काठमाडौं– जनकपुरको कार्यक्रम सकेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आउँदा यहाँको सडक २५ देखि ३० मिनेटसम्म खाली गराइने भएको छ।
दुईदिने भ्रमणका लागि आएका मोदीलाई जनकपुरमा नागरिक अभिनन्दन गरिएको छ। उनी केहीबेरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रनेछन्। सुरक्षालाई ध्यानमा राखी मोदको सवारी चल्ने रुटका सडक खाली गर्न लागिएको हो। जसका कारण झन्डै आधा घन्टा सास्ती भोग्नेछन्।
विमानस्थलबाट उनी गौशाला, चाबहिल हुँदै बौद्धस्थित हायात होटलमा पुग्नेछन्। मोदीको हेलिकोप्टर विमानस्थलमा अवतरण भएलगत्तै सिनामंगलदेखि सडक खाली गराउने तयारी छ। मोदीको कार्गेड चाबहिल पुगेपछि मात्र सिनामंगलबाट सवारीसाधन चल्न दिइने ट्राफिक महाशाखाका एक अधिकारीले बताए।
उनका अनुसार सो क्रममा दुईतर्फी रुपमै सवारी प्रभावित हुनेछन्।
आजै हायात होटलबाट 'गार्ड अफ अनर' ग्रहण गर्न मोदी टुँडिखेल प्रस्थान गर्नेछन्। चाबहिल, गौशाला, एयरपोर्ट, तीनकुने, बानेश्वर, माइतीघर हुँदै उनी टुँडिखेल जानेछन्। मोदी गौशाला कटेपछि मात्र बौद्धबाट सडक खुला गरिनेछ। टुँडिखेलमा मोदी करिब ५ मिनेट मात्र बस्नेछन्। गार्ड अफ अनरका लागि ४ बजेको समय तोकिए पनि उनी जनकपुरबाट आउन निर्धारित समयभन्दा ढिला भएकाले समय सर्न सक्नेछ।
आजै उनी उपराष्ट्रपति नन्दबहादुर पुनसँग भेट्न बहादुर भवनमा जानेछन् भने त्यसपछि राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट्न शीतल निवास जाने कार्यक्रम छ। यो अवधिमा पनि सो सडकखण्ड करिब १५ मिनेट अवरुद्ध हुनेछ।
शीतल निवासबाट मोदी साँझ महाराजगञ्ज, चाबहिल, गौशाला हुँदै द्वारिकाज होटलमा पुग्नेछन्। बेलुका हायातमै फर्कने कार्यक्रम छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।