जनकपुरधाम- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री केपी ओलीले आज अयोध्यसम्म पुग्ने बस सञ्चालनको शुभारम्भ गरेसँगै रामायण सर्किट अन्तर्गत जनकपुर-अयोध्या जोडिएका छन्।
सन् २०१४ मा मोदीको नेपाल भ्रमणका क्रममा अयोध्या र जनकपुरबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्ध प्रवर्द्धन र विकासका लागि नेपाल सरकारसँग गरिएको सम्झौताअनुरूप रामायण सर्किट परियोजना सुरु भएको हो।
समृद्ध सांस्कृतिक विविधताको संरक्षण गर्ने अभियानअन्तर्गत मिथिलाको जनकपुरधाम र भारतको अयोध्याबीच सामाजिक, सांस्कृतिक र धार्मिक सम्बन्ध विस्तार एवं तीर्थाटनको प्रवर्द्धन परियोजनाको उद्देश्य रहेको छ।
भारतको पर्यटन मन्त्रालयबाट भारतभर दर्शन योजनाअन्तर्गत विकसित १३ विषयगत सर्किटमध्ये रामायण सर्किट एक हो। यो परियोजनाभित्र अयोध्या, शृङ्गपुर, चित्रकुट, सीतामढी, बक्सर दरभंगा, नन्दीग्राम महेन्द्रगिरि, जगदलपुर, भद्राचलम, रामेश्वरम्, हम्पी, नासिक र नागपुर समेटिने छन्। नेपालतर्फ जनकपुरधाम लगायत भगवान् राम र सीताको जीवनगाथासँग जोडिएको धार्मिक स्थलको विकास गर्ने लक्ष्य परियोजनाले राखेको छ।
संस्कृतिविद् रामभरोस कापडीका अनुसार रामायण सर्किट परियोजना बृहत् रामायण कालको विस्तार नेपाल, भारत र श्रीलंकासम्म भएको पृष्ठभूमिमा आधारित परियोजना हो। यसमा राम र सीताको पाइलाले जहाँजहाँ स्पर्श गरेको छ ती क्षेत्रसँग जोड्ने प्रयास हो।
जनकपुरधाम आउने पर्यटकमध्ये ७० प्रतिशत भारतीय तीर्थयात्री हुने गरेका कारण पनि रामायण सर्किटले थप पर्यटकलाई आकर्षण गर्ने विश्वास गरिएको छ।
प्राध्यापक डा महेन्द्रनारायण मिश्र रामायण सर्किटको परिकल्पनाले रामायणकालीन सभ्यता र संस्कृति जीवन्त राख्न मद्दत पुग्ने धारणा व्यक्त गर्छन्।
परियोजना सम्पन्न भएपछि जनकपुरधाम र अयोध्याबीचको ६५० किलोमिटर भूखण्डमा कृषि, औद्योगिक, परिवहन र पर्यटन क्षेत्रको विकासले फड्को मार्ने विश्वास लिइएको छ।राससको सहयोगमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।