काठमाडौं–अब मोबाइल एपबाटै व्यवसायिक योजना तयार गर्न सकिने भएको छ। निड्स नेपाल प्रालिले डिजिटल प्रविधिमार्फत् छिटो छरितो रुपमा व्यावसायिक योजना निर्माण गर्न सक्ने 'बिज सुत्र' नामक मोबाइल एप सार्वजनिक गरेको हो। यो एप स्मार्ट मोबाइल फोनको प्ले स्टोरबाट डाउनलोड गरी प्रयोग गर्न सकिन्छ । जसको प्रयोग गरी आधादेखि २ घण्टामा योजना तयार गर्न सकिने कम्पनीले जनाएको छ।
उक्त एपको प्रयोगमार्फत् आफूले संचालन गर्न चाहेको नयाँ व्यवसाय वा संचालन भईराखेको व्यवसायकोे तथ्याङ्क तथा सूचनाहरु उद्यमी स्वयंले एपमा प्रविष्ट गर्न सक्छन्। तिनै तथ्याङ्क तथा सूचनाकाे विश्लेषणका आधारमा एपमार्फत्नै विशिष्ट ढाँचामा व्यावसायिक योजना निर्माण हुने प्रविधि राखिएको छ। जुन योजनामा व्यवसायको व्यवस्थापकीय पक्ष, बजार योजना, वित्तिय विश्लेषण, व्यवसायको सबल पक्ष, अवसर तथा चुनौतीजस्ता महत्वपूर्ण पक्षहरु समेटिएको उल्लेख गरिएको छ ।
यसरी मोवाइल एपबाट प्रविष्ट गरिएका तथ्याङ्क तथा सूचनाहरुलाई निड्स नेपाल प्रा.लिको सर्भरमा सुरक्षित र व्यवस्थित गरिएको प्रालिले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।