काठमाडौं- नेपाल टेलिकमले आफ्नो स्थापनाको १७औं वार्षिकोत्सव मनाएको छ। १७ औं वार्षिकोत्सव बनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपाल टेलिकमलाई ग्राहकको विश्वासप्राप्त, भरोसायोग्य, प्रतिस्पर्धामा अब्बल सावित भएको मुलुककै अग्रणी दूरसञ्चार सेवा प्रदायकका रुपमा स्थापित गर्न लाग्नुपर्ने बताएका छन्।
मन्त्रीले फोरजी सेवा मुलुकभर विस्तार गरी यसै आर्थिक वर्षमा फाइभ जीको परीक्षण गर्न पनि निर्देशन दिएका छन्।
‘दूरसञ्चारको पूर्वाधार विकास गर्ने सम्बन्धमा मुलुकमा हाल विद्यमान ढिलाइ र बढ्दो लगानी न्यूनीकरण गर्न पूर्वाधार विकासका लागि छुट्टै कम्पनी स्थापना गर्नुस्,’ मन्त्री गुरुङले भने, ‘वार्षिकोत्सवका अवसरमा समग्र व्यवस्थापन, नीति, सेवागत क्षेत्रमा देखिएका चुनौतीहरुका सम्बन्धमा समीक्षा गरी तिनलाई सम्बोधन गर्नुपर्छ।’
कार्यक्रममा कम्पनीका सेवाका बारेमा आर्टिफिसियल इन्टेलिजेन्सको उपयोगमार्फत् जानकारी हासिल गर्न सकिने च्याटबट सेवाको समेत सफ्ट लन्च भएको छ। यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्रालयका सचिव तथा कम्पनी सञ्चालक समितिका अध्यक्ष हरिप्रसाद बस्यालले महामारीका समयमा मानवीय सेवा र गतिविधिलाई निरन्तर, सहज र सामान्य बनाउनेतर्फ ग्राहकवर्गले उपयोग गरेका अनलाइन कक्षा, अनलाइन बैठक, अनलाइन किनमेललाई कम्पनीका सेवाहरुले निकै सहयोग गरेकाले यसलाई निरन्तरता दिन फोरजी र एफटिटिएच सेवाको विस्तारलाई थप प्राथमिकतामा राख्नुपर्ने बताएका थिए।
सो कार्यक्रमका विशेष अतिथि नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले शुभकामना मन्तव्यकै क्रममा कम्पनीले नाफालाई मात्र प्राथमिकतामा नराखी मुलुकका सबै भूभाग र वस्तीहरुमा सेवा प्रदान गरेको बताए।
नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले कम्पनीको समग्र अवस्थाबारे जानकारी गराउँदै कम्पनीले १७ औं वार्षिकोत्सवका अवसरमा मुलुकभर फोरजी मोबाइलमा चलाउन मिल्नेगरी आकर्षक सुविधासहितको फोरजी वायरलेस होम ब्रोडब्यान्ड सर्भिस र मेसिन टु मेसिन डाटा र एसएमएस प्याक सेवाको सुरुवात गरेको जानकारी गराएका थिए।
फोरजी वायरलेस होम ब्रोडब्यान्ड सेवाबाट एफटिटिएच वा तारवाला टेलिफोन नपुगेका वा वाइफाई सेवा उपलब्ध नभएका तर वायरलेस माध्यमबाट धेरै डाटा चलाउने मुलुकभरका फोरजी ग्राहकहरुले सिपिई प्रयोग गरी सुलभ दरमा इन्टरनेट प्रयोग गर्न सक्ने उनको भनाइ थियो। हाल यो सेवा प्रतिमहिना ९ सयमा ६० जिबी,१५ सयमा १२० जिबी, वार्षिक ९ हजार ६ सय रुपैयाँमा ७ सय २० जिबी र १६ हजार रुपैयाँमा १ हजार ४ सय ४० जिबी उपलब्ध हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।