काठमाडौं- टेक्नोलोजी जाएन्ट एप्पलले आइफोनको १२ औँ संस्करणका फोन सार्वजनिक गरेको छ। भर्चुअल इभेन्टमार्फत् आइफोन १२ का ४ वटा नयाँ मोडल एकसाथ सार्वजनिक गरेको हो। कम्पनीले आइफोन १२, आइफोन १२ प्रो, आइफोन १२ प्रो म्याक्स र आइफोन १२ मिनी सार्वजनिक गरेको छ।
एप्पलले पाचौँ पुस्ता (फाइभ जी) नेटवर्कयुक्त फोन सार्वजनिक गरिएको जनाएको छ। 'यो हामी सबैका लागि ठूलो अवसर हो, यसबाट उत्साही छौँ,' एप्पलका सिइओ टिम कुकले भनेका छन्।
सार्वजनिक भएका फोनमध्ये सबैभन्दा सस्तो मूल्यको आइफोन १२ मिनी छ। यसको मूल्य ६९९ अमेरिकी डलर तोकिएको छ। सबैभन्दा महँगो आइफोन १२ प्रो म्याक्स छ। यसको मूल्य १०९९ अमेरिकी डलर तोकिएको छ।
आइफोन १२ र आइफोन १२ प्रो प्रि अर्डरका लागि १६ अक्टोबारबाट उपलब्ध हुने र स्टोरमा अक्टोबर २३ मा उपलब्ध हुनेछ। आइफोन १२ मिनी र आइफोन १२ प्रो म्याक्स नोभेम्बर ६ बाट प्रि-अर्डरका लागि उपलब्ध हुने र स्टोरहरूमा नोभेम्बर १३ बाट उपलब्ध हुने एप्पलले जनाएको छ।
आइफोन १२ पाँचवटा रंगमा उपलब्ध छ। कालो, सेतो, रातो, हरियो र निलो रङमा यो उपलब्ध हुनेछ। यसैगरी यसअघिका फोनको तुलनामा पातलो, सानो र हल्का रहेको पनि कम्पनीको पनि भनाइ छ। नयाँ फोन एक्सडिआर डिस्प्लेसहितको रहेको पनि उल्लेख गरिएको छ।
एप्पलले आइफोन १२(६४, १२८ र २५६ जिबी स्टोरेज), आइफोन १२ मिनी(६४, १२८ र २५६ जिबी स्टोरेज)का अलावा आइफोन १२ प्रो (१२८, २५६ र ५१२ जिबी स्टोरेज), आइफोन १२ प्रो म्याक्स (१२८, २५६ र ५१२ जिबी स्टोरेज) क्षमतासहित बजारमा ल्याइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।