काठमाडौं– ३८ सय किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा मोरङ जिल्ला अदालतमा आइतबार हुने बहसमा १० वरिष्ठ अधिवक्ता र अधिवक्ताहरु गरी ८० जनाले अभियुक्तहरुको बचाउमा उत्रने भएका छन्।
शुक्रबारसम्म बकालतानामा पेश गरेको अभियुक्तहरुका कानुन व्यवसायी भरतबहादुर थापाले बताए। जिल्ला अदालतको इतिहासमा पहिलो पटक यति धेरै कानुन व्यवसायी एउटै मुद्दामा बहस गर्न उत्रन लागेका हुन्। ६३ जना अभियुक्त विरुद्ध दायर भएको सुन तस्करी, संगठित अपराध र कर्तव्य ज्यान मुद्दामा यति धेरै कानुन व्यवसायीले बहस गर्न लागेका हुन्।
जिल्ला अदालतमा शुक्रबारसम्म सरकारी वकिलले पक्षले बहस गरेका छन्। यो मुद्दामा ८ सरकारी वकिलको टिम बनेको थियो। पहिलो दिन तीन जना सरकारी वकिल बहस गरेका थिए। जसमा सह-न्यायाधिवक्ता गोपाल रिजाल, जिल्ला न्याधिवक्ता पुण्यप्रसाद पाठक, उच्च अदालतका निमित्त सह-न्यायाधिवक्ता मनोज आचार्यले बहस गरेका थिए।
बाँकी रहेका पाँच जना सरकारी वकिलले शुक्रबार बहस गरेका थिए। सह-न्यायाधिवक्ता चिरञ्जीवी पराजुली, उप-न्यायाधिवक्ता हिमालय त्रिताल, जिल्ला न्यायाधिवक्ता पुण्यप्रसाद सापकोटा, सहायक जिल्ला न्यायाधिवक्ताहरु रोहित पोखरेल र पदम वस्तीले शुक्रबार अभियुक्तलाई थुनामै राखी मुद्दाको किनारा गर्न माग गरे।
अभियुक्तको पक्षमा बहस गर्न वरिष्ठ अधिवक्ताहरू रमेश कोइराला, हिक्मत पौडेल, विपुलेन्द्र चक्रवर्ती, सुरेशलाल श्रेष्ठ, राजेन्द्र भट्टराईको नाम प्राप्त भएको कानुन व्यवसायी थापाले बताए। चक्रवर्ती सर्वोच्च अदालतको न्यायाधीश अस्वीकार गरी बसेका मोरङका वरिष्ठ अधिवक्ता हुन्। काठमाडौंबाट वरिष्ठ अधिवक्ता सुशील पन्त, शम्भु थापा, यदुनाथ खनाल, रमण श्रेष्ठ, सुनिल पोखरेल, सतिषकृष्ण खरेल, उद्धव केसी, रामचन्द्र सुवेदी लगायतका अधिवक्ता विराटनगर आइतबार बहसमा उत्रने तयारीमा छन्।
त्यस्तै, अभियुक्तका तर्फबाट अधिवक्ताहरू देवीबहादुर घिमिरे, हेमराज पन्त, विकास थापा, देवेन्द्र कोइराला, नारायण वस्ती, रामप्रसाद भण्डारी, शान्तिराम भण्डारी, रूपेश कोइराला, दीपक खतिवडा, यमबहादुर मगर, लक्ष्मण न्यौपाने, मधुसुदन चौधरी, भक्ति माझी, विश्वराम भट्टराई, रेखा थापा, कविता बस्नेत, पुष्करचन्द्र घिमिरे, खगेन्द्रबहादुर श्रेष्ठ, डिल्लीबहादुर कार्की, अशोक पोखरेल, मोहन कोइराला र टंक उप्रेती लगायत ३० जनाले बहस गर्नेछन्।
प्रहरीको एक महिना लामो अनुसन्धानपछि गत बुधबार जिल्ला सरकारी वकिलको कार्यालयले बहालवाला प्रहरी अधिकृतसहित २९ जनालाई पक्राउ गरी आरोपपत्रसँगै अदालतमा पेस गरेको थियो। उनीहरु विरुद्ध संगठित अपराध अन्तर्गत आपराधिक समूह स्थापना गरी सुन चोरी–पैठारी र निकासी गरेको, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता भएको छ।
सरकारी वकिलको कार्यालय मोरङले गत बुधबार बहालवाला एसएसपी, अन्य प्रहरीका उच्च अधिकारी लगायत ६३ जना विरुद्ध मुद्दा दायर गरेको थियो।
मिलेमतोमा सुन तस्करी गर्ने चुडामणि उप्रेती ‘गोरे’ समूहले त्रिभुवन विमानस्थलबाट हालसम्म ३८ सय किलो सुन तस्करी गर्दै १७ अर्ब १ करोड ८० लाख रुपैयाँ राज्यलाई नोक्सान पुर्यााएको दाबी गरिएको थियो। सरकारी वकिलको कार्यालयले उक्त रकम बिगोका रुपमा उनीहरुसँग असुल हुनुपर्ने माग–दाबी गर्दै जिल्ला अदालत मोरङमा मुद्दा दायर गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।