काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले डिजिटल नेपाल फ्रेमवर्कलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
मन्त्रालयद्वारा आयोजित डिजिटल नेपाल फ्रेमवर्कसम्बन्धी अन्तर्क्रियामा सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले नेपाललाई विकसित र शक्तिशाली राष्ट्रसँग प्रतिस्पर्धा गरेर अघि बढ्नका लागि डिजिटल नेपाल फ्रेमवर्कलाई सफल र प्रभावकारी ढंगले अघि बढाउनुपर्नेमा जोड दिए।
डिजिटल नेपाल फ्रेमवर्क रुपान्तरणकारी कार्यक्रम भएको उल्लेख गर्दै त्यसलाई सफल बनाउने गरी सरकारलाई सहयोग गर्न सरोकार निकायलाई आग्रह गरे। मन्त्री गुरुङले भने, 'सूचना र प्रविधिका क्षेत्रमा पनि विकसित र शक्तिशाली राष्ट्रसँग प्रतिस्पर्धा गरेर अघि बढ्नाको विकल्प छैन, सूचना र प्रविधिको विकासका लागि सरकारलाई सहयोग गर्न सरोकारवाला सबैलाई आग्रह गर्दछु।'
मन्त्री गुरुङले डिजिटल नेपाल फ्रेमवर्कलाई सफल बनाउन सरोकार निकायसँगको सहकार्यमा जोड दिइने नीति लिएको बताउँदै सरकारले सूचना र प्रविधि क्षेत्रको विकासका लागि अन्तर्राष्ट्रियस्तरको ‘सूचना प्रविधि लगानी सम्मेलन’ आयोजना गर्ने तयारी गरिरहेको जानकारी दिए।
मन्त्री गुरुङले विज्ञको रायसुझाव ग्रहण गरेर सूचना प्रविधिको विकासको कामलाई तीव्रता दिन मन्त्रालयले विज्ञको रोष्टर बनाउने कामलाई अन्तिम चरणमा पुर्याएको पनि जानकारी दिए।
सो अवसरमा मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयनको कामलाई प्रभावकारी बनाउन सरोकार निकायसँग सहकार्य गरेर अघि बढ्न मन्त्रालय तयार रहेको बताए। विज्ञले सूचना प्रविधिको विकासका लागि कानूनी, नीतिगत र लगानीमैत्री वातावरण निर्माण गरिदिन मन्त्री गुरुङको ध्यानाकर्षण गराएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।