आफूलाई होम्ने संकल्प गरिरहेका बेला कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भयो। त्यसपछि देशैभर प्रदर्शन तीब्र बने, एक हिसाबले भन्दा सामाजिक आन्दोलनको अवस्था बन्यो। त्यो आन्दोलनमा उनी शुरुदेखि नै सक्रिय भए। आन्दोलन दोषीको खोजी र कारबाहीको मुद्दाबाट भड्किन थालेको उनले त्यो क्रममै महशुस गरे। उनले त्यो क्षण स्मरण गरे, ‘आन्दोलनकै बीचमा गन्जागोल उत्पन्न भयो। केही व्यक्तिको स्वार्थ तथा एनजिओका एजेन्डा मिसिएका कुरा सुनिन थाले। हामी सिंहदरबारको दक्षिणी गेट (निषेधित क्षेत्र)मा विरोध प्रर्दशन गरिरहेका थियौं त्यो बेला। यस्तै कारणले आन्दोलन कमजोर भयो।’
आन्दोलन कमजोर भए पनि आफूलाई महशुस भएका कुरा उठाउन छाड्न हुँदैन भन्ने उनलाई लाग्योे। त्यसपछि उनले सिर्जनशील तरिका अपनाए।
अरु विद्यार्थीसँग पनि जोडिनका लागि कलेजहरूमा पुगेर ५० मिटर कपडामा हस्ताक्षर अभियान सुरु गरे। डेढ महिनासम्म निरन्तर हस्ताक्षर अभियान चलाए। त्यसबाट संकलित हस्ताक्षरलाई संयुक्त राष्ट्रसंघको कार्यालयमा पुर्याए। उक्त आन्दोलनबाट निर्मलालाई न्याय दिलाउन नसकिएकोमा उनलाई थकथकी लाग्छ, ‘यति गर्दा पनि आन्दोलनले मूर्त रुप लिन सकेन। आन्दोलन हाम्रै कमजोरीले पनि उठाउन सकिएन होला।’
त्यो प्रकरणमा आन्दोलन मात्रै होइन, राज्य नै असफल भएको छ। दोषीको पहिचान भएको छैन, निर्मलाका परिवारले न्याय पाउन सकेका छैनन्।
‘अब हामीले नयाँ विचार निर्माण गर्नैपर्छ। त्यसको नेतृत्व गर्ने युवा पुस्ताले नै हो। अहिलेसम्म गरेको योगदानको आधारमा पुरानो पुस्तालाई ससम्मान बिदाई गर्नुपर्दछ।’
अजेन्डा एकपछि अर्को आउने क्रममा राष्ट्रियताको सवाल आइपुग्यो। भारतले नेपाली भूभाग लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई आफ्नो नक्सामा समेटेर सार्वजनिक गर्यो। नेपाली भू-भाग हडपिएको भारतीय नक्साको विरोधमा भारतीय दूतावासअघि विरोध प्रर्दशन गर्न पुग्नेमा एक संघर्ष पनि थिए। त्यो एकत्रित आन्दोलनका लागि विभिन्न दलमा आवद्ध अन्य युवा–विद्यार्थीहरू पनि थिए।
राष्ट्रिय सरोकारका तर राजनीतिक दल बोल्न ‘हच्किने’ विषयमा आवाज उठाउनका लागि संघर्षहरूले एउटा अनौपचारिक समूह बनाएका छन्। उनी भन्छन्, ‘राष्ट्रिय मुद्दा तर दल नबोलेको समय हाम्रो त्यो समूह बोल्छ। आस्था राखेको दलको निर्देशन नकुरी हामी उक्त मोर्चामा सहभागी हुन्छौं। एकिकृत त्यही समूहले भारतले नेपाली भूमिमा बनाएको बाटोको विरुद्धमा आन्दोलन गर्यो। भारतले नेपाली भूमि मिचेर बनाएको बाटोको विरुद्धमा विरोध प्रर्दशन गर्दा प्रारम्भमा हामी ९÷१० मात्रै थियौं।’ त्यसको भोलिपल्ट प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री मोदीको पुत्ला जलाइयो। आन्दोलनले देशव्यापी उभार ल्यायो। प्रहरीले संघर्षलगायत दुतावास पुगेका सवै जनालाई गिरफ्तार गर्यो। तर, प्रदर्शन रोकिएन।
पण्डितबाट आन्दोलनकारी बनाउने घटना
संघर्षले कक्षा १० सम्म संस्कृत भाषालाई महत्व दिएर अध्ययन गरे। उनको परिवारको सुरुवाती चाहना पण्डित बनेर जजमानी गरोस् भन्ने थियो। उनले पूजापाठ गर्ने काम थालिसकेका थिए।
उनको उमेरका धेरै युवामा विदेश गएर पढ्ने र कमाउने सपना थियो। त्यो सपनाको आकाशमा उनले पनि फन्को मारे। उनी आफैंले देखेको समाजको एउटा दृष्यले पण्डित, मठाधिस बन्ने र विदेश जाने दुवै बाटो मोडिदियो।
घटनाको बेलीविस्तार उनले यसरी लगाए, ‘एक दशक अघिको मेरै गाउँको घटना हो। एउटा परिवार जहाँ परिवारको मूली भनिने बुवा छैनन्। आमासँगै दुई बच्चा छन्। आमा अर्काको काममा गएर विहानदेखि साँझसम्म काम गरी फर्किन्थिन्। दिनभर खटेको ज्याला पाँच केजी आँप पाउँथिन्। त्यो आँपलाई ‘कलकत्ते’ आँप भनिन्थ्यो। त्यसरी प्राप्त आँपभित्र किरैकिरा हुन्थे। भोको पेटमा बसेका बच्चाले त्यही आँप पनि खान नपाउने परिस्थिति देखियो। त्यसले मेरो बाल मस्तिष्कमा गहिरो प्रभाव छाड्यो।’
त्यसपछि उनले आफूलाई अर्कै बाटो हिँडाउने सोच बनाए। त्यो आफ्नो गाउँमा मात्र होइन, देशमै व्याप्त भएको कुरा बुझ्दै जाँदा उनलाई संघर्षको बाटो हिँडाउन थप प्रेरित गर्यो।
त्यसपछि उनी नेपाली समाजको समग्र चित्र बुझ्न देशका कुनाकन्दरातर्फ हिँड्न थाले। अशिक्षा, अभाव र गरिबीको विम्ब बनेको कर्णालीमा आफू समाज बुझ्नकै लागि पुगेको उनी सम्झन्छन्। उनलाई महशुस हुँदै गयो, ‘समाज यति पिछडिएको छ कि समानता त कहीँकतै पाइँदै पाइँदैन। काठमाडौंमा नाम चलेका विद्यालयमा पढेको वच्चासँग दुरदराजमा रहेको वच्चाले कसरी प्रतिस्पर्धा गर्न सक्छ? राम्रा विद्यालयमा विद्यार्थी छनोटको माध्यम पैसा हो। शिक्षाकै माध्यमबाट चिरिनुपर्ने विभेद यसैको माध्यमबाट बनिरहेको मैले देश चहारेपछि प्रष्टसँग बुझें।’
त्यसपछि उनलाई लाग्यो, यसको सम्वोधन राजनीतिक तवरले गरिनुपर्छ। राजनीतिक तवरले सम्वोधन गर्न राजनीतिमै होमिनुपर्छ। त्यसपछि मनको कुनै कुनामा वचेखुचेको विदेश गएर पढ्ने र कमाउने सपना सदाका लागि त्यागिदिए। उनको मनमा प्रश्न खेल्न थाल्यो, ‘यहाँको समस्या समाधानतिर म जस्ता युवाले ध्यान नदिएर विदेशिने हो भने समाधान कसले गरिदिने?’
परिवारको रुची अनुसारको अध्ययन गरेर पूजापाठ कर्ममा लागेको भए आफू परिवारका लागि राम्रा बन्न सक्थे। विदेश गएका भए व्यक्तिगत जीवन सहज हुन्थ्यो। तर, उनलाई लाग्छ, ‘म घरमै सिमित भएको भए जीवन सहज चल्थ्यो। तर, समाजमा व्याप्त समस्यै समस्याले मलाई पोलिरहेको हुन्थ्यो।’ त्यसैले उनी यसैमा खुशी छन्, उनको आवाजले परिवर्तन र न्यायका लागि धेरथोर जति भए पनि सघाएको छ।
नेतृत्वको मानक नै गलत
राजनीति गर्नेहरू पनि यही समाजका उत्पादन हुन्। ‘जस्तो समाज छ, नेताको गुण पनि त्यसै समाज अनुसारको हुन्छ,’ संघर्षको सोझो बुझाइ छ। व्यक्तिको सफलतालाई लिएर समाजले तय गरेका मापदण्ड नै गलत लाग्छन् उनलाई। उदाहरण पस्किन्छन्, ‘राम्रो घर, कार, बैंक खातामा पैसा र जायजेथा टन्न भएको व्यक्ति सफल हो। सफलताको मानक यही भएपछि व्यक्तिले यतै ध्यान दिन थाल्छ।’
समाजले बनाइदिएको यही मानकअनुसार सफल हुन युवा पुस्ता राजनीतिक नेतृत्वको भरिया बनिरहेको उनको बुझाइ छ। ठूलो युवा समूह त्यस्तो राजनीतिज्ञका पछि लाग्छन्, जो आफैंमा भ्रष्ट छ। त्यसैले उनलाई लाग्छ, ‘अहिले कोही बढी भ्रष्ट छन् भने युवा पुस्ता छन्। चाकडीमा लिप्त छन्। उदाहरणका रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार बनेपछिको युवापुस्ता हेरौं। अधिकांश युवाले नेतृत्वको चाकडीमा समय बिताए।’
उनी त्रिवि सेवा आयोगमा २९ दिन अनसन बसेका थिए। कारण थियो, त्यहाँ नियुक्त गरिरहेका कर्मचारीको छनोट स्वतन्त्र भएन। त्यो बेला पनि युवा भनिनेको हविगत उनले बुझेका छन्। उनले त्यो बेला निष्कर्ष निकाले, ‘शक्तिमा पुग्न र स्रोतमा बल जमाउनका लागि युवाहरू जुन रुपको पनि चाकडी गर्न तयार छन्।’
राजनीतिक नेतालाई भ्रष्ट बनाउनमा समाजको मापदण्ड पनि दोषी रहेको उनी ठान्छन्। समाजलाई परिवर्तन गर्ने युवा त्यही गलत मानकलाई अंगीकार गर्न कम्मर कसेर लागेको देख्दा पो उनलाई ताज्जुब लाग्छ। भन्छन्, ‘विसंगतिले भरिएको मानकलाई युवाले अनुसरण गरे। गलत मानकलाई परिवर्तन गर्ने दायित्व युवाको हो। गलत प्रवृत्तिको विरोध गर्न सकिँदैन भने राजनीतिमा युवा आउनुको अर्थ के?’
परिवारको समर्थन
जुन रुपको भएपनि आन्दोलन चुनौतीको पर्याय जस्तै हो। सडक आन्दोलन त झन् जोखिमपूर्ण हुन्छ नै। आन्दोलनमा हिँडिरहने र घाइते भइरहने छोराका लागि परिवारको पीर स्वाभाविक हो। तर, संघर्षलाई सडक आन्दोलन गर्न परिवारको पनि समर्थन छ। उनी त्रिविमा अनसन गर्दा आफ्नी आमाले भनेका कुरा सम्झन्छन्, ‘हाम्रो लागि त तँ लडेकै छस्। समाजमा गरिवहरू बाँच्न सक्ने अवस्थामा छैनन्। तिनिहरूको लागि तँ लड्नुपर्दछ।’
उनकी आमाको त्यो भनाइले उनी केही दिन निदाउनै सकेनन्। भोकै बसिरहेको छोरालाई त्यो बेला आमाले ढाडस दिएकी थिइन्। ‘तँ अरुको राम्रोका लागि लडेको छस्। माग पूरा भएपछि मात्रै छाड्नू, बीचमै विश्राम नलिनू।’ आमाको त्यही ममतामिश्रित भरोसाले उनलाई अन्याय विरुद्ध बागी बन्न ऊर्जा दिन्छ।
उनलाई थाहा छ, सवै समस्याको समाधान खोजिने माध्यम राजनीति हो। अहिलेको राजनीतिक नेतृत्वबाट त्यो अपेक्षा उनी राख्दैनन्। त्यहीकारण समस्याको समाधान खोज्ने थलो आफूले सडकलाई बनाएको बताउँछन्।
‘प्रतिगमनका निर्माता प्रचण्ड’
अहिले नेकपा दुई ध्रुवमा छ। पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले नेतृत्व गरेको नेकपाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिगमनकारी करार गर्ने प्रयास गरिरहेको छ। प्रतिगमनको मूल नेतृत्व ओलीले गरे पनि त्यसका निर्माता प्रचण्ड रहेको संघर्षको बुझाइ छ।
उनको तर्क छ, ‘प्रतिगमनका नायक अहिले केपी ओली हुन्। तर, समस्या ओली मात्रै होइनन्। पूँजीवादी संसदीय व्यवस्थाले निर्माण गरेको प्रवृत्ति हुन् ओली। उनको प्रवृत्ति आजको होइन, दश वर्ष अघिकै हो। ओली प्रवृत्तिलाई बलियो बनाउने काम संविधान निर्माण पछि प्रचण्डले गरे। प्रतिगमनकारी ओली भए पनि त्यसको निर्माता प्रचण्ड हुन्।’
प्रचण्ड कुनै अग्रगमनका लागि लडिरहेको भ्रममा युवा पुस्ता पर्न नहुने उनको बुझाइ छ। ‘प्रचण्ड त पार्टीभित्रको अन्तसंघर्ष, एकिकरणपछि प्राप्त गर्न नसकेको सुविधा र शक्तिका लागि लडिरहेका छन्। नेकपा फुट्नुको कारण यही हो,’ उनी स्पष्ट पार्छन्।
संसद विघटनपछि प्रचण्ड–माधव समूह सडकमा छ । यो समूह पुस ४ को अवस्थामा फर्कन चाहन्छ। संघर्षलाईं लाग्छ, ‘यो त अहिलेको संसदीय व्यवस्थाले सिर्जना गरेको परिघटना हो। संसदको पुर्नबहाली हुनासाथ सवै संकट हट्ने होइन।’
‘पुस ४ मा ‘रामराज्य’ थियो त?’ संघर्षको प्रश्न छ। अहिले आफू आन्दोलित हुनुको कारण प्राप्त उपलब्धि नै गुम्ने डर मुख्य भएको उनी बताउँछन्। ‘संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी लगायतका उपलब्धि गुमाउने डरले हामी प्रतिनिधि सभा पुनःस्थापना अर्थात् पुस ४ को कुरा गरिरहेका छौं,’ उनले भने, ‘तर, हामी बढ्नुपर्ने त्यसभन्दा अघि हो।’
नेतृत्वका लागि याचना गर्ने होइन युवाले
नेता बन्नका लागि निश्चित दल र त्यसको नेताको दौराको फेर समात्नुपर्ने परिस्थिति निर्माण भएको छ। यसभन्दा फरक दृष्टिबाट युवाले नसोचेका कारण वयोवृद्ध पुस्ताले राज गरिरहेको बुझाइ उनको छ। उनको दृष्टिकोण छ, ‘सामाजिक आन्दोलनले पनि नेतृत्व जन्मन सक्छ। फरक–फरक दलमा आस्था राख्ने केही युवा साथीहरूको समूह हामीले बनाएका छौं।’
उक्त समूह अहिलेको संसदीय व्यवस्थाले तमाम समस्याको समाधान नगर्ने निक्र्योलमा पुगेको उनी बताउँछन्। उनको भनाइ छ, ‘प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय व्यवस्थामा देश जानुपर्दछ। प्रत्यक्ष राष्ट्रपतीय व्यवस्थामा जान सकियो भने प्रधानमन्त्रीले कुुर्सी जोगाउन यो प्रकारको हर्कत गर्नुपर्ने थिएन। आफूलाई हटाउने त्रास भएपछि प्रधानमन्त्रीले संसद भंग गर्ने अवस्था आउँदैन।’
यसैपनि अहिलेको निर्वाचन प्रणालीबाट समाजका लागि केही गरौं भन्ने व्यक्ति छानिएर आउने सम्भावना कम रहेको जागजाहेर छ। निर्वाचन प्रणाली महँगो हुँदै गइरहेको छ। पैसावालाले उम्मेदवारको टिकट पाउँछन्। क्षमता भएका तर आर्थिक रुपमा कमजोर व्यक्तिले टिकट पाउन नसकेको उनले देखेका छन्। ‘निर्वाचन खर्चिलो हुँदा भ्रष्टचार बढेको छ। निर्वाचनमा भएको खर्च विजयी भइसकेपछि उठाउँछन्। राष्ट्रपतीय व्यवस्थामा समाजमा विभिन्न क्षेत्रका विज्ञ सम्मिलित गरि मन्त्रिमण्डल बन्छ। सांसदको कार्य कानून बनाउने कार्यमा मात्रै हुन्छ। बजेटसँग सांसदको साइनो हट्ने वित्तिकै भ्रष्टाचारमा कमि आउँछ। ओली प्रवृत्तिको पुनरावृत्ति पनि हुन सक्दैन,’ उनको बुझाइ छ।
नेपालमा युवाहरूले आफूलाई नेता बनाउन राजनीतिक दलका नेताहरूसँग याचना गर्नुपर्ने कारण उनले देखेका छैनन। नेपाली समाज युवामैत्री ठान्छन्। नेपाली समाजले युवालाई रुचाइरहेका प्रशस्त उदाहरण छन्। तर, त्यही अवस्था भारतमा नभएको उनी बताउँछन्।
राजनीतिमा अघि बढ्ने क्रममा अरुको उपकार खोज्ने प्रवृत्तिले युवालाई नेता बनाउन नसकेको उनको बुझाइ छ।
‘मलाई नेतृत्व देऊ भनेर हुने पनि होइन। नेतृत्वका लागि संघर्ष गर्नुपर्दछ। हाम्रो युवापुस्ताको कमजोरी के रह्यो भने पार्टी भित्र लड्न तयार नै भएन। चाकडी र चाप्लुसीमा युवा व्यस्त भए,’ उनको अनुभूति छ, ‘नेतालाई रिझाउन घर धाउने प्रवृत्ति छ। साहस नभएका युवाको संख्या उल्लेख्य छ।’
संघर्ष अहिले प्रधानमन्त्री ओलीको निन्दा गर्छन्, सँगै ओलीले समेत युवा अवस्थामा संघर्ष गरेको उदाहरण दिँदै युवालाई जाग्न उत्प्रेरित गर्छन्। ‘२०४६ अघिका केपी संघर्षशील हुन्। प्रचण्ड, वैद्य, बाबुरामले पनि युवा अवस्थामा संघर्ष गरे। शेरबहादुर देउवा २६ वर्षको उमेरमा नेविसंघको अध्यक्ष बनेका थिए। अहिले नेविसंघको अध्यक्ष मेरो बुवाको उमेरका छन्। अहिलेका युवा संघर्षमा होइन, नेताको घर धाउनमा व्यस्त छन्। आफ्नो स्वार्थका लागि हामीले नेतासँग प्रश्न गर्नै सकेनौं। प्रश्न गर्न नसकेकै कारण हजुरबुवा पुस्ताबाट शासित हुनु परिरहेको छ,’ उनले भने।
अहिलेका सबैजसो दलको राजनीतिक संरचना एकै प्रकारको रहेको उनले देखेका छन्। त्यहीकारण युवा पुस्तालाई उपल्लो तहमा स्थान नभएको उनी बताउँछन्। ‘पार्टी भित्रको सत्ताले युवापुस्तालाई मूल नेतृत्वमा देख्न चाहदैन,’ युवा पछि पर्नुको कारण उनी यसरी अथ्र्याउँँछन्।
उनले बुझेका छन्– ‘आदर्श र निष्ठाले मात्रै जनताको समस्या समाधान गर्न सकिँदैन। जसलाई आदर्श मानिरहेर हामी हिडेंका छौं, यिनीहरूले नै देशलाई अगाडी बढाउन नसक्नेमा म विश्वस्त छु।’
सडक आन्दोलनमा सहकार्य गर्ने फरक–फरक दलमा आवद्ध युवा समुहका युवाहरू पनि यसमा सहमत रहेको उनी बताउँछन्। त्यसैले भन्छन्, ‘अब हामीले नयाँ विचार निर्माण गर्नैपर्छ। त्यसको नेतृत्व गर्ने युवा पुस्ताले नै हो। अहिलेसम्म गरेको योगदानको आधारमा पुरानो पुस्तालाई ससम्मान बिदाई गर्नुपर्दछ।’
भिडियो
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।