जनकपुर– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विकासका लागि दुई देशबीच सहकार्य हुनुपर्नेमा जोड दिएका छन्। छिमेकीहरुमध्ये नेपाल आफूहरुकै अगाडि रहेकै बताउँदै उनले विकासमा सहयोग गर्ने आश्वासन दिएका छन्।
जनकपुरमा नागरिक अभिनन्दनपछि बोल्दै उनले दुई देशबीचको मित्रता त्रेता युगदेखिको भएको बताउँदै आफ्नो भ्रमणले सम्बन्धलाई अझ बलियो बनाउने बताए। भाषणका क्रममा उनले नेपालको संविधान संशोधन तथा नाकाबन्दीको विषयमा केही बोलेनन्। नाकाबन्दी लगाएको विषयलाई लिएर विरोध भइरहेका बेला उनले त्यो विषयमा केही नबोलेका हुन्। यसअघि उनले सबैलाई स्वीकार्य संविधान बनाउन जोड दिँदै आएका थिए। तर, यसपटक संविधानका विषयमा केही बोलेनन्। संविधानमै असन्तुष्टि जनाउँदै भारतले दुई वर्षअघि अघोषित नाकाबन्दी लगाएको थियो।
दुई देशबीचको चुनौती, आशा र गन्तव्य समान भएको उनको भनाइ छ। मिथिला क्षेत्रको प्रवर्द्धनमा आफूले सक्दो सहयोग गर्ने उनले बताए। एक वर्षमा तीन चरणको चुनाव गराउन सफल भएकोमा नेपाललाई बधाई दिए। नयाँ सरकार बनेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले विकासको भिजन बनाएको र त्यसमा आफूहरुबीच सहकार्यबारे छलफल भएको उनले जानकारी गराए।
‘एकअर्काको घर आउने जाने भएपछि मित्रता अझ बलियो हुने भएकाले मेरो यो भ्रमण भएको हो,’ उनले भने,‘मेरो भ्रमणले विश्वास अझै बढाउनेछ।’
नेपाल भारतबीच उनले हकार्यका ५ ‘टी’ को मोडलसमेत सुनाए। । ट्रेडिसन (परम्परा), ट्रेड (व्यापार), टुरिजम (पर्यटन), टेक्नोलिटी (प्रविधि) र ट्रान्सपोर्ट (यातायात) को क्षेत्रमा दुई देशबीचको सहकार्य गरेर अघि बढ्नुपर्ने उनको भनाइ छ। उनले दुई देशबीचको ‘कनेक्टिभिटी’मा पनि जोड दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।