काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नजिकिँदो नेपाल भ्रमणका क्रममा जनकपुरमा तयारी तीव्र पारिएको छ। मोदीको भ्रमणका क्रममा आयोजित कार्यक्रमलाई सम्य र भव्य बनाउन प्रदेश सरकार र जनकपुर उपमहानगरपालिकाले जनतालाई समेत आग्रह गरेका छन्।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साहले संयुक्त पत्रकार सम्मेलन गरी घरअघि पानी भरिएको कलश राख्न आग्रह गरेका छन्। 'कार्यक्रमलाई सभ्य र भव्य बनाउन आ-आफ्नो घरअगाडि सरसफाइ गर्न तथा फूलमालाको सजावटसहित पानी भरिएको पूजाको कलश राखिदिनुहुन सर्वसाधारणसँग अनुरोध छ', प्रेस विज्ञप्तिमा भनिएको छ।
नागरिक अभिनन्दन हुने समारोहमा सर्वसाधारण प्रवेशको लागि कुनै पास नचाहिने र १० बजे समारोहस्थलमा प्रवेश गर्न आग्रह समेत गरिएको छ।
केही दिनअघि प्रदेश २ का एक सांसदले मोदीले जानकी मन्दिरमा पूजा गरिरहँदा प्रदेश २ वासीलाई मठ, मन्दिर र आफ्नो घरमा रहेको शंख र घन्टी बजाउन आग्रह गरेका थिए। त्यस्तै अर्का प्रदेश मन्त्रीले मोदीको स्वागतका लागि महोत्तरीका सम्पूर्ण स्थानीय तहका प्रमुखलाई उपस्थित जनाउन आग्रह गरेका थिए।
मोदी २८ गते नेपाल भ्रमणमा आउँदैछन्। दुईदिने भ्रमणको सुरुवात जनकपुरबाट हुनेछ। उनी त्यसैदिन मुक्तिनाथ गई काठमाडौंमा आउने कार्यक्रम छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।