जनकपुर- दुईदिने नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज पहिलो दिन जनकपुरको जानकी मन्दिरमा पूजा अर्चनापछि सम्बोधन गरेका छन्।
सम्बोधनमा के भने मोदीले? यस्तो छ पूर्णपाठ-
एकादशीको पावन पर्वमा माता जानकीको चरणमा आउने मलाई सौभाग्य मिल्यो। भारतको प्रधानमन्त्रीको रुपमा आज जनकपुरमा राजा जनककी सुपुत्री माता जानकीलाई प्रणाम गर्ने सौभाग्य प्राप्त भयो। यो पनि ऐतिहासिक पल हो कि नेपालका आदरणीय प्रधानमन्त्री, मेरा भाइसा'ब आदरणीय ओलीजी मेरो स्वागतका लागि स्वयम् काठमाडौंबाट यहाँ आउनुभयो। मलाई स्वागत गर्नुभयो। माता जानकीको पूजाअर्चनाका लागि उत्तम प्रबन्ध गर्नुभयो। म नेपाल सरकार, राज्य सरकार, नगर सरकार र स्वयम् प्रधानमन्त्री ओलीजीलाई अन्तस्करणबाटै आभार प्रकट गर्दछु।




सायद निमित्त रुपमा म भारतको प्रधानमन्त्रीको रुपमा यहाँ उपस्थित भएको छु। तर नेपालले जुन स्वागत र सम्मान दिएको छ, यो हजारौं वर्षदेखि चल्दै आएको परम्पराको सम्मान हो। सवा सय करोड हिन्दुस्तानीको सम्मान हो। आज मलाई आदरणीय प्रधानमन्त्री ओलीजीको साथमा यो भन्न पाउँदा असाध्यै खुसी लागेको छ कि, विश्वभर पर्यटन तीव्र गतिमा अघि बढिरहेको छ। पर्यटनको क्षेत्रमा सवैभन्दा बढी विकास भइरहेको छ। 'रामायण सर्किट' दुवै देशका करोडौं यात्रीको यात्राका लागि मिसाल हो। दुवै देश मिलेर तयार पारिएको भावी योजनाको लागि 'रामायण सर्किट' एक सुरुवात हो।
मेरो लागि यो खुसीको कुरा हो कि जुन उत्तर प्रदेशले वनारसमा सांसद बनायो, सवा सय करोड भारतीय देशवासीले मलाई प्रधानमन्त्री बनाए, सदियौंदेखि अयोध्या र जनकपुरको नाता अटुट छ, अविस्मरणीय छ, आज त्यहि ठाउँमा जनकपुर–अयोध्या सिधा बस सेवा सुरु भएकोमा प्रधानमन्त्री र प्रशासनलाई धन्यवाद दिन्छु।
भविष्यमा आर्थिक विकासका लागि सांस्कृतिक सम्बन्धलाई बलियो बनाउन तथा ‘पिपुल टु पिपुल कन्ट्याक्ट’ का लागि यो कार्यले मार्ग प्रशस्त गरेको छ। फेरि पनि आदरणीय प्रधानमन्त्री ओलीजी, नेपाल सरकार, राज्य सरकार, नगर सरकारलगायत सबैलाई हार्दिक आभार!
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।