काठमाडौं- सरकारले नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाललाई स्पष्टीकरण सोधेको चर्चा केही दिनयता चलिरहेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत् खनाललाई बर्खास्त गर्ने तयारीस्वरूप स्पष्टीकरण सोधिएको हल्ला चलेको हो।
तर उनलाई स्पष्टीकरण सोधेको विषयमा सञ्चार मन्त्रालय तथा प्राधिकरणले अनविज्ञता प्रकट गरेको छ। सञ्चार मन्त्रालयका सचिव हरि बस्यालले भने, 'उहाँसँग स्पष्टीकरण सोधेको भनेर कसले हल्ला चलायो थाहा छैन, अहिलेसम्म स्पष्टीकरण सोधिएको छैन।'
सञ्चार मन्त्रालयका सहसचिव एवं प्रवक्ता गोकर्णमणि दुवाडीले पनि अहिलेसम्म यसबारेमा आफूलाई जानकारी नभएको बताए। 'अहिलेसम्म स्पष्टीकरण सोधेको विषयमा मलाई कुनै जानकारी छैन,' उनले भेन।
नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले पनि आफूलाई कसैले स्पष्टीकरणको पत्र नदिएको बताए। 'मैले पनि पत्रपत्रिकाबाट थाहा पाएको हुँ,' उनले भने, 'मेरा विषयमा केही समययता प्रायोजित हल्ला चलिरहेका छन्।'
खनालले सञ्चार मन्त्रालय र प्राधिकरणबीच कामका शिलशिलामा विभिन्न पत्र आदानप्रदान भए पनि स्पष्टीकरणबारे थाहा नभएको बताए।
खनाललाई वर्तमान सरकारले नै प्राधिकरणको अध्यक्ष बनाएको थियो। नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन् अध्यक्ष दिगम्बर झाले पदबाट राजिमाना दिएपछि खनाल निमित्त अध्यक्ष हुँदै अध्यक्ष नियुक्त भएका थिए। सरकारले २०७६ साउनमा उनलाई अध्यक्ष नियुक्त गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।