जनकपुरधाम– जनकपुरको जानकी मन्दिरमा सीमित नेपाली पत्रकारलाई मात्र प्रवेशका लागि स्वीकृति दिइएको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज जानकी मन्दिरमा पूजाअर्चना गर्ने कार्यक्रमको समाचार सम्प्रेषणका लागि पत्रकारहरुलाई विशेष पास उपलब्ध गराइएको थियो। जसमध्ये १५ नेपाली पत्रकारले मात्रै मन्दिर परिषरमा प्रवेश पाएका छन्। पास उपलब्ध गराइएका अन्य पत्रकारलाई मन्दिरभित्र जान दिइएको छैन।

यद्यपि, भारतबाट आएका सबै पत्रकारलाई मन्दिर प्रवेशका लागि स्वीकृति दिइएको छ। भारतीय सञ्चार माध्यमबाट आएका ५०भन्दा बढी पत्रकार जानकी मन्दिरमा प्रवेश गरेका छन्।
जानकी मन्दिरमा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी मोदीलाई स्वागत गर्नेछन्। जानकी मन्दिरमा प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीले एकसाथ पूजासमेत गर्ने कार्यक्रम छ।
सो अवसरमा दुवै प्रधानमन्त्रीले जानकी मन्दिरबाट अयोध्यासम्म सञ्चालनमा आउन लागेको बस सेवाको उद्घाटन गर्ने कार्यक्रम रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।