जनकपुरधाम- प्रधानमन्त्री केपी शर्मा ओलीले रामायण सर्किटबारे विभिन्न समयमा विभिन्न सहमति र सम्झौता भए पनि काममा भने विलम्व हुने गरेको बताएका छन्। नेपालको दुई दिने राजकीय भ्रमणमा जनकपुर आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जानकी मन्दिरमा स्वागत गर्दै प्रधानमन्त्री ओलीले एक्काइसौं सताब्दीमा काममा विलम्ब गर्न नहुने बताए।
रामायण सर्किट अन्तर्गत जनकपुर-अयोध्या-जनकपुर बस सेवा सञ्चालनको संयुक्त उद्घाटन कार्यक्रममा ओलीले भने, 'यसअघि पनि विभिन्न समयमा, विभिन्न सहमतिहरु भएका छन्, सम्झौताहरु भएका छन् तर काममा विलम्म भएका छन्। म आग्रह गर्न चाहन्छु, अब काममा विलम्ब होइन, हामीसँग विलम्व गर्ने समय छैन, हामी एक्काइसौं सताब्दीमा छौं।'
भारतीय प्रधानमन्त्री मोदीको सम्बोधनपछि बोलेका प्रधानमन्त्री ओलीले जनकपुर-अयोध्या जोड्ने रामायण सर्किटबारे रामायणदेखिकै कथा उठाएर चर्चा गरेका थिए।
'जनकपुर भन्ने बित्तिकै, जानकीको कुरा आउने बित्तिकै गुरु बाल्मिकीको सम्झना आउँछ। बाल्मिकी आश्रमको सम्झना आउँछ। लभ-कुश खेलेको, हुर्किएको ठाउँको सम्झना आउँछ। र सीताले आफ्नो जीवनको उत्तरार्धमा बिताएका समयहरु, तिनीहरुको सम्झना आउँछ,' उनले भने, 'अर्थात हामी पवित्र रामायण सर्कलको आज चर्चा गरिरहेका छौं, जहाँ राम सीताको समग्र जीवन चक्र जोडिएको छ। त्यसलाई विकास गर्न चाहन्छौं। त्यसै अनुरुप आज हामी जनकपुरबाट नेपाल-भारत मैत्री बस सेवा जनकपुर-अयोध्या-जनकपुर, त्यसको शुभारम्भ गर्दैछौं।'
उनले बृहत् रामायण सर्किटको विकास कसरी गर्ने कामलाई अगाडि बढाउने बताए। प्रधानमन्त्री ओलीले रामायण सर्किटको सम्बन्धमा काम अघि बढाउने एउटा संकेत स्वरुप, मित्रताको संकेत स्वरुप बस सेवा सुरु गरेको बताए।
उनले भने, 'आज, अहिले, यतिबेला म अरु कुनै सन्दर्भहरुमा जान उचित ठान्दिनँ। यो पवित्र ज्ञानभूमीमा आज भारतका सम्माननीय प्रधानमन्त्री नरेन्द्र मोदीजी आउनु भएको छ, खुसी व्यक्त गर्न चाहन्छु। भारतका प्रधानमन्त्री मित्र नरेन्द्र मोदीज्युलाई हार्दिक स्वागत गर्न चाहन्छु।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।