काठमाडौं- नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा फाइभजी सेवा विस्तारका लागि आवश्यक फ्रिक्वेन्सी तय गरेको छ। प्राधिकरण सञ्चालक समितिको बैठकले फाइभजी विस्तारका लागि फ्रिक्वेन्सीको विषयमा निर्णय गरेको हो।
फ्रिक्वेन्सीका लागि प्राधिकरणले राष्ट्रिय फ्रिक्वेन्सी व्यवस्थापन समिति गठन गरेको थियो। सोही आधारमा प्राधिकरण सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो।
प्राधिकरणको निर्णयसँगै अब नेपालमा फाइभजी सेवा सञ्चालन गर्ने बाटो खुलेको छ। अध्ययन समितिले दिएको सिफारिसका आधारमा प्राधिकरण बोर्डले फाइभजीका लागि फ्रिक्वेन्सी उपलब्ध गराउने निर्णय गरेको प्राधिकरणको भनाइ छ। प्राधिकरणले अब सञ्चार मन्त्रालय अन्तर्गत रहेको रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिमा सिफारिस गर्ने।
अब सोही आधार फ्रिक्वेन्सी निर्धारण हुने छ। प्राधिकरणका अनुसार हालसम्म भएको प्रगतिअनुसार फाइभजीका लागि ७००, २३००, २६००, ३३००, ३४००, ३६०० र ४७०० मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सी मध्येबाट आवश्यकता अनुसार उपयुक्त फ्रिक्वेन्सी सिफारिस भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।