जनकपुर– दुई दिने नेपाल भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आइपुगेका छन्।
४१ सदस्यीय टोलीको नेतृत्व गर्दै मोदी जनकपुर आइपुगेका हुन्। उनी एयर इन्डियाको विमानबाट नयाँ दिल्लीबाट जनकपुर विमानस्थल ओर्लिएका हुन्।
जनकपुरमा मोदीलाई नेपालका रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले स्वागत गरेका हुन्। विमानस्थलबाट मोदी जानकी मन्दिर जाने छन्। त्यहाँ उनलाई प्रधानमन्त्री केपीशर्मा ओलीले स्वागत गर्नेछन्। दुवै समकक्षीले संयुक्त पूजाअर्चना गर्ने बताइएको छ।
जनकपुरस्थित जानकी मन्दिरमा विशेष पूजापश्चात मोदीलाई जनकपुर उपमहानगरपालिकाले नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ।
जनकपुरमा झण्डै सबा २ घण्टा बिताएर भारतीय प्रधानमन्त्री मोदी १२:४० मा काठमाडौंका लागि उड्ने तालिका छ। उनी आजै काठमाडौं आउने छन्।
काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा मोदीलाई परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले स्वागत गर्नेछन्। बेलुका उनलाई सैनिक मञ्च टुँडिखेलमा 'गार्ड अफ अनर' प्रदान गरिने छ।
मोदीले आजै उपराष्ट्रपति नन्दबहादुर पुन र राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गर्नेछन्। त्यसका लागि उनी क्रमश बहादुर भवन र शीतल निवास पुग्नेछन्।
मोदी शनिबार बिहान मुक्तिनाथ प्रस्थान गर्नेछन्।
मुक्तिनाथबाट फर्किएर मोदीले पशुपतिनाथमा दर्शन गर्नेछन्। भोलि दिउँसो पौने ३ बजे उनलाई काठमाडौं महानगरपालिकाले नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ।
मोदी शनिबार बेलुका ४ बजे दिल्ली प्रस्थान गर्नेछन्।
पहिलो पटक ०७१ साउनमा नेपाल भ्रमणमा आएका बेला नेपालको संसदमा सम्बोधन गरेका मोदीले यसपटक भने जनपकुरस्थित बाह्रबिघा मैदानमा नै आफ्नो विशेष सम्बोधन गर्ने बताइएको छ। सोही वर्ष मंसिरमा सार्क शिखर सम्मेलनमा भाग लिन उनी नेपाल आएका थिए। त्यसपटक जानकी मन्दिर र मुक्तिनाथको भ्रमण गर्ने बताइए पनि विवाद भएपछि रद्द गरिएको थियो।
पहिलोपटक नेपाल भ्रमणमा आउँदा मोदीको निकै स्वागत भएको थियो। १७ वर्षपछि भारतीय प्रधानमन्त्रीको रुपमा नेपाल भ्रमण गरेका कारण त्यतिबेलाको भ्रमणलाई नेपाल-भारत बीचको सम्बन्धको पछिल्लो प्रस्थान बिन्दु मानिएको थियो।
तर नेपालको संविधान जारी भएसँगै सुरु भएको भारतीय नाकाबन्दीपछि भने मोदी नेपालमा अलोकप्रिय छन्। उनलाई जोडेर अहिले पनि सामाजिक सञ्जालमा विरोध भएको पाइन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।