काठमाडौं– नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा सूचीकृत कम्पनीहरूको चालु आर्थिक वर्ष २०८२/८३ पहिलो त्रैमासिक वित्तीय अवस्थाले समग्र धितोपत्र बजार नकारात्मक भएको छ।
आइतबार नेप्से परिसूचक ३० अंक घटेको हो। योसँगै आज २५६६ विन्दुमा झरेको छ। परिसूचक घटेसँगै कारोबार रकम पनि घटेको छ।कारोबार रकम पनि ४ अर्ब ९० करोड रुपैयाँमा सीमित भएको छ।
आइतबार कारोबार सुरु भएदेखि निरन्तर घटेको नेप्से सूचक बन्द हँुदासम्म कायम रह्यो। कारोबार सुरु हुँदा २५९८.४ अंकमा रहेको नेप्से सूचक ३०.०२ अंक अर्थात् १.१५ प्रतिशतले घटेर २५६६.०९ अंकमा झरेको छ।बिहीबार नेप्सेमा ५ अर्ब ३२ करोड रुपैयाँ बराबर कारोबार भएको थियो।
अधिकांश कम्पनीको सेयर मूल्य घटेपछि त्यसको असर समग्र सूचकमा परेको नेप्सेले जनाएको छ। २ सय २२ कम्पनीको सेयर मूल्य घटकेो छ। त्यसैगरी २८ कम्पनीको सेयर मूल्य बढेको छ भने एक कम्पनीको सेयर मूल्य स्थिर छ।
कारोबार भएका सबै समूहगत परिसूचक घटेका छन्। बैंकिङ १७.७२ अंकले घटेको छ भने विकास बैंक समूह ९८.६१ अंक घटेको नेप्सेले जनाएको छ।
त्यसैगरी वित्त ६९.४९, होटल ४३.३८, जलविद्युत् ३९.४०, लगानी १.६३, जीवन बीमा १७४.९५, उत्पादनमूलक ६२.१२, लघुवित्त ६२.८६, सामूहिक लगानी कोष ०.२१, निर्जीवन बीमा १४४.६८, अन्य समूह ३.०३ र व्यापार समूह २१.९५ अंकले घटेको छ।
आइतबार नेप्सेमा ३ सय २३ कम्पनीको ४७ हजार २ सय ६८ कारोबारबाट ४ अर्ब ९० करोड ७६ लाख रुपैयाँ बराबर १ करोड ६ लाख १९ हजार कित्ता सेयर खरिद–बिक्री भएको छ।
आइतबार दरमखोला हाइड्रो, मैलुङ इनर्जी, सागर डिस्टिलरी, रुरु जलविद्युत् कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको नेप्सेले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।