काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सवारीको क्रममा काठमाडौंमा सेनाले हवाई गस्ती गर्ने भएको छ। मोदीको रुटमा हवाई गस्ती हुने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।
सैनिक प्रवक्ता सहायकरथी गोकुल भण्डारीका अनुसार बिहानैदेखि काठमाडौंमा सेनाले गस्ती सुरु गरिसकेको छ, सवारीको समयमा हवाई गस्ती समेत हुनेछ। मोदीमाथिको सुरक्षा थे्रट विश्लेषण गरेर हवाई गस्ती समेत गर्न लागिएको हो।
यस्तो छ उनको रुट
मोदी आज दिउँसो करिब १ः३० मा जनकपुरबाट काठमाडौंमा उत्रनेछन्। विमानस्थलबाट उनी गौशाला, चावहिल हुँदै बौद्धस्थित हायात होटलमा पुग्नेछन्।
मोदीको हेलिकोप्टर विमानस्थलमा अवतरण भएलगत्तै सिनामंगलदेखि सडक खाली गराउने तयारी छ। मोदीको कार्गेड चावहिल पुगेपछि मात्र सिनामंगलबाट सवारीसाधन चल्न दिइने ट्राफिक महाशाखाका एक अधिकारीले बताए। जसका अवधि करिब १५ मिनेटको हुनेछ।
शुक्रबार नै दिउँसो ४ बजे मोदी हायात होटलबाट ’गार्ड अफ अनर’ ग्रहण गर्न टुँडिखेल प्रस्थान गर्नेछन्। चावहिल, गौशाला, एयरपोर्ट, तीनकुने, बानेश्वर, माइतीघर हुँदै उनी टुँडिखेल जानेछन्। ४ बजेको समयमा सो रुट पनि खाली गराउन लागिएको छ। मोदी गौशाला कटेपछि मात्र बौद्धबाट सडक खुला गरिनेछ। टुँडिखेलमा मोदी करिब ५ मिनेट मात्र बस्नेछन्।
४:३० मा मोदी उपराष्ट्रपति नन्दबहादुर पुनसँग भेट्न बहादुर भवनमा जानेछन् भने त्यसपछि राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट्न शीतल निवास जाने कार्यक्रम छ। यो अवधिमा पनि सो सडकखण्ड करिब १५ मिनेट अवरुद्ध हुनेछ।
शीतल निवासबाट मोदी साँझ ६ बजे महाराजगञ्ज, चावहिल, गौशाला हुँदै द्वारिकाज होटलमा पुग्नेछन्। बेलुका हायातमै फर्कने कार्यक्रम छ।
उनको सवारीमा कडा सुरक्षा व्यवस्था हुनुका साथै हवाई गस्ती समेत गर्न लागिएको हो। सवारीको बेला सडकमा समेत सर्वसाधरणलाई हिड्न नदिने तयारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।